३२ वर्षदेखि निःशुल्क ट्राफिक सेवा दिइरहेका ‘कलकत्ते बा’

३२ वर्षदेखि निःशुल्क ट्राफिक सेवा दिइरहेका ‘कलकत्ते बा’

बुटवल : विहान झिसमिसेमा उठेर सडकमा आउने अनि सवारी साधन र यात्रुलाई सहज रूपमा यात्रामा सहजीकरण गरिदिनु उनको दैनिकी हो। झट्ट सुन्दा यो कुनै ट्राफिक प्रहरीको काम सुनिन्छ। तर उनी ट्राफिक होइनन्।

उमेरले बुढ्यौली लागिसक्यो। कसैको साथमा रहेर सामान्य जीवनयापन गर्नुपर्ने उनी विहादेखि राती अबेरसम्म सडकमै हुन्छन्। उनको सुख-दुःख जे भने पनि सडक नै हो। सडककै यात्री अनि सवारी साधन र सवारी चालक हुन्।

उमेरले ८५ टेकेपछि उनको जोश अझै एक युवकको भन्दा कम छैन। पाल्पाको सदरमुकाम तानसेनको विभिन्न चोकहरूमा निःशुल्क रूपमा ‘नागरिक ट्राफिक’को काम गर्दै आएका उनी हुन् टोपप्रसाद श्रेष्ठ।

वि.सं. २०२५ देखि पाल्पा सदरमुकाममा रहेका उनी ‘कलकत्ते बा’ नामले परिचित छन्। स्याङ्जाको बायटारीमा जन्मिएका उनी स्वत:स्फूर्त रूपमा झण्डै आधा शताब्दीदेखि पाल्पामा बस्दै आएका छन्।

श्रेष्ठलाई ट्राफिक व्यवस्थापनप्रति यति धेरै लगाव छ कि विशेष काम नपरी उनले सडक छोड्दैनन्। सडकमै वर्षौं बिताएका उनलाई गाडी चालक र धनीले पनि उत्तिकै सम्मान गर्छन्।

शुरूका केही वर्ष होटलमा सहयोगीको रुपमा काम गरेका उनले त्यसपछि तानसेन बसपार्कमा यात्रुको सरसामान गाडीबाट ओराल्ने र राख्ने काम गरे। त्यस पछि उनी विगत ३२ वर्षदेखि निरन्तर स्वयंसेवकको रूपमै यात्रुको निरन्तर सुरक्षा र सहयोगमा खटिँदै आएका छन्।

‘कलकत्ते बा’ अहिले यात्रुको भीडभाड हुने ठाउँहरू पाल्पा बसपार्क, टुँडिखेल, क्याम्पस रोड, नारायणस्थानका चोक र सडकमा यात्रु र सवारीको सहजताको लागि खटिरहेका छन्।

‘लत नै बस्यो। अरु काम गर्ने जागर आउँदैन। म यसैमा खुसी छु। म सडकमा खटिँदा कुनै यात्रु सुरक्षित गन्तव्यमा जान्छ। यो नै मेरो खुसी र सन्तुष्टि हो’, उनले भने।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेलबासेले टोपप्रसाद श्रेष्ठ स्वतःस्फुर्त रूपमा ‘नागरिक ट्राफिक’ भएर सेवामा लागेको बताए।

‘उहाँले राम्रो काम गर्नुभएको छ। उहाँ आफैँले चालकले गर्नुपर्ने व्यवहार, यात्रुको जिम्मेवारी, सुरक्षाका निकायको कामबारे पर्चा समेत बनाएर चेतना जगाउने काम गर्नुभएको छ,’ उनले भने, ‘कसरी यात्रालाई सुरक्षित बनाउने भन्नेमा उहाँ लाग्नुभएको छ। यो राम्रो कुरा हो।’

अधिकांश समय सडकमै हुने श्रेष्ठले टाउकोमा ट्राफिक जस्तै सेतो टोपी भने कहिल्यै छुटाउँदैनन्। श्रेष्ठ ट्राफिकको जस्तै पोशाक लगाएर सवारी व्यवस्थापनमा खटिन्छन्। आफ्नै तर्फबाट यातायात व्यवसायी, चालक, मजदुर तथा सर्वसाधारणका लागि अनुरोध पत्र बनाएका छन्। चालकलाई मदिरा, नशालु पदार्थ सेवन नगर्न आग्रह गर्छन्।

उनले नयाँ यात्रुलाई भाडा दरको जानकारी, यात्रुको सरसामानको रेखदेख, सवारी साधनको पार्किङ, सवारी चालकले सिट बेल्ट लगाए नलगाएको बारे नियमन समेत गर्छन्।

त्यति मात्र होइन अगाडि सिटमा महिला राखेर अनावश्यक कुरा नगर्न सुझाउँछन्।

‘यात्रुसँग कस्तो व्यवहार गर्ने, ट्राफिक नियमको पालना कसरी गर्ने भन्ने चालकलाई सिकाउने गरेको छु। आरक्षण सिटमा आरक्षित व्यक्ति भए/नभएको बारे पनि चालकलाई भन्छु’, उनले भने।

उनले जिल्लामा नयाँ आउने प्रहरी प्रमुख, सिडियो, न्यायाधीश लगायतलाई जिल्लाको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनबारे अपडेट समेत दिँदै आएको बताए।

उनकै अहिले एउटै गुनासो छ, ‘पैसा दिएर सवारी साधन चढे पनि यात्रुले टिकट पाउँदैनन्।’ उनले टिकट काटेर यात्रुलाई नदिँदा धेरै जनाको सामान हराउँदा वा चोरी हुँदा नभेटिने गरेको बताए।

‘मादक पदार्थ सेवन गरेर अहिले पनि सवारी चलाउन सवारी चालकले छाडेका छैनन्। टिकट दिएर भाडा ल्याउनुपर्छ भनेर जति सम्झाए पनि उनीहरूले लागू गरेका छैनन्’, उनले गुनासो गरे।

कामले सम्मान
आफ्नो जीवनको ऊर्जाशील समय सडकमै रमाएका श्रेष्ठले विहेबारी भने गरेका छैनन्। सामाजिक सुरक्षा बापतको आउने मासिक ४ हजार भत्ताबाटै आफ्नो कोठा भाडा र गर्जो टार्दै आएका छन् उनी।

विना बर्दीको ‘नागरिक ट्राफिक’ भएर सेवा गरेकाले श्रेष्ठलाई विभिन्न संघ संस्थाले सम्मान समेत गर्दै आइरहेका छन्। उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका विभिन्न निकाय र यातायातसँग सम्बन्धित संघसंस्थाले सम्मान गर्दै आएका छन्।

निःस्वार्थ भावले यात्रु र यातायातको सुरक्षाको लागि सेवा गर्ने कमै मध्येमा पर्छन् श्रेष्ठ। तर पनि स्थानीय निकाय र सम्बन्धित संघसंस्थाले भने दैनिक जीवनयापनको लागि सहयोग नगरेको उनको गुनासो छ।

असोज २७, २०८१ आइतबार ०७:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।