प्रभु साहको माग 'मिनबहादुर गुरूङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि!'

प्रभु साहको माग 'मिनबहादुर गुरूङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि!'

काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्नो पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका संचालन मिनबहादुर गुरूङसंग जग्गा माग गरेका छन्।

व्यवसायी गुरूङले एमालेको पार्टी कार्यालय बनाउन जग्गा दिएपछि आज सिरहाको गोलबजारमा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन्।

'अर्बौंको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी एमालेलाई जग्गा दान गरि पार्टी कार्यालय बनाइदिने भाट्भटेनीका संचालक मिनबहादुर गुरूङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि! अर्बौंको सम्पत्ति एक अर्बपति पार्टीलाई दान गरिएको छ। दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ। प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुल्ला घुस दिएको हो' अध्यक्ष साहले भने।

एमाले लाखौं सदस्य संगठित अर्बपतिको पार्टी भएको बताउँदै उनले सदस्यहरूबाटै १००/१०० रूपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने सक्थ्यो तर, घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको बताए।

आफ्नो पार्टी कार्यालयसमेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुनै नसक्ने उनको दाबी छ। 

'मुलुकको निर्माण कार्य ठप्प छ। तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ' अध्यक्ष साहले भने, 'महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग छ। काठमाडौंको तिनकुने, कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ? उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो।'

असोज २८, २०८१ मंगलबार १७:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।