पशुपति विकास कोषको दाबी 'मारवाडीले नौ रोपनी जग्गामा गिद्दे नजर लगाए, मोहियानी हक पाउने प्रमाण छैन'

पशुपति विकास कोषको दाबी 'मारवाडीले नौ रोपनी जग्गामा गिद्दे नजर लगाए, मोहियानी हक पाउने प्रमाण छैन'

काठमाडौं : पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ। विवादबारे कोषले पशुपति धर्मशालामा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको दाबी गरेको छ। 

मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र प्रमाण नभएको कोषले स्पष्ट पारेको हो। 

त्यसअघि मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका लागि दावी गर्दै आएको छ। 

नौ रोपनी भन्दा बढी जग्गामा सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषको आरोप छ। 

पत्रकार सम्मेलनमा कोषका पदाधिकारीहरूले पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने दावी समेत गरेका छन्। 

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्रै कोष र समितिबीचको गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो। 

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०८० साउन १७ मा मारवाडी सेवा समितिसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको रिटमा अदालतले दावी नपुग्ने फैसला गरेको थियो। तर, उनीहरूले धर्मशाला खाली गर्न मानेका छैनन्।

मारवाडीसँग भएको सम्झौता रद्द भएपछि  महानगर र पशुपति क्षेत्र विकास कोषबीच गौशाला धर्मशाला सञ्चालन गर्नेबारे सम्झौता भएको छ। 

असोज २८, २०८१ मंगलबार १७:३१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।