जमेको पानीमा टेक्दा करेन्ट लागेर दुई बालिकाको मृत्यु

जमेको पानीमा टेक्दा करेन्ट लागेर दुई बालिकाको मृत्यु

बागमती : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ चिसापानीमा करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ। 

चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो। 

त्यस पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौंडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिए। 

सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए। बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरे। 

मृतक दुवै नाबालिका रहेकाले नाम थर गोप्य राखिएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असोज २५, २०८१ शनिबार १८:३१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।