छक्का पञ्जा ५ : हास्यरसको बिदाइ, फन्टुस केमियोको प्रवेश

छक्का पञ्जा ५ : हास्यरसको बिदाइ, फन्टुस केमियोको प्रवेश

कथाको प्लटलाई तन्काएर लेखिएको उपन्यासको अवस्था के हुन्छ? यस्तै बनिरहेको छ छक्कापञ्जाको सिरिज। टेलिसिरियलमा सफल दीपक-दीपा टिम जब फिल्म निर्माणमा प्रवेश गर्यो उनीहरूले बढीमा ४५ मिनेटको सिरियललाई यसैगरी तन्काउँदै दुई घण्टा बढी लम्ब्याएको पाँचौँ शृङ्खला अहिले हलमा प्रदर्शन भइरहेको छ।

कथ्य शैली अनि अभिनयको दृष्टिमा नवीनता नभए पनि नेपाली फिल्म उद्योगमा छक्कापञ्जा लोकप्रिय फ्रेन्चाइजी बनिसकेको छ। दर्शकले हदै माया गरिरहेका छन् यो टिमलाई। तर दर्शको माया र विश्वासको आधारमा जिम्मेवार बन्दै अर्थपूर्ण फिल्म निर्माण गर्न भने यो टिम सधैँ चुकिरहेको छ।

अर्थ सङ्कलनको दृष्टिमा छक्कापञ्जा टिम सफल छ। टिमकै आर्थिक उन्नतिमा यो फ्रेन्चाइज फलिफाप भएको छ। तर फिल्मको सफलताको पक्ष अर्थ सङ्कलनमा मात्र गएर जोडिन्न। व्यापारको आँकडा नै फिल्मको महत्त्वपूर्ण पक्ष हुने हो भने ओस्कार पुरस्कारका लागि मनोनीत हुने फिल्मको मुख्य आधारै कति व्यापार गर्यो भन्ने भइहाल्थ्यो। अनि साम्बाला जस्ता फिल्म हैन, हरेक वर्ष नेपालबाट छक्कापञ्जा मात्रै मनोनीत भइहाल्थ्यो ओस्कारका लागि।

दशैंको माहौल छोप्न माहिर यो टिमले यस पटक पनि त्यही व्यवसायीक रणनीतिलाई अँगाल्यो। यस अगाडि हलहरूमा एकल कब्जा हुने गरेकोमा यस पटक भने अर्को एक्सन प्रधान फिल्म १२ गाउँ र ज्वाईँ साबले छक्कापञ्जाको एकल वर्चस्व तोड्यो।

क्लाइमेक्समा फिल्मले पिक लिनुपर्ने हो। तर यसमा निर्देशक असफल भएका छन्। क्लाइमेक्समा प्रयोग गरिएको केमियोमा दर्शक सरप्राइज हैन दिक्क हुन्छन्।

कमेडीको दृष्टिकोणमा फिल्म हेर्न जाने हो भने दर्शक निराश हुने पक्का छ। छक्कापञ्जा ४ सम्म पुग्दा निर्माण टिमले जसरी वनलाइन पञ्चले फिल्म  लोकप्रिय बनाएका थिए त्यो पक्ष पाँचौँमा पुग्दा असफल भएको छ।

दीपकराजको पात्र सामाजिक कथालाई अगाडि बढाउन केन्द्रित छ। आफैँले फिल्म लेखेकाले हुनसक्छ दीपकराजले आफ्नो पात्रलाई बलियो बनाउन मिहेनत गरेका छन्।

जितु नेपाल, बुद्धि तामाङ नहुँदा कमेडीको पक्षको जिम्मेवारी केदार घिमिरे र राजाराम पौडेलको काँधमा पुगेको छ। र उनीहरू यसमा असफल भएका छन्।

छक्कापञ्जाका सिरिज हेरिरहेका दर्शकले पाँचौँमा जितु र बुद्धि मिस गर्छन्। माग्ने बुढाको गेटअप र चरित्रचित्रण निकै कमजोर छ।

कथासार

फिल्मले नेपाली समाजमा व्याप्त भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, र इमानदार व्यक्तिहरूले भोग्नुपर्ने कठिनाइको कथामा माग्ने बुढा ( केदार घिमिरे) मार्फत हास्य रसको तड्का मिसाएर प्रस्तुत गर्ने प्रयास गरेको छ।

फिल्मको मुख्य कथा एक इमानदार सरकारी अधिकृत पृथ्वी विक्रम (दीपकराज गिरी) को जीवन वरिपरि घुम्छ। उनी नगरपालिकाका इमानदार अधिकृत हुन्। पृथ्वीका बुबा आफ्नो परिवार पृथ्वीनारायण शाहको वंशज भएकोमा गौरवान्वित छन् र छोरालाई सधैँ इमानदार रहन प्रोत्साहित गर्छन्। यो प्रेरणाले पृथ्वीलाई घुस लिन वा दिनबाट टाढा राख्छ।

तर, उनको इमानदारिताले उनलाई विभिन्न चुनौतीहरूको सामना गर्न बाध्य बनाउँछ। घुस नखाएकै कारण उनको पटक-पटक सरुवा हुन्छ र अन्ततः उनी काठमाडौँ फर्कन्छन्।

यहाँ, उनको विवाह एक नेताकी छोरी रश्मि (वर्षा सिवाकोटी) सँग हुन्छ, जसले उनको जीवनलाई थप जटिल बनाउँछ। रश्मिको लक्ष्य नै विदेश जाने हुन्छ। दीपक विदेश जान चाहँदैनन्। त्यसैलाई कथामा द्वन्द्वको रूपमा स्थापित गर्ने प्रयास गरिएको छ। मूल कथा उनै पृथ्वीको सङ्घर्ष वरिपरि घुमेको छ।

सामाजिक सन्दर्भ र सन्देश

फिल्मले नेपाली समाजमा गहिरो जरा गाडेको भ्रष्टाचारको समस्यालाई उजागर गर्ने प्रयास गरेको छ। एक इमानदार व्यक्तिले समाज, परिवार र कार्यस्थलमा कुन तहको चुनौतीहरूको सामना गर्नुपर्छ भन्ने पक्षलाई देखाउने प्रयास गरेकी छिन् निर्देशक दीपाश्रीले।

फिल्मले उठान गर्न खोजेको विषय सान्दर्भिक र महत्त्वपूर्ण भए पनि त्यसमा आदर्श र दर्शक रिझाउन अनावश्यक फितलो हास्यरस मिसाउन खोज्दा फिल्मको कथ्य शैली भने निकै कमजोर बनेको छ।

पात्र विकास

पृथ्वी विक्रम (दीपकराज गिरी) : इमानदार कर्मचारी जो स्वदेशमा घुस खाँदैन र विदेश जान चाहँदैन उसको चरित्र निर्माणमा निर्देशक अलमलिएका छन्।

इमानदारीता भनेको जागिरमा मात्र इमानदार हुनु हो या दैनिक जीवनशैलीमा पनि? जो व्यक्ति दैनिक जीवनमा इमानदार हुन सक्दैन उ न जागिरमा इमानदार हुनसक्छ न समाजमै। जीवनसाथी जस्तो जीवनको महत्त्वपूर्ण पक्षमा झुक्क्याउने पात्र कसरी इमानदार हुन सक्छ?

यस्तै प्लटहरूले पृथ्वी पात्रको आन्तरिक द्वन्द्व र बाह्य चुनौतीमा दर्शक एकाकार हुनै सक्दैनन्। पात्रको चरित्र चित्रण नै कन्फ्युज्ड भएकाले दर्शन पनि कन्फ्युज्ड हुने नै भए।

रश्मि (वर्षा सिवाकोटी) : रश्मिको पात्र केही हदसम्म एक आयामिक देखिन्छ। दीपकको चरित्रमा बढी नै केन्द्रीतहुँदा वर्षाको चरित्र विकासमा भएको कमजोरी दर्शकले अनुभव गर्छन्ज।

सरी पनि विदेश जान चाहने पुस्ताको चरित्र बोकेको वर्षाको चरित्रलाई थप प्रभावकारी बनाउन सकिने पक्ष टन्न देखिन्छ। महिला निर्देशक भए पनि महिलाको चरित्र बलियो बनाउन दीपाश्री चुकेकी छिन्।

सहायक पात्रहरू : केदार घिमिरे र राजाराम पौडेल जस्ता सहायक पात्रको जिम्मेवारी मूल पात्र दीपकको कथालाई अगाडि बढाउन सहयोग गर्ने नै हो। छक्कापञ्जाको सिरिजमा केदार घिमिरेको अभिनय 'हीरा' समान थियो। पाँचौँमा आइपुग्दा केदार घिमिरेको चरित्र र संवाद सबैभन्दा कमजोर बनेको छ।

उनको पात्रको पृष्ठभूमि नै स्थापित हुन्न। राजारामको चरित्र काम चलाउ बनेको छ। अभिनय ठिकै।

निर्देशन र कथा प्रस्तुति

सामाजिक विषयको अतिरञ्जित प्रस्तुतिमा केन्द्रित हुँदा दीपाश्रीको निर्देशन कमजोर बनेको छ। द्वन्द्व देखाएर कथालाई अगाडि बढाउने प्रयासमा उनी असफल भएकी छन्। यो पाली न सामाजिक कथामा सहमत हुनसक्ने तहको प्रस्तुति छ न त पात्रको द्वन्द्व नै बलियो छ।

इमानदार बाबुका इमानदार छोराको चरित्र बोकेका दीपकको चरित्र निर्माणमै लेखन र निर्देशक अलमलमा रहेको प्रस्टै देखिन्छ। इमानदार पात्रले विवेक हैन महत्त्वपूर्ण निर्णय बहकाउमा गर्छन्। कसरी? 

पहिलेका ‘छक्कापञ्जा’ फिल्महरूमा जस्तो हास्यरसमा मात्र केन्द्रित नभएर, यस पटक गम्भीर सामाजिक मुद्दालाई उठाउने प्रयास भने गरिएको छ। यद्यपि, कथाको सुस्त गति अनावश्यक रूपमा तन्काइएको दृश्यले फिल्मलाई कमजोर बनाएको छ। फिल्ममा गरिएको केमियोको प्रयोग नै फन्टुस देखिन्छ।

प्राविधिक पक्षहरू

छायाङ्कन : केही दृश्यहरू गतिलो देखिए पनि समग्रमा फिल्मको छायाङ्कन सामान्य स्तरको छ। फिल्मको दृश्यको क्वालिटी कमजोर छ। दृश्यहरू धमिलो देखिन्छन्।

सम्पादन : केही दृश्यहरू फिल्म तन्काउनै लागि अनावश्यक लामो बनाइएको छ, जसले फिल्मको गति सुस्त बनाएको छ। जस्तो क्लाइमेक्स। सम्पादन मध्यम छ। न वाह, न छ्या तहको।

संगीत: फिल्म प्रचारमा गीतले सघाएका छन्। तर फिल्मको कथामा गीतको अर्थ देखिँदैन। विशेष गरी, अन्तिममा राखिएको ‘ब्रेकअप गीत’ को औचित्य छैन।

 अभिनय

दीपकराज गिरीको अभिनय फिल्मको बलियो पक्ष हो। उनले पृथ्वी विक्रमको भूमिकालाई बलियो रूपमा प्रस्तुत गरेका छन्।

केदार घिमिरे र राजाराम पौडेलको सहायक भूमिका कमजोर छ। तर, वर्षा सिवाकोटीको अभिनयमा कमजोरी देखिए पनि यस अगाडिका फिल्मसँग तुलना गर्ने हो भने निर्देशकले अभिनय गराउन गरेको मिहिनेत देखिन्छ। दीपकको बाबु बनेेका प्रकाश घिमिरेको चरित्र निर्माणमा समस्या भए पनि अभिनय राम्रो छ। अन्य पात्र काम चलाउ।

अन्तमा,

‘छक्कापञ्जा ५’ ले शैली बदलेर हास्यरसबाट टाढा गएर गम्भीर सामाजिक मुद्दालाई उठाउने प्रयास गरेको छ, जुन प्रशंसनीय छ। फिल्मले नेपाली समाजमा व्याप्त भ्रष्टाचार र त्यसको विरुद्ध लड्ने व्यक्तिहरूले भोग्नुपर्ने कठिनाइहरूलाई प्रस्तुत गरेको छ।

यद्यपि, फिल्मका केही पक्षहरू जस्तै कथाको गति, सम्पादन, र केही पात्रहरूको विकासमा सुधार गर्न सकिने भए पनि निर्देशकले ध्यान दिन सकेको देखिएन।

पृथ्वीनारायण शाहको बलमा देशभक्तिको तड्का दिन प्रयोग भएको केमियोको चयन निर्देशकको सबैभन्दा कमजोर पक्ष हो। निर्देशकको यो निर्णय फन्टुसै देखिन्छ। फिल्मका यावत् कमजोरीलाई देशभक्तिको लेपनले छोप्ने दीपाश्रीको प्रयास सफल देखिएन। दीपकराजको अभिनयका लागि फिल्म हेर्दा हुन्छ। माग्ने बुढाले हँसाउँछन् नि भनेर हेर्न जाने हो भने चैँ निरासा पक्का।

असोज २७, २०८१ आइतबार १३:०८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।