दर्शक नै चकित पर्ने गरी पञ्चैबाजा बजाउँछन् बागलुङका बालबालिका

दर्शक नै चकित पर्ने गरी पञ्चैबाजा बजाउँछन् बागलुङका बालबालिका

बलेवा : बागलुङका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन्। दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरू भीडमा पुग्छन्। जब उनीहरू सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन्।

उपस्थित दर्शक चकित पर्छन्। बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबजा र नौमती बजाएर सबैलाई चकित पार्ने गरेका हुन्।

कक्षा ४ मा अध्ययनरत विवेक परियारले ढोलकी बजाउँदा शिक्षक, अभिभावक अचम्मित हुन्छन्। उनीहरूले नौमती बजाउँदा मेला महोत्सव र सार्वजनिक कार्यक्रमको रौनक थपिने गरेको छ।

बाजा बजाउन सिक्न थालेको उनीहरूले एक वर्ष भयो। विद्यालयले पाठ्यक्रमका अतिरिक्त रैथाने सीप सिकाइरहेको छ। त्यसअघि एक दुई जनाले घरमा अभिभावकसँग पनि सिकेका थिए।

विद्यालयले समूहमा राखेर सिकाएपछि सबैजना बाजा बजाउन जान्ने भएका हुन्। सिकाइकै लागि उनीहरू मेला महोत्सव, धार्मिक र सांस्कृतिक कार्यक्रममा बाजा बजाउँछन्। पारिश्रमिक लिएर भने उनीहरूले हालसम्म बाजा बजाएका छैनन्। 

गत वर्षदेखि विद्यालयले बालबालिकालाई नौमती बाजा सिकाउन थालेको प्रधानाध्यापक तिलक आचार्यले बताए। 

विद्यालयकै शिक्षक थमबहादुर परियारलाई सबै बाजाको ज्ञान भएकाले उनले इच्छुक विद्यार्थीलाई प्रशिक्षण दिइरहेका छन्। सुरुमा गाउँमा बाजा बजाउन सिकाएपछि हौसिएका बालबालिकालाई विद्यालयले तीन लाख खर्चेर नौमती बाजाको ‘सेट’ नै ल्याइदिएपछि अहिले नियमित सिकिरहेका छन्।

नौमती सिक्नेमा परियारबाहेक अन्य जातका पनि छन्। सबै मिलेर नौमती बजाउन जान्ने भएपछि बालबालिकालाई हरेक शुक्रबारको अतिरिक्त क्रियाकलापमा बाजा बजाउने प्रतियोगितासमेत गराउन थालिएको प्रधानाध्यापक तिलक आचार्यले जानकारी दिए।

विद्यालयले विज्ञान प्रयोगशाला जस्तै बाजा सिक्ने कक्षलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ।

‘यहाँ धेरैले चासो राखेपछि एकजोर नौमती बाजाले नपुग्ने भयो। अभिभावक र विदेशमा बस्ने युवाबाट सहयोग जुटाएर कम्तीमा दुई जोर बाजा पुर्याउने लक्ष्य छ’, प्रअ आचार्यले भने।

असोज २८, २०८१ मंगलबार २०:०७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।