पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा महिला र बालबालिकासहित १६ जनाको मृत्यु

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा महिला र बालबालिकासहित १६ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदाय बीच लामो समयदेखि लडाइँमा संलग्न छन्। कुर्रममा दुई सम्प्रदायका  बिचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौँको ज्यान लिएको छ।

सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा  बताए।  

अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कारबाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो।

 जुलाई देखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौं मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केही शान्त भएको जनाइएको छ।  

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्। यद्यपि उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरू अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरू हुन सक्ने जनाइएको छ। 

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ।

असोज २७, २०८१ आइतबार १५:००:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।