आफू-आफू पैसा उठाएर कारागारभित्रै दशैं मनाए कैदीबन्दीले

आफू-आफू पैसा उठाएर कारागारभित्रै दशैं मनाए कैदीबन्दीले

काठमाडौं : दशैंको अवसरमा तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन्। कारागारमा हिजो साँझ  ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो। 

त्यसक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए। 

उनका अनुसार दुई सय ३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दै दशैं मनाए। 

दशैं मनाउन पाउँदा कैदीबन्दी खुसी थिए। विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरे। 

कारागारमा रहेका कैदीबन्दीले दशैं मनाउनका लागि रकम सङ्कलन गरेका थिए। सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए। सरकारले दशैं मनाउका लागि प्रति कैदीबन्दी तीन सय र लत्ताकपडा बापत दुई हजार पाँच सय उपलब्ध गराएको थियो।

केही कैदीबन्दीले मूढा विक्री गरेरसमेत दशैं खर्च जुटाएका थिए। तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन्। उनीहरुलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ।  

असोज २६, २०८१ आइतबार १३:४१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।