लेबनानमा शान्ति सैनिक बङ्करमा, इजरायलको सैन्य आतङ्क बढ्दै
काठमाडौँ : दक्षिणी लेबनानमा इजरायलले सैन्य कारबाही तीव्र बनाएसँगै शान्ति स्थापनाका लागि खटिएको ८५० नेपाली शान्ति सैनिक सहित बङ्करमा बसाई सरेका छन्।
इजरायलले लेबनानबाट शान्ति सेना हटाउन गरेको आग्रह अस्वीकार गरेको संयुक्त राष्ट्रसङ्घले सुरक्षामा सुरक्षाको तेस्रो चरण लागू गरेर सैनिकको सुरक्षाका लागि बङ्करमा सारेको हो।
लेबनानको इस्लामिक विद्रोही सङ्गठन हिजबुल्लाहलाई समाप्त पार्ने भन्दै इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले असोज मध्यबाट लेबनानमा स्थलगत कारबाही तीव्र बनाएको हो।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आइतबार संयुक्त राष्ट्रसङ्घीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन राष्ट्र सङ्घलाई आग्रह गरेका थिए।राष्ट्रसङ्घले भने उनको आग्रह स्वीकार गरेको छैन। तर उसले इजरायलको मनोमानी सैन्य कारबाही रोक्न पनि सकेको छैन। यसले इजरायलको विपक्षमा धुर्विकरण बढिरहेको छ।
इजरायलको आक्रमणको प्रभाव लेबनानमा शान्ति स्थापनका लागि खटिएको सेनामा समेत परिरहेको छ। शुक्रवार इजरायलको हवाई आक्रमणमा परेर श्रीलङ्काका दुई शान्ति सैनिक घाइते भएका थिए।
लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (यूनिफिल) बाट ३३ देशका सैनिक शान्ति सैनिकको रूपमा खटिएका छन्।
युनिफिलले शनिवार जारी गरेको विज्ञप्तिमा पाँच जना शान्ति सैनिक घाइते भएको उल्लेख गरेको छ। त्यससँग उसले शान्ति सेनाको सुरक्षाका लागि सैनिक खटिएको क्षेत्रमा तेस्रो चरणको सुरक्षा प्रोटोकल लागू गरेको हो। यसमा शान्ति सैनिकहरू हिँडडुल गर्न पाउँदैनन् र बङ्करमा बस्छन्।
लेबनान र इजरायलबीचको सीमा क्षेत्रमा अवस्थित संवेदनशील ‘ब्लु लाइन’ क्षेत्रमा शान्ति स्थापनार्थ शान्ति सैनिक खटिएका छन्।
इजरायल र लेबनानबिच लगातारको द्वन्द्व नियन्त्रणका लागि युएनले सन् २००० जुन ७ मा सीमा क्षेत्रमा करिब १२ सय किलोमिटर लामो ‘ब्लु लाइन’ (नीलो रेखा) कायम गरेको थियो।
असोज ३०, २०८१ बुधबार ००:०९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।