मुम्बईमा लरेन्स विश्नोईको आतंक, शाहरुख-सलमान निकट कांग्रेसका नेताको हत्या गराए

मुम्बईमा लरेन्स विश्नोईको आतंक, शाहरुख-सलमान निकट कांग्रेसका नेताको हत्या गराए

एजेन्सी : भारतको महाराष्ट्रमा केही दिनको अन्तरालमा राष्ट्रवादी कांग्रेस पार्टीका दुई प्रमुख नेताहरू, सचिन कुर्मी र बाबा सिद्दीकीको हत्या भयो। दुई नेताको हत्याले अन्डरवर्ल्डको दबदबामा रहेको मुम्बईको कानुनी व्यवस्थामाथि प्रश्न उठेको छ। सिद्दिकिको हत्यामा लरेन्स विश्नोई जोडिएका छन्।

बायकुला विधानसभा क्षेत्रका तालुका अध्यक्ष र छगन भुजबलका नजिकका सचिन कुर्मीको ५ अक्टोबरमा मोटरसाइकल चढेका तीन आक्रमणकारीहरूले धारिलो हतियारले हानेर हत्या गरेका थिए। बायकुला पूर्व क्षेत्रमा आयोजित एक राजनीतिक कार्यक्रममा सहभागी भएर घर फर्किँदै थिए।

आक्रमणकारीहरूले उनको टाउको, हात, छाती र शरीरका अन्य भागहरूमा १० भन्दा बढी पटक प्रहार गरे।

सचिन कुर्मी हत्यालाई लिएर विपक्ष सत्तारूढ महायुती सरकारमाथि प्रश्न उठेको बेलामा मुम्बई राष्ट्रवादी कांग्रेस पार्टीका नेता र महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्दीकीको हत्या भयो।

अक्टोबर ११ राती मुम्बईको बान्द्रा पूर्व क्षेत्रमा तीन जनाले गोली हानेर उनको हत्या गरे। उनलाई आइतबार राती पूर्ण राजकीय सम्मानका साथ मुम्बई लाइनको ठुलो कब्रिस्तानमा अन्तिम बिदाइ गरियो।

सिद्दिकी मुम्बईमा बलिउड मैत्री नेताका रूपमा परिचित थिए। उनी सलमान खानसँग निकै निकट थिए। उनको अन्तिम बिदाइमा सलमान समेत सहभागी भएका थिए।

यस घटनामा प्रहरीले अहिलेसम्म ६ जनालाई आरोपी बनाएको छ। प्रहरीले दुई आक्रमणकारीहरूलाई घटना लगत्तै गिरफ्तार गरेको थियो, जसको पहिचान हरियाणाको कैथल निवासी गुरमेल बलजीत सिंह (२३) र उत्तर प्रदेशको बहराइच निवासी धर्मराज राजेश कश्यप (१९) को रूपमा भएको छ।

तेस्रो आक्रमणकारी शिव कुमार गौतम उर्फ शिवा पनि बहराइचको बासिन्दा हुन्। उनी हाल फरार छ। मुम्बई अपराध शाखाका डीसीपी दत्ता नलावडेले प्रेस ब्रिफिङमा जानकारी दिए अनुसार तीनै आक्रमणकारीहरू पेपर स्प्रे लिएर बाबा सिद्दीकीका छोरा जीशान सिद्दीकीको कार्यालय बाहिर पुगेका थिए।

उनीहरूको योजना बाबा सिद्दीकीमाथि पेपर स्प्रे छर्किएपछि उनको हत्या गर्ने थियो, तर शिवाले पहिले नै गोली चलाए। डीसीपी नलावडेका अनुसार गोली केवल शिवाले चलाएका थिए, धर्मराज कश्यप र गुरमेल उनको साथमा थिए।

चौथो आरोपीको पहिचान मोहम्मद जसिन अख्तरको रूपमा भएको छ, जो पन्जाबको पटियालाको बासिन्दा हुन्। उनी हालै जुन ७ मा पटियाला जेलबाट रिहा आएका थिए।

जेलमा नै उनी लरेन्स बिश्नोईका सहयोगीहरूको सम्पर्कमा आएका थियो। जासिन अख्तरले पनि धर्मराज, शिवा र गुरमेललाई बाबा सिद्दीकीको हत्याको लागि हतियार उपलब्ध गराएका थिए।

अन्य दुई आरोपीहरू शिबू लोनकर र प्रवीण लोनकर हुन्। शिबू लोनकरले फेसबुक पोस्टमा यस हत्याकाण्डको जिम्मेवारी लिएको थियो, जबकि प्रवीण लोनकर उनको भाइ हुन्।

मुम्बई क्राइम ब्रान्चका अनुसार धर्मराज कश्यप र शिव कुमार गौतम पुणेमा कवाडीको पसलमा काम गर्थे, त्यसको छेउमै प्रवीण लोनकरको डेरी थियो। प्रवीण लोनकर र उसको भाइ शुबु लोनकरले मिलेर शिव कुमार गौतम र धर्मराज कश्यपलाई हत्यामा भाडामा लिएका थिए।

शुबु लोनकरले फेसबुकमा पोस्ट गरेर यो हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको उल्लेख गरे। हाल उनी फरार छन्।

डीसीपी दत्ता नलावडेका अनुसार फरार आरोपीहरूलाई पक्राउ गर्न मुम्बई क्राइम ब्रान्चले १० टोलीहरू गठन गरेको छ। यसका साथै १५ टोलीहरू अन्य राज्यहरूमा यस मामिलाको सिलसिलामा अनुसन्धानलाई अघि बढाइरहेका छन्।

आउँदो हप्ता महाराष्ट्रमा विधानसभा चुनाव हुँदैछ। बाबा सिद्दीकीको हत्यापछि विपक्षी दलहरूले मुख्यमन्त्री एकनाथ शिन्दे र उपमुख्यमन्त्री देवेन्द्र फडणवीसको राजीनामाको माग गरेका छन्।

को थिए बाबा सिद्दीकी?

बाबा सिद्दीकी महाराष्ट्रका पूर्व क्याबिनेट मन्त्री थिए। उनी १९९९, २००४ र २००९ मा लगातार तीन पटक बान्द्रा पश्चिम सिटबाट विधायक रहे। उनका छोरा जीशान सिद्दीकी अहिले त्यहीँ सिटबाट विधायक छन्। ६६ वर्षीय सिद्दीकी मुम्बईका एक प्रमुख मुस्लिम नेता थिए, जसको बलिउडमा निकै प्रभाव थियो।

सलमान खान, शाहरुख खान र सञ्जय दत्त लगायत धेरै फिल्मी स्टारहरूसँग सिद्दीकीको घनिष्ठ सम्बन्ध थियो।

उनको इफ्तार पार्टीको गणना मुम्बईका उच्च प्रोफाइल आयोजनहरूमा हुन्थ्यो, जसमा फिल्म र राजनीतिक जगतका प्रमुख व्यक्तित्वहरू सहभागी हुन्थे।

सिद्दीकीलाई वर्षौँ अघि एक क्लबमा भएको झगडापछि सलमान र शाहरुख खानबीच मेलमिलाप गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। बाबा सिद्दीकीले दुवैलाई आफ्नो इफ्तार पार्टीमा बोलाएर उनीहरूबीच फेरि मित्रता गराएका थिए। 

असोज २७, २०८१ सोमबार ०८:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।