आशा जगाउँदै गौतमबुद्ध विमानस्थल, उत्साही व्यवसायी

आशा जगाउँदै गौतमबुद्ध विमानस्थल, उत्साही व्यवसायी

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन भन्दा बढि अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्।

२ जेठ ०७९ मा औपचारिक शुभारम्भ भए पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले गति भने लिन नसकिरहेका बेला दशैंपछि तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्ने खबरसँगै यहाँका व्यवसायी उत्साहित भएका हुन्।

उद्घाटन पछि सात महिना जजिराले नियमित उडान गरेपनि हाल उक्त उडान स्थगित छ। तर, अहिले पुनः अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानमा चासो देखाएका हुन्।

अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजाबाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एशियाले उडान गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

‘नागरिक उड्यन प्राधिकरणले भैरहवाबाट उडान सञ्चालन गर्न विभिन्न छुट योजना ल्याएसँगै तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले प्राधिकरणबाट उडानका लागि चासो देखाएर अनुमति लिएका छन्’, उनले भने।

कहिले देखि हुन्छ उडान ?
कुवेतको जजिराले पहिलो पटक २ जेठ ०७९ मा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको यहाँ कात्तिक १२ गतेदेखि पुनः उडान गर्ने भएको छ। जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्ने महाप्रबन्धक तिवारीले बताए।

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको छ।

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान गर्दैछ। तिवारीका अनुसार फ्लाइ दुबईले आगामी कात्तिक २४ गतेदेखि नियमित उडान सुरु गर्नेछ। यसको जहाजले हप्ताको सातै दिन दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान भर्नेछ।

फलाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने अनुमति पाएको छ।

त्यसैगरी थाई एयर एसियाले उडान गर्ने निश्चित भए पनि उडानको मिति टुंगो लगाएको छैन। उक्त एयरलाइन्सको प्राविधिक टोलीले केही दिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो।

निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि भैरहवा र पोखरा विमानस्थलमा उडान भर्ने एयरलाइन्सलाई लागि सरकारले विभिन्न सेवामा सहुलियत लगायतका आकर्षक प्याकेज घोषण गरेको छ।

गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गर्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो। अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौ सम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ।

तिर्न सक्ला ऋण ?
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कुल ४३ अर्ब खर्च भएको छ। यो मुआब्जा वितरण सहितको रकम हो। यसमा एसियाली विकास बैंकले ऋण दिएको छ। बैंकसँग सरकारले करिब साढे ७ अर्ब रुपैयाँ ऋण लिइएको हो। ०७५ वैशाख देखि नै ५ प्रतिशतका दरले ब्याज तिर्न थालिसकिएको छ।

३२ वर्षमा चुक्ता गर्ने गरी ऋण लिएको र ५ वर्षको अवधिमा ६० करोड मात्र ऋण बैंकलाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ। २५ चैत ०६७ मा भएको सम्झौता अनुसार नेपालले ग्रेस अवधि ८ वर्षसहित ३२ वर्षमा ४८ किस्तामा ऋण चुक्ता गर्नुपर्छ।

बैंकलाई तिर्नुपर्ने ऋणको ब्याज समेत अहिले विमानस्थलले कमाइरहेको छैन। त्यसैले पनि विमानस्थल कतै ‘सेतो हात्ती’ बन्ने पो कि भन्ने डर कायमै छ।

उत्साही व्यवसायी
विमानस्थल लक्षित गरेर भएको लगानी खेर जाने जोखिम रहेको अवस्थामा विमानस्थलमा उडान र अवतरणका लागि विदेशी कम्पनीले चासो देखाउनु आफूहरुका लागि सुखद् भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बताए।

‘यसले आर्थिक विकासमा मात्र होइन। पर्यटनको क्षेत्रमा पनि आमुल परिर्वतन गर्ने हाम्रो अपेक्षा हो। सिधा उडान मार्फत लुम्बिनीमा पर्यटकलाई ल्याउन सके आर्थिक रूपमा पनि नेपाललाई धेरै फाइदा हुन्छ’, उनले भने।

विमानस्थल निर्माणपछि निजी क्षेत्रले धेरै लगानी गरेकाले सञ्चालनमा नआउँदा ती व्यवसायहरू धरासायी बनेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताए। सिधा उडानले आफूहरू झनै उत्साहित भएको उनको भनाइ छ।

‘विमानस्थल सञ्चालनमा आउँछ भनेर पर्यटक लक्षित खुलेका स्टार लेबलका होटलहरूमा अब केही आशा पलाएको छ,’ उनले भने, ‘यसले आर्थिक मन्दीमा सुस्त रहेको पर्यटन क्षेत्रमा चलायनमा बनाउने आशा जगाएको छ।’

असोज २८, २०८१ मंगलबार ११:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।