राष्ट्रपतिले तीन बजेबाट टिका लगाइदिने, बाढीको शोक भएको भन्दै प्रधानमन्त्रीले टिका नलगाइदिने

राष्ट्रपतिले तीन बजेबाट टिका लगाइदिने, बाढीको शोक भएको भन्दै प्रधानमन्त्रीले टिका नलगाइदिने

काठमाडौँ : विजयादशमीका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले ३ बजे देखि ३ : ३० बजेसम्म विशिष्ट व्यक्तित्वहरूलाई र  ३ : ३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ : ३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्रम छ।

सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दशैँको टीका र जमरा लगाइदिने कार्यक्रम छ। यसैगरी दिउँसो ३ :३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्रम छ।

विपद्मा घरबारहीन भएका आम नागरिकले पाल पनि नपाइरहेको बेलामा विवादित व्यवसायीसँग दान लिएर आफ्नो पार्टी कार्यालयको शिलान्यास गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने बाढी पहिरोका दुखका कारण सर्वसाधारणलाई टिका नलगाइदिने बताएका छन्।

दशैँलाई असत्यमाथि सत्यको विजयको प्रतीक र देवी दुर्गाले महिषासुर दैत्यलाई पराजित गरेको कथासँग जोडिएको छ। टीका लगाउँदा देवीको आशीर्वाद स्वरूप विजयशक्ति प्राप्त हुन्छ विश्वास छ।

टीका लगाउनु धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक तथा यो परम्पराले नेपाली संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढाउने र दशैँको टीकाले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा भेला गराउने भएकाले यसको महत्त्व छ।

असोज २५, २०८१ शनिबार १३:३१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।