सिलौटो बेचेर मासिक ४० हजार बचत

सिलौटो बेचेर मासिक ४० हजार बचत

धरान : सुनसरीको इटहरी उपमहानगरपालिका-६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका-४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए।

लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका उनले यही व्यापारबाट जीविकाेपार्जन गर्दै आएका छन्।

उनले भने, ‘सिलौटा बनाउने हाम्रो पुर्ख्यौली पेशा नै हो। तीन पुस्तादेखि गरिँदै आएको पेशालाई मैले पनि निरन्तरता दिँदै आएको छु।’

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामग्री बिक्री गर्दै आएका छन्।

नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन्। उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन्।

‘विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेशा सिलौटो व्यापारबाट आम्दानी गर्दै आएको छु, दिनभर यही बसेर सामग्री तयार गर्छु, बेलुका घर फर्किन्छु। अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ। आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ’, सन्तराजले भने।

सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन्।

‘कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन। व्यापार हो, सधैँ एकनास हुँदैन’, उनले भने।

लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन्। सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए।

व्यापारबाट घर खर्च कटाएर मासिक ४० हजारसम्म बचत हुँदै आएको सन्तराजले बताए। उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन्। छोराले पनि उनलाई साथ दिँदैछन्।

‘पुर्ख्यौली पेशाको संरक्षण पनि भयो। साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ’, उनले भने।

सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन्। एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ। उनले एउटा सिलौटो चार देखि पाँच सय ५० सम्ममा बिक्री गर्दै आएका छन्।

एक जोर जाँतो एक हजारदेखि १३ सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।पछिल्लो समय कुटानी पिसानीको विभिन्न उपकरण बजारमा आएसँगै आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ।

असोज ३०, २०८१ बुधबार ०७:४९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।