राष्ट्रपतिले दशैँको टिका लगाउँदा घुँडा टेकाएनन्, कुर्सीमा राखेर लगाइदिए टिका-जमरा

राष्ट्रपतिले दशैँको टिका लगाउँदा घुँडा टेकाएनन्, कुर्सीमा राखेर लगाइदिए टिका-जमरा

काठमाडौँ : विद्यादेवी भण्डारी राष्ट्रपति रहेसम्म शीतल निवासमा दशैँमा टिका लगाउन आउनेहरूले घुँडा टेकेर टिका लगाउनुपर्थ्यो। सर्वसाधारण मात्र हैन अतिथिले पनि घुँडा टेकेर टिका लगाएको तस्बिर सार्वजनिक भएपछि निकै आलोचना भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले भने प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मलाई कुर्सीमा सुबिस्ताका साथ राखेर दशैँको टिका र जमरा लगाइदिए शनिवार।

राष्ट्रपति निवासमा दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यहरू नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउन राष्ट्रपति कार्यालय पुगेका थिए।

साढे तीन बजेबाट भने इच्छुक सर्वसाधारणलाई राष्ट्रपतिले टिका लगाइदिएका थिए। राष्ट्रपतिबाट टीका र जमरा लगाउन सर्वसाधारणहरू शीतल निवास गएका थिए।

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट टीका र प्रसाद लगाउने प्रचलन रहेको छ। राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरूले निरन्तरता दिँदै आएका छन्।

असोज २५, २०८१ शनिबार १७:५७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।