आफ्नो मेडिकल रिपोर्ट जारी गर्दै स्वस्थ रहेको पुष्टि गर्न ट्रम्पलाई ह्यारिसको चुनौती

आफ्नो मेडिकल रिपोर्ट जारी गर्दै स्वस्थ रहेको पुष्टि गर्न ट्रम्पलाई ह्यारिसको चुनौती

काठमाडौं : अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन्।

यी अभिलेख अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट छिन्।

कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पलाई उनको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन्।

कमला ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरेकी छन्।

‘ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा पाउन् भन्ने चाहँदैनन्’, उनले भनिन्।

ह्यारिसको आरोपपछि ट्रम्पको टोलीले मेडिकल रेकर्ड सार्वजनिक नगरी डाक्टरलाई उद्धृत गर्दै उनी ‘पूर्ण रूपमा ठीक र उत्कृष्ट स्वास्थ्य’ रहेको दाबी गरेको थियो।

यसअघि रिपब्लिकन पार्टीले पनि वर्तमान राष्ट्रपति जो बाइडेनको स्वास्थ्यलाई लिएर कटाक्ष गर्दै आएको थियो। डेमोक्र्याटिक पार्टी भित्र पनि बाइडेनको स्वास्थ्यलाई लिएर विरोधको आवाज सुनिएको थियो।

बाइडेनको वर्तमान उमेर ८१ वर्ष र ट्रम्पको उमेर ७८ वर्ष छ। गत जुनमा ट्रम्प र बाइडेनबीचको पहिलो सार्वजनिक बहसपछि अमेरिकी चुनावमा मानसिक स्वास्थ्यको मुद्दा निकै गर्माएको थियो।

त्यहाँ जो बाइडेनलाई संज्ञानात्मक परीक्षण (मस्तिष्कको काम गर्ने क्षमता)को माग गरिएको थियो। तर अमेरिकी राष्ट्रपतिले यसलाई अस्वीकार गर्दै आफूले दैनिक यो परीक्षण गराउनुपर्ने र चिकित्सकले आफूलाई यसको आवश्यकता नरहेको बताएका थिए।

असोज २६, २०८१ आइतबार ०८:३०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।