दशैँमा गाउँ सम्झँदै खुम्बु उक्लिरहेका छन् ‘ पर्यटक भरिया’

दशैँमा गाउँ सम्झँदै खुम्बु उक्लिरहेका छन् ‘ पर्यटक भरिया’

सोलुखुम्बु  : दशैँ मनाउन विदेशदेखि शहरतिर रहेकाहरू गाउँ फर्किरहेका छन्। यही बेलामा सोलुखुम्बु सोताङका नवीन राई भने घर छाडेर खुम्बुतिर लागेका छन्। उनी फूलपातीकै दिन उच्च हिमाली भेग खुम्बु हान्निए।

उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दशैँ मनाउन मन नलाग्ने हैन। तर चाडको खुसीभन्दा घरको आर्थिक दायित्वको जिम्मेवारी बढी छ। त्यसैले अन्य साथीहरू फूलपातीका दिन घर फर्किदा उनी भने घर छोडेर भारीको खोजीमा उकालो चढे।    
‘हामीलाई के दशैँ, के तिहार ! सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको’, राईले भने, ‘काम नगरी हुँदैन। घरमा आमा बुवा, भाइबहिनी पाल्नै पर्यो, यतिबेला दशैँ मनाउन बस्यो भने घर कसरी चल्छ ? अब खुम्बुमै भारी बोक्दै दशैँ मनाउने हो।’

उनी जस्तै जिल्लाका तल्लो भेगका अधिकांश युवा यति बेला काम खोज्दै खुम्बु पुगेका छन्। अन्य समयमा अध्ययनमा व्यस्त हुने विद्यार्थीहरूसमेत दशैँ बिदामा पर्यटकको भारी बोक्न लुक्ला पुग्ने गरेका छन्। उनीहरूले भारी बोकेर दैनिक दुई हजारसम्म कमाउने गरेको लुक्लाका पर्यटन व्यवसायी अमृत मगरले बताए।

संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुखुम्बुको खुम्बुक्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएको छ। त्यसैले पर्यटन व्यवसायीहरू पनि दशैँ-तिहार जस्ता चाडपर्वलाई छोडेर ट्रेकिङमा जाने गरेका छन्।

पिठ्युँमा गह्रौँ भारी बोकेर उकालो चढ्दै गरेका गोराखानीका प्रदीप मगरले भने, ‘हामीलाई दशैँको कुनै वास्ता छैन। यही बेला काम नगरेर बाँकी समयको गर्जो टार्न सकिँदैन। हरेक वर्ष खुम्बुमा पर्यटकको आवागमन हुने भएकाले बर्सेनि यसैगरी यहाँ आउने गरेको छु। दशैँ नमनाएको पनि पाँच वर्ष नै भयो।’


खुम्बुमा हाल दैनिक तीन सय जनासम्म विदेशी पर्यटक भित्रिने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्क छ। त्यसैले पर्यटन व्यवसायमा लागेका युवाहरूमा चाडपर्वको सट्टा पर्यटक आवगमनले थप उत्साह भर्ने गरेको लुक्लाका अमृत मगरले बताए।

‘वर्ष दिनमा मनाइने दशैँ जस्ता महत्त्वपूर्ण चाडपर्व सबैको लागि विशेष नै हुन्छन् तर चाडपर्वमा रमाउने कामले मात्रै घरपरिवार धान्न सकिँदैन। त्यसैले मिलेर विदेशीलाई खुसी पार्न यहाँ आउँछौँ। उहाँहरूको खुसीमा आफ्नो खुसी बिर्साउनुपर्छ’, उनले भने।

भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन सुरु भएसँगै युवाहरू चाडपर्व नभनी व्यवसायमै व्यस्त छन्। खुम्बुमा वर्षको दुई पटक पर्यटकयाम हुन्छ। पहिलो फागुन, चैत, वैशाख र असोज, अर्को कार्तिक र मंसिर। त्यसैले यसपटक पनि खुम्बु क्षेत्र हाल स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छ ।    

 

सल्लेरीमा बसेर क्याम्पस पढ्दै गरेका माप्यदुधकोशीका रमेश विक बिदाको समयमा अहिले नाम्चे पुगेका छन्। अन्य समयमा कलेज जानुपर्ने भएकाले दशैँ, तिहारको बिदामा पर्यटकको भारी बोक्न खुम्बु आएको विकले बताए।

‘पढाइ खर्च जोहो गर्ने सिजन नै यही हो, विदेशीको भारी बोक्दा भएको आम्दानीले पढाइ खर्च चलाउने गरेको छु’ उनले भने।

सगरमाथासहितका हिमशृङ्खला अवलोकनका लागि आएका पर्यटकहरूले खुम्बु भरिएसँगै पर्यटकको भारी बोक्ने तथा पथप्रदर्शकका लागि युवाहरूसमेत यहाँ आउने गरेको सेर्कासिङका पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए।

‘यहाँ वर्षको करिब छ महिना मात्रै पर्यटक सिजन चल्ने भएकाले दशैँ मनाउने भन्दा व्यवसाय चलाउने चटारो हुन्छ। यही व्यवसायबाट घर खर्चदेखि सबै गुजारा चलाउनुपर्ने भएकाले मन हुँदाहुँदै पनि चाडपर्वमा घर बस्न पाउँदैनौँ’ दर्नालले भने।

करिब दुई दशकदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका दर्नालले हरेक वर्ष यसरी नै बित्ने गरेको सुनाए। ट्रेकिङ कम्पनीहरूले अन्य समयमा घर पठाउने र यस सिजनमा बोलाउने भएकाले चाडपर्वलाई थाँती राखेर व्यवसायमा हिँड्नुपरेको उनले बताए।
हाल लुक्लामा दैनिक दुई सयभन्दा बढी हवाई उडान हुने गरेको र दैनिक एक हजार बढी पर्यटकहरू हवाइमार्गबाट खुम्बु भित्रिरहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीले बताए।

पर्यटकको चाप बढेसँगै खुम्बुका होटल तथा लजहरू भरिभराउ छन्। जसकारण व्यवसायीहरूमा पनि निकै व्यस्तता बढेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए।

पर्यटकको आागमन बढ्दा यहाँका कर्मचारीलाई पनि निकै चटारो छ । लुक्लास्थित गाउँपालिकाको जाँचकेन्द्र तथा जोरसल्लेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोइन्टका कर्मचारीहरूमा पनि व्यस्त छन्।

निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले पर्यटकको आगमन बढ्दा कर्मचारीले पनि दशैँ मनाउन पालो लगाएर जानुपरिरहेको बताए।

सुवास दर्नाल/रासस    

असोज २५, २०८१ शनिबार १४:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।