रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र दिएको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र दिएको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

एजेन्सी : युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा युरोपेली आयोगले प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ।

सोमबार आयोगका विदेशमन्त्रीले इरान एयर लगायत सात संस्थाहरू र उप-रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात जना व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको हो।

प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्पूर्ण ब्लकले अपनाएको प्रतिबन्धलाई स्वागत गर्दै भनिन्, ‘युक्रेन विरुद्ध रुसको आक्रमक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले युक्रेन विरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी देशको आरोपलाई अस्वीकार गर्दै यसलाई ‘अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानून विपरीत’ भनेका छन्।

रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको आन्तरिक अधिकार रहेकोबारे उनले बताएको इरानको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ।

इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ। त्यसैगरी रकेट र मिसाइल प्रक्षेपण गर्न प्रयोग हुने प्रणोदक उत्पादनमा संलग्न दुई कम्पनीलाई समेत आयोगले प्रतिबन्ध लगाएको छ।

इरानले भने युक्रेन विरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी देशको आरोपलाई अस्वीकार गरेको छ।

असोज २८, २०८१ मंगलबार १३:३७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।