नेतन्याहुलाई सहयोग गर्ने अरब देशहरूले परिणाम भोग्नुपर्ने इरानको चेतावनी

नेतन्याहुलाई सहयोग गर्ने अरब देशहरूले परिणाम भोग्नुपर्ने इरानको चेतावनी

एजेन्सी : इजरायल र लेबनानमा जारी द्वन्द्वका बीच इरानले अरब देश र मध्यपूर्वमा रहेका अमेरिकाका सहयोगीहरूलाई चेतावनी दिएको छ।

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार इरानले कूटनीतिक माध्यमबाट यो धम्की दिएको हो।

कुनै पनि देशले इरानमाथि आक्रमण गर्न इजरायललाई सहयोग गरे वा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएमा त्यसको परिणाम भोग्नुपर्ने चेतावनी इरानले दिएको हो।

इरानले अक्टोबर १ मा इजरायलमा १८० मिसाइल हमला गरेको थियो। त्यसयता इजरायलले जवाफी हमलाको तयारी गरिरहेको छ।

धेरै मिडिया रिपोर्टहरूले इजरायलले इरानको तेल भण्डार वा आणविक साइटहरूलाई निशाना बनाउन सक्ने आशंका व्यक्त गरेका छन्।

इजरायलले ४८ घण्टामा लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) मा दोस्रो पटक हमला गरेको छ।

अल जजिराका अनुसार युनिफिलले शुक्रबार आक्रमण भएको पुष्टि गरेको छ। इजरायलले नाकोरा सहरमा रहेको मुख्यालयमा गरेको बमबारीमा दुई सैनिक घाइते भएका छन्। उनीहरु दुवै श्रीलंकाका नागरिक हुन्।

यसैबीच इजरायलले सेनाले आक्रमणअघि युक्त राष्ट्र संघका कर्मचारीहरूलाई चेतावनी दिइएको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि नै इजरायललाई हिजबुल्लाहसँगको लडाइँमा राष्ट्रसंघीय शान्ति सैनिकमाथि आक्रमण नगर्न आग्रह गरेका थिए।

असोज २६, २०८१ आइतबार ०७:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।