हल सञ्चालकलाई निश्चल बस्नेतको दोस्रो धम्की, हलको विकल्प खोज्ने चेतावनी

हल सञ्चालकलाई निश्चल बस्नेतको दोस्रो धम्की, हलको विकल्प खोज्ने चेतावनी

काठमाडौँ : आफ्नो फिल्मको शो सङ्ख्या घटाएर छ वटा बनाएपछि रिसाएका निश्चल बस्नेतले हलको विकल्पमा लाग्ने चेतावनी दिएका छन्।

निश्चलले निर्माण गरेको बेहुली फ्रम मेघौली दोस्रो हप्तामा चलिरहँदा शो सङ्ख्या ६ मा पुगेको छ। हलमा छक्कापन्जा-५ र १२ गाउँ ले एक सय ५० बढी शो सङ्ख्या पाइरहेको छ। ज्वाइँ साब ३० हाराहारीको शो सङ्ख्यामा छ।

सँगै भारतीय फिल्म जिगराले १५ शो पाएपछि निश्चल रिसाएका हुन्। राम्रो प्रतिक्रिया र दर्शकको साथ पाउँदा पनि अकुपेन्सी आलु भए पनि हिन्दी फिल्मलाई शो दिएको भन्दै उनले लेखे ' म चैँ हलको विकल्पमा लागे है।'
बेहुली फ्रम मेघौली रिलिजहुँदा सबैभन्दा धेरै शो पाउँदा निश्चल मक्ख थिए।

दोस्रो हप्तामा छक्कापन्जा, १२ गाउँ र ज्वाइँ साब रिलिज हुँदा पनि ३० माथिको शो पाएको थियो। छक्कापन्जा र १२ गाउँले निरन्तर शो सङ्ख्या बढाएपछि त्यसको असर बेहुली फ्रम मेघौलीमा पर्यो। नयाँ फिल्मको शो सङ्ख्याबारे प्रश्न उठाउँदा आलोचना हुने भएपछि हल सञ्चालक तर्साउन उनले १५ शो हाराहारी पाएको हिन्दी फिल्मलाई तारो बनाए।

यस अगाडि फिल्म दिमाग खराबको प्रदर्शनको बेलामा उनले हल सञ्चालकले लिने ग्रस कलेक्सनको प्रतिशतमा प्रश्न उठाएर फिल्म उतार्ने धम्की दिएका थिए। पछि प्रतिशत सच्चिएर ५०-५०% बनेको थियो।

यो पटक दोस्रो सातामा शो सङ्ख्यामा असन्तुष्टि जनाउँदै हलको विकल्पमा जाने चेतावनी दिए। सुझावमा युट्युब र ओटिटी आएका छन्। उनको चेतावनीमा हल सञ्चालक डराएर शो सङ्ख्या बढाउलान् या उनी युट्युब वा ओटिटीमा जालान्? 

असोज २७, २०८१ सोमबार १५:४४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।