सिद्धार्थ केबलकारमा आन्तरिक पर्यटकको भीड, टिकट पाउनै मुस्किल

सिद्धार्थ केबलकारमा आन्तरिक पर्यटकको भीड, टिकट पाउनै मुस्किल

बुटवल : औपचारिक उद्घाटन अघि नै बुटवलको ‘सिद्धार्थ केवलकार’मा आन्तरिक पर्यटकको भीड लागेको छ।

चाडपर्वको समयमा दैनिक हजारौं यात्रु केबलकार चढ्न पुगेपछि भीड बढेको हो। अहिले यहाँ टिकट पाउन समेत मुस्किल भएको छ। यसको अलावा टिकट लिएकाहरूले पनि सोही दिन केबलकार चढ्न पाएका छैनन्।

बुटवलबाट केवलकार चढ्न पुगेका बुद्धि पराजुलीले दिउँसै टिकट बन्द भएको र टिकट लिएकाहरूले पनि अर्को दिन चढ्नलाई बोलाइएको गुनासो गरे।

बुटवलको वडा नम्बर १/२ स्थित देउराली डाँडामा सिद्धार्थ केवलकारको प्रस्थान विन्दु छ। केवलकारको त्यही प्रस्थान विन्दु (पहिलो स्टेशन) देउराली डाँडामा मनोरम सिद्धार्थ गार्डेन, उनले टेकेका ६ वटा पाइलाको प्रतिक स्वरूप कमलका फूल निर्माण गरिएको छ।

तल्लो स्टेशनमै मनमोहन भएपछि धेरै जना फोटो खिच्ने र भिडियो बनाउने भन्दै त्यहाँ पुगेका छन्।

माथिल्लो स्टेशन नुवाकोटमा सातौं पाइला सहितका संरचना निर्माण गरिएको छ। पाल्पाको नुवाकोट गढीसम्म पुग्ने सिद्धार्थ केवलकारको ०७७ फागुन ९ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए।

दुई वर्षमा सञ्चालन गर्ने भनिए पनि रुख कटान सहितका अन्य कामले केवलकार निर्माणका लागि चार वर्ष लागेको हो। केवलकारको औपचारिक उद्घाटन भने तिहारपछि हुने सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङ जानकारी दिए।

केवलकारको अलवा त्यहाँ रिसोर्ट सहितका अन्य पूर्वाधार निर्माणको क्रममा छ। हालसम्म ९० करोड लगानी भइसकेको यहाँ पूरा परियोजना निर्माण हुँदा डेढ अर्ब माथिको लागत हुने अध्यक्ष गुरुङले बताए।

केबलकार सञ्चालनपछि बुटवलको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको अपेक्षा छ।

६ दशमलव ०९८ हेक्टर क्षेत्रफल जग्गामा केवलकारका संरचना निर्माण गरिएको छ। नुवाकोट विकास समितिका अध्यक्ष एवं केवलकार सञ्चालक समितिका सदस्य माधव नेपालले बुटवलको आर्थिक चलायमान र यहाँको पर्यटन प्रवर्द्धनलाई माथि उठाउने उद्देश्यले केवलकार सञ्चालन गर्न लागिएको बताए।

सिद्धार्थ केवलकारमा बुटवलकै १८५ भन्दा बढी लगानीकर्ता छन्। देउराली डाँडादेखि दुई किलोमिटर केबलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ। यस केबलकारको निर्माणपछि ६० जनाले प्रत्यक्ष र एक सय ५० जनाले अप्रत्यक्ष रोजगारी पाउने कम्पनीको दाबी छ।

बुटवल बजारको अवलोकन गर्दै हरियाली जंगलको माथिबाट गरिने केबलकारको यात्रामा प्राकृतिक दृश्यावलोकन समेत गर्न सकिने भएकाले नुवाकोटमा सिद्धार्थ केवलकार सञ्चालनमा असहज नहुने अध्यक्ष गुरुङको भनाइ छ।

मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकोले केबलकारको सञ्चालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने छ।

२५ वटा गोण्डला रहेको केबलकारमा शुरूवातमा दैनिक ५ हजार यात्रु आवतजावत गर्ने छन्। यसले अधिकतम दैनिक १० हजारसम्म यात्रु बोक्न सक्ने कम्पनीले जनाएको छ।

पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे श्रृंखलाको पानी ढलोको भूभाग हो। यो ऐतिहासिक र पुरातात्विक स्थल हो।

नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो। कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चावन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए।

असोज २८, २०८१ मंगलबार १०:०१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।