मीनबहादुरसँग जग्गा लिएकोमा एमाले भित्रै विरोध, आत्मघाती कदम भन्दै सच्याउन माग

मीनबहादुरसँग जग्गा लिएकोमा एमाले भित्रै विरोध, आत्मघाती कदम भन्दै सच्याउन माग

काठमाडौँ : व्यापारी मीनबहादुर गुरुङसँग जग्गा दान लिंदै उनैलाई पार्टी कार्यालय बनाउन दिने पार्टी नेतृत्वको कदमको एमालेभित्रै विरोध सुरु भएको छ।

सरकारको नेतृत्व गरिरहेको एमालेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको अभियोगमा धरौटीमा रहेका गुरुङसँग १० रोपनी १४ आना जग्गासँगै सो जग्गामा पार्टी कार्यालय समेत उनकै खर्चमा बनाउने गरी शिलान्यास गरिएको थियो।

शिलान्यासपछि गुरुङले भवन समेत आफैँले बनाएर आगामी वर्ष हस्तान्तरण गर्ने बताएका थिए। सरकारको नेतृत्वमा रहेको दलले गम्भीर अपराधमा मुद्दा विचाराधीन रहेका व्यापारीसँग अर्बौँ दान लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेकै छ। अब पार्टी भित्र समेत विरोध सुरु भएको छ।

एमाले स्थायी समिति सदस्य डा बिन्दा पाण्डेले सामाजिक सञ्जालमा लेख्दै यसलाई साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम भएको टिप्पणी गरेकी छिन्।

'व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो। तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो। दिनेले किन र कसरी दिए उनैलाई थाहा होला' उनले लेखेकी छिन्।

स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको भन्दै उनले निर्णय दीर्घकालमा आत्मघाती साबित हुने लेखेकी छिन्।

'समय घर्की सकेको छैन। मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ। समयमै सोचौँ' उनले लेखेकी छिन्।

असोज २७, २०८१ सोमबार १०:४७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।