महिला टी-२० विश्वकप : अष्ट्रेलियाले पाकिस्तानलाई हरायो, सेमिफाइनल पुग्न भारतलाई न्युजिल्यान्डको भर

महिला टी-२० विश्वकप : अष्ट्रेलियाले पाकिस्तानलाई हरायो, सेमिफाइनल पुग्न भारतलाई न्युजिल्यान्डको भर

काठमाडौं : महिला टी-२० विश्वकप २०२४ मा शुक्रबार राति अष्ट्रेलिया र पाकिस्तानबीचको खेलमा अष्ट्रेलिया नौ विकेटले विजयी भएको छ।

पाकिस्तानसँगको यो हारपछि भारतीय टोलीको सेमिफाइनल पुग्ने सम्भावना केही बढेको छ।

शुक्रबार भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गर्न आएको पाकिस्तानी टोलीका कुनै पनि खेलाडी क्रिजमा बसेर खेल्न सकेनन्।

मध्यक्रमका ब्याट्सम्यान आलिया रियाजले मात्र २६ रनको संघर्षपूर्ण इनिङ खेलिन्। तर, उनले आफ्नो टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउन सकिनन्।

पाकिस्तानी टोली १९.५ ओभरमा ८२ रनमा अलआउट भयो। ८३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि कप्तान एलिस हेलीले सर्वाधिक ३७ रन बनाउँदा एस्ले गार्डनरले सर्वाधिक ४ विकेट लिए।


भारतको आशा न्यूजिल्याण्डको प्रदर्शनमा
अष्ट्रेलिया, भारत र पाकिस्तान यी तीन टोली समूह ‘ए’ मा परेका छन्। जहाँ अष्ट्रेलियाले खेलेका तीन खेलमै विजयी भएर तालिकाको शीर्ष स्थानमा छ।

समान तीन खेल खेलेको भारतीय टोलीले दुई जितेर दोस्रो स्थानमा रहँदा न्युजिल्यान्ड तेस्रो, पाकिस्तान चौथो र श्रीलंकाको टोली अन्तिम अर्थात पाँचौं स्थानमा छ।

श्रीलंकाको टोली सेमिफाइनलको दौडबाट बाहिरिए पनि अन्य सबै टोलीको सम्भावना जीवितै छ।

यस्तो अवस्थामा भारतले आफ्नो अर्को खेल अष्ट्रेलियासँग कुनै पनि हालतमा जित्नुपर्ने हुन्छ। न्युजिल्याण्डको अर्को खेल श्रीलंकासँग हुनेछ।

यदि न्युजिल्यान्डले यो खेल जित्यो र भारतले अर्को खेल हारेमा भारतको सेमिफाइनल पुग्ने बाटो कठिन हुन सक्छ।

यस्तो अवस्थामा भारतीय टोलीको आशा न्युजिल्यान्डको प्रदर्शनमा निर्भर रहनेछ।

असोज २५, २०८१ शनिबार ०८:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।