दुई सेना घाइते भएपछि राष्ट्रसंघको शान्ति सेनामाथि गोली नचलाउन इजरायललाई बाइडेनको आग्रह

दुई सेना घाइते भएपछि राष्ट्रसंघको शान्ति सेनामाथि गोली नचलाउन इजरायललाई बाइडेनको आग्रह

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजबुल्लाहसँगको लडाइँको क्रममा राष्ट्रसंघीय शान्ति सेनामाथि गोली नचलाउन इजरायलललाई आग्रह गरेका छन्।

पछिल्लो ४८ घण्टामा संयुक्त राष्ट्रसंघीय शान्ति सेनामाथि गोली प्रहारका दुई घटना सार्वजनिक भएका छन्।

शुक्रबार, इजरायली सेना (आईडीएफ)ले यो घटनाको लागि आफ्नै सैनिक जिम्मेवार भएको बताएको छ।

गोलीबारीमा लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल)का दुई श्रीलंकाली सैनिक घाइते भएका छन्।

आईडीएफका अनुसार नाकोरामा रहेको युनिफिल बेस नजिकै काम गरिरहेका इजरायली सैनिकहरूले खतरा महसुस गरेपछि गोली चलाएका थिए।

यद्यपि इजरायली सेनाले यो सम्पूर्ण घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ।

घटनालाई लिएर फ्रान्स, इटाली र स्पेन जस्ता देशहरूले संयुक्त विज्ञप्ति जारी इजरायलको कारबाही पूर्णतया गलत भएको भन्दै कडा शब्दमा निन्दा गरेका छन्।

आफ्ना दुई सैनिक घाइते भएपछि श्रीलंकाको विदेश मन्त्रालयले पनि इजरायली सेनाको यस कार्यको कडा निन्दा गरेको छ।

असोज २५, २०८१ शनिबार ०८:०२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।