लेबनानमा नेपाली शान्ति सेनामाथि भएको आक्रमणको 'कडा शब्द'मा निन्दा गर्यो नेपालले

लेबनानमा नेपाली शान्ति सेनामाथि भएको आक्रमणको 'कडा शब्द'मा निन्दा गर्यो नेपालले

काठमाडौं : नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको आक्रमणको कडा निन्दा गरेको छ। नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गरी दक्षिण लेबनानमा भएको द्विपक्षीय आक्रमणका क्रममा अन्तर्राष्ट्रिय शान्ति सेना घाइते भएको घटनाप्रति निन्दा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

'नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ,' परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, 'द्वन्द्वरत पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ।'

संयुक्त राष्ट्रसङ्घका अनुसार हिजबुल्लाह समूहमाथि इजरायली सेनाले आक्रमण गर्नेक्रममा राष्ट्रसङ्घीय मिसनमा खटिने अन्तर्राष्ट्रिय शान्ति सेना समेत घाइते भएका छन्। 

आज  मन्त्रालयले शान्ति मिसनमा खटिने सैनिकहरूमाथि भएको आक्रमणको कडा निन्दा गर्दै शान्ति स्थापनामा खटिने सैनिकको सुरक्षाको प्रत्याभूति दिलाउन द्वन्द्वरत दुवै पक्षसँग आग्रह गरेको छ। 

हिंसा र आक्रमणको शृङ्खला तुरुन्त रोकी उक्त घटनाको विस्तृत छानबिनसहित सुरक्षाको प्रत्याभूति दिलाउनसमेत सम्बद्ध पक्षसँग मन्त्रालयले आग्रह गरेको छ ।
 
दक्षिणी लेबनानस्थित शान्ति मिसनको आधार शिविरभित्र प्रवेश गरी इजरायली सेनाले गरेको हिजबुल्लाह लक्षित आक्रमणमा परी ६ जना शान्ति सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

यसैबीच, इजरायलले शान्ति सेना हटाउन अनुरोध गरेकामा संयुक्त राष्ट्रसङ्घले नहटाउने निर्णय गरेको समेत जनाइएको छ।
 
संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा उल्लेख्य सङ्ख्यामा सेना खटाई विश्व शान्ति स्थापना अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा द्वन्द्वग्रस्त मुलुक लेबनानमा पनि आफ्नो सेना खटाएको छ।  
 
इजरायली आक्रमणको निन्दा गर्दै संयुक्त हस्ताक्षर गर्ने देशहरूका तर्फबाट सङ्घर्षरत दुवै पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था, अमनचैन कायम राख्न आह्वान गरिएको छ।
 
हस्ताक्षर गर्ने देशहरूमा नेपालसहित चीन, फ्रान्स, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, श्रीलङ्का, अर्मेनिया, ब्राजिल, अष्ट्रिया, कम्बोडिया, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, घाना, ग्वाटेमाला, हङ्गेरी, इन्डोनेसिया, इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मङ्गोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरालियोन र स्पेन छन्।

असोज २८, २०८१ मंगलबार १९:२६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।