२०२४ को अन्त्यसम्म दिल्लीमा पटाका प्रतिबन्ध

२०२४ को अन्त्यसम्म दिल्लीमा पटाका प्रतिबन्ध

एजेन्सी : राजधानीमा बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै भारतको दिल्ली सरकारले २०२४ को अन्त्यसम्म राज्यमा पटाका उत्पादन, भण्डारण, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ।

दिल्ली सरकारले सोमबार एक निर्देशन जारी गर्दै राज्यलाई प्रदूषणमुक्त राख्न सबैसँग सहयोगको अपील समेत गरेको छ।

चिसो शुरू हुनुअघि नै राजधानी दिल्लीमा प्रदूषणको अवस्था गम्भीर बन्दै गएको छ। विगत पाँच दिनदेखि दिल्ली एनसीआरमा प्रदूषण स्तर बढेर २ सय एक्यूआईसम्म पुगेको छ।

यो भनेको वायुको गुणस्तर खराब भएको संकेत हो। वायुको गुणस्तर ० देखि ५० एक्यूआईलाई स्वस्थकर मानिन्छ भने ५१ देखि १०० सम्मलाई मध्यम मानिन्छ।

१०१ देखि १५० सम्मको एक्यूआई संवेदनशील व्यक्तिहरूका लागि अस्वस्थकर र १५१ देखि २०० सम्मको एक्यूआई सबैका लागि अस्वस्थ्यकर मानिन्छ।

२०१ देखि ३०० सम्मको एक्यूआई एकदमै अस्वस्थकर हुँदा त्यसभन्दा माथिकाेलाई घातक भनिन्छ।

दिल्ली सरकारका वातावरणमन्त्री गोपाल राईले राजधानीका जनतालाई कडा चेतावनी दिँदै निर्माण कार्य वा अन्य कुनै माध्यमबाट धुलो प्रदुषण फैलाउनेविरुद्धको अभियान सोमबारबाटै तीव्र बनाइएको बताएका छन्।

गोपाल राईले कसैलाई पनि छुट नदिने र नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिए। उनले प्रदूषण विरोधी अभियानअन्तर्गत यस्ता व्यक्तिलाई कडा कारबाही गरिने बताए।

असोज २८, २०८१ मंगलबार ०९:३६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।