दशैंको अघिल्लो दिन मुलुक छाड्नेहरू...

दशैंको अघिल्लो दिन मुलुक छाड्नेहरू...

काठमाडौं : ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर प्यारो भयो सर’, सर्लाहीका अजय मेहताले भने।

दशैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो। शुक्रबार साँझपख बोर्डिङ पास लिनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैंको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो। सर्लाहीको घरमा हिजो गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दशैंको टीका र अभिभावकको आशिर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितिले पूरा हुन दिएन।

‘दशैं मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो’, उनले भने।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो। तर दुई महिनाको लामो छुट्टीमा पनि दशैं एक दिनले अट्न सकेन।

‘कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरूलाई हाम्रो दशैंको महत्व थाहा नभएर पनि हुनसक्छ’, उनले भने।

दशैंको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि  भेटिए। विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन्। महान पर्व दशैंका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ।

‘अरु दशैंमा घर आउँछन्, हामी दशैंमा छाड्नुपरेको छ। यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौंको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु’, उनले भने। उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए।

वैदेशिक रोजगारीका लागि दशैं छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन। प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन्। बुवा मलेसियामै काम गरिरहनुभएकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए।

आमा सम्झना रम्तेलले आँशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए।

रम्तेलले भने, ‘बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दशैंका लागि कुर्न सकिएन।’

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नुअघि विमानस्थलको टर्मिनल मै भेटिए। केही समयअघि बिदा लिएर  घर आएका चौबेले दशैंमा आफैँ मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादैथिए।अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडेर विदेश हिँडेका रहेछन्।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दशैंको अघिल्लो दिन नै परेछ। नेपालमा अध्ययन गरे पनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन्।

‘प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइनँ। अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु’, उनले भनिन्।

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौं तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दशैंको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे।

‘परिवारका सबै सदस्य सँगै बसेर दशैंको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन’, उनले भने।

महानवमीको दिन गाउँ तथा सहरमा दशैं मनाइरहँदा उनीहरू जस्ता हजारौंले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे। उनीहरूलाई बिदाइ गर्न विमानस्थलसम्म पुग्नेहरूका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो।

असोज २५, २०८१ शनिबार ०७:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।