डा. निर्मलाको उपचार अनुभव : तीन महिनासम्म लुटपुटिएका चार वर्षीय मिर्गौला पीडित बालकको मृत्युको खबर सुन्दा...

डा. निर्मलाको उपचार अनुभव : तीन महिनासम्म लुटपुटिएका चार वर्षीय मिर्गौला पीडित बालकको मृत्युको खबर सुन्दा...

डा. निर्मला रिमाल बाल रोग विशेषज्ञ हुन्। उनले कयौं बालबालिकालाई उपचार गरेर बचाएकी छन्। उनै बालरोग विशेषज्ञ डा. निर्मलाले चिकित्सकीय पेशाको शिलशिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेकी छन् :

000

मिर्गौला फेल भएका चार वर्षका बालकको मृत्युको खबर सुन्दा...
एक जना बालकको मृत्यु भएको घटना डा. निर्मला कहिल्यै भुल्न सक्दिनन्। घटना करिब तीन वर्षअघिको हो, जतिबेला उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल रोग विषयमा एमडी अध्ययन गरिरहेकी थिइन्।

पश्चिम नेपालको दुर्गम ठाउँका एक जना पुरुषले करिब चार वर्षका छोरालाई उपचारका लागि पाटन अस्पताल लगे। ती पुरुषले निजी अस्पतालमा उपचार गर्दा पैसा सकिएपछि रातको १२ बजेतिर पाटन अस्पताल लगेका रहेछन्। त्यतिबेला डा. निर्मला अस्पतालमा ड्युटीमा नै थिइन्।

डा. निर्मलाको टिमले पाटन अस्पतालमा पुर्याइएका ती बालकको स्वास्थ्य अवस्था हेर्यो। बालकलाई मिर्गौलाको समस्या थियो। ती बालकलाई तत्कालका लागि नियमित डायलाइसिस लगायतको औषधि उपचार र पछि मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने स्थिति थियो।

चिकित्सकको टिमले बालकलाई भर्ना गरेर डायलाइसिस लगायतको उपचार सेवा थाल्यो। डायलाइसिस निःशुल्क भए पनि केही औषधि भने अस्पताल बाहिरबाट किन्नुपर्ने थियो। त्यसैले डा. निर्मलाको टिमले ती बिरामी बालकका बुवालाई औषधि किनेर ल्याउन अनुरोध गर्यो। तर, ती बालकका बुवासँग न औषधि किन्ने पैसा थियो न त खाने पैसा नै।

पैसा नै नभएको थाहा पाएपछि डा. निर्मलाले नै ती पुरुषलाई छोराको उपचारका लागि औषधि किन्ने केही पैसा दिइन्। अनि उनले दिएको पैसाले ती बालकका बुवाले औषधि ल्याए। अस्पतालमा ती बालकको उपचार शुरू भयो। नियमित डायलाइसिस लगायतको औषधि उपचार भइनै रहेको थियो।

अस्पतालमा नभएको औषधि किन्नका लागि चिकित्सकको टिम मिलेर पैसा उठाएर ती  बालकको उपचारमा सहयोग गरिरहेको थियो। तिनै चिकित्सकहरूले दिएको आर्थिक सहयोगले ती बालकका बुवाले पनि भोक मेटाइरहेका थिए। अस्पतालमा उपचाररत ती बालक अस्पतालमा चिकित्सक, नर्स अनि स्वास्थ्यकर्मीहरूसँग खेल्थे अनि लुटपुटिइँदै रमाउँथे पनि।

नियमित डायलाइसिस तथा औषधि उपचार भइरहेका ती बालकको मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने थियो। उपचार गरिदिने टिमप्रति ती बालकका बुवा पनि खुशी नै थिए।

तर, तीन महिना औषधि उपचार गरेपछि भने ती बालकका बुवाले दुःखी हुँदै एक दिन डा. निर्मलालाई भनेछन्, ‘डाक्टरसाप मसँग केही छैन। अब चाहिँ म यहाँ छोराको उपचार गर्न सक्दिन, घर लिएर जान्छु।’

नियमित डायलाइसिस लगायत औषधि उपचार गर्नुपर्ने बालकलाई घर लान्छु भनेको सुन्दा डा. निर्मलाको मन खिन्न भयो। उनले सोचिन्- ‘यी बालक अस्पतालमा परिवारको सदस्य जस्तै भइसके। नियमित डायलाइसिसपछि मिर्गौला प्रत्यारोपण गरे यी बालक बाँच्छन्। नत्र मृत्यु निश्चित छ।’

ती बालकको डायलाइसिस लगायतको औषधि उपचार निरन्तर गर्नुपर्ने अनि मिर्गौला नै प्रत्यारोपण गर्नुपर्नेबारे चिकित्सकको टिमले बालकका बुवालाई सुझाव दिएको थियो। तर, बालकका बुवाले मिर्गौलाको समस्या भएका छोरालाई च्यापेर अस्पतालबाट घर गए।

केही समयपछि ती बालकका बुवालाई अस्पतालका कर्मचारीले फोन गरेर बालकको स्वास्थ्य अवस्थाको बारेमा सोधेछन्। तर, ती बालकका बुवाले छोराको मृत्यु भइसकेको खबर सुनाएछन्। अस्पतालबाट घर फर्किएको करिब एक महिनामा बालकको मृत्यु भएछ।

परिवारकै सदस्यजस्तै तीन महिनासम्म अस्पतालमा आफूसँग लुटपुटिँदै खेलेका ती चार वर्षे बालकको मृत्युको खबर सुन्दा डा. निर्मलाले मन थाम्न सकिनन्। उनलाई साह्रै दुःख लाग्यो। उनको मन भारी भयो। छाती गह्रौँ भयो। अनि आँखामा आँसु अडिएनन्। अहिले पनि ती बालकको अनुहार उनी झलझल सम्झन्छिन् उनी। 

२६ हप्ताको शिशुलाई आमाले नै एनआईसीयूमा नराख्ने भनेपछि...
त्यसैगरी कोरोना भाइरस संक्रमणको समयको एउटा घटना पनि डा. निर्मला कहिल्यै भुल्दिनन्। कोरोना संक्रमित महिलाले पाटन अस्पतालमा करिब २६ हप्ताको बच्चा जन्माएकी थिइन्। नवजात शिशुको तौल असाध्य कम थियो भने श्वासप्रश्वासमा समस्या भएकाले कृत्रिम श्वास दिइएको थियो।

आमाले चिकित्सकको टिमलाई ‘मेरो सात पटक बच्चा खेर गइसकेको छ’ भन्दै जसरी पनि बचाइदिन अनुरोध गरिरहेकी थिइन्। कोरोना भाइरसको त्यो जोखिमको समयमा चिकित्सकको टिमले पनि ती २६ हप्ताको नवजात शिशुलाई बचाउने हरदम प्रयास गर्यो। चिकित्सकको टिमले शिशुलाई ‘एनआईसीयू’मा राखेर उपचार गर्ने तयारी गरिरहेको थियो।

बोलेर धन्यवाद दिन नजाने पनि आफ्नो छोराको ज्यान बचाइदिने डा. निर्मला लगायत चिकित्सकको टिमप्रति साह्रै कृतज्ञ हुँदै ती बालकका बुवाले नमस्कार गरे। त्यो क्षण सम्झँदा अझै उनलाई आनन्द लाग्छ।

दुई/तीन महिना एनआईसीयूमा राखेर उपचार गर्नुपर्ने हुनसक्थ्यो। तर, बाँच्ने सम्भावना झिनो मात्रै देखिएकाले ती शिशुकी आमाले आफ्नो नवजात शिशुलाई माया मार्दै खर्चले धान्न गाह्रो छ भन्दै आईसीयू तथा भेन्टिलेटरमा नराख्ने निर्णयमा पुगिछन्।

त्यसरी निक्कै मेहनत गरेर ती शिशुलाई बचाउने प्रयास शुरू गर्दा पनि आमाले नै माया मारेर भेन्टिलेटरमा नराख्ने निर्णयमा पुगेको देख्दा डा. निर्मलालाई साह्रै दुःख लाग्यो। दुर्भाग्य, केही समयमा नै ती शिशुको मृत्यु समेत भयो। त्यो घटना सम्झँदा अझै उनको मन कटक्क हुन्छ।

स्वास्थ्य अवस्था जटिल बनेका बालकलाई बचाएको त्यो क्षण
त्यसैगरी एक जना बालकलाई उपचार गरी बचाएको प्रसङ्ग पनि डा. निर्मला कहिल्यै भुल्दिनन्। प्रसङ्ग करिब डेढ वर्षअघिको हो। जतिबेला उनी एमडी अध्ययन गरेबापत मोरङको विराटनगरस्थित कोशी अस्पतालमा छात्रवृत्ति करारमा काम गरिरहेकी थिइन्।

एक जना तराई मूलका पुरुषले करिब ६ वर्षका छोरो लिएर कोशी अस्पताल पुगे। डा. निर्मलाले ती बालकको स्वास्थ्य जाँच गरिन्। छ वर्षका ती बालकको तौल करिब दश किलो मात्रै थियो।

कुपोषित समेत भएका ती बालकलाई ज्वरो आउने लगायतको स्वास्थ्य समस्या थियो। बालकको स्वास्थ्य अवस्था जटिल बनिसकेकाले ‘पीआइसियु (पेडियाट्रिक आइसीयू)’मा नै राखेर उपचार गर्नुपर्ने थियो। तर, अस्पतालमा ‘पीआयसियु’ थिएन। त्यसैले अन्यत्र लान रेफर गर्दा ती पुरुषले आफूसँग पैसा नभएको भन्दै अन्त लगेर उपचार गर्न नसक्ने बताए। 

ती पुरुषले जस्तो उपचार हुने भए पनि कोशी अस्पतालमा नै छोराको उपचार गरिदिन अनुरोध गरेछन्। त्यसैले चिकित्सकको टिमले कोशी अस्पतालमा नै भर्ना गरेर ती बालकको उपचार गर्ने निर्णय गर्यो। बालकलाई अस्पतालमा भर्ना गरेर उपचार थालियो। 

स्वास्थ्य परीक्षण गर्दा बालकमा टीबी, मलेरिया जस्ता समस्याको लक्षण देखिन्थ्यो। फोक्सोमा पानी जमेको थियो। बालकमा धेरै किसिमको समस्या देखिए पनि एकीनका साथ कारण पत्ता लाग्न सकेन। त्यसपछि टीबीको औषधि चलाइयो।

उपचार शुरू गरेपछि बालक हिँडडुल गरिहाल्न सक्ने अवस्थामा नदेखिए पनि स्वास्थ्यमा केही सुधारको संकेत देखियो। त्यसैले करिब डेढ महिना अस्पतालमा औषधि उपचार गरेपछि ती बालकलाई डिस्चार्ज गरियो।

डिस्चार्ज गरेको एक हप्तामा छोरालाई लिएर ती पुरुष पुनः फलोअपका लागि अस्पताल पुगे। अस्पतालमा करिब डेढ महिना बस्दा हिँड्नै नसकेका ती बालक हिँडेरै अस्पतालको ओपिडीमा पुगे। बालक हिँडेरै अस्पताल पुगेको देख्दा डा. निर्मलालाई साह्रै खुशी लाग्यो।

ती बालकको ज्यान बाँचेकोमा उनलाई साह्रै आनन्द लाग्यो। त्यसपछि फेरि दुई हप्तामा ती बालकलाई दोस्रो पटक फलोअपमा बोलाइयो। दोस्रो पटकमा त ती बालकको तौल समेत बढ्न थालिसकेको थियो। टीबीको औषधि सेवनपछि ती बालकको स्वास्थ्यमा दिन दिनै सुधार हुँदै गयो।

बोलेर धन्यवाद दिन नजाने पनि आफ्नो छोराको ज्यान बचाइदिने डा. निर्मला लगायत चिकित्सकको टिमप्रति साह्रै कृतज्ञ हुँदै ती बालकका बुवाले नमस्कार गरे। त्यो क्षण सम्झँदा अझै उनलाई आनन्द लाग्छ।

बुवाआमा कृषक, छात्रवृत्तिमा डाक्टरी पढाइ
निर्मला नुवाकोटको साबिकको खड्गभन्ज्याङ-२, मझुवा (हालको तारकेश्वर गाउँपालिका)मा २०४७ जन्मिएकी हुन्।

सामान्य किसान परिवारमा जन्मिएकी उनले पाँच कक्षासम्म स्थानीय बागेश्वरी प्राथमिक विद्यालयमा पढिन्। अहिले पनि बुवाआमा कृषि पेशामै भएको उनले सुनाइन्। पाँच कक्षापछि भने उनी अध्ययनका लागि काठमाडौं आइन्।

काठमाडौंको नेपालटारस्थित ‘नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय’मा कक्षा ६ मा भर्ना भएर पढ्न थालिन्। निर्मलाले त्यही सरकारी विद्यालयबाट २०६३ मा एसएलसी गरिन् र बानेश्वरको नोबेल कलेजबाट प्लस टु उत्तीर्ण गरिन्।

निर्मलालाई डाक्टर बन्ने ठूलो सपना थियो। त्यसैले उनले एमबीबीएस अध्ययनका लागि छनोट परीक्षाको तयारी गरिन्। छनोट परीक्षा पनि दिइन्। उनको पक्षमा नतिजा मात्रै आएन, अध्ययनमा अब्बल निर्मलाले सरकारी छात्रवृत्ति कोटामा नै एमबीबीए अध्ययन गर्ने मौका पाइन्।

वयस्क व्यक्तिले जस्तो साना बालबालिकाले आफ्नो समस्या बताउन नसक्ने भएकाले उनीहरूको स्वास्थ्य समस्या पत्ता लगाउन चुनौती हुने डा. निर्मलाको अनुभव छ।

उनी काठमाडौं विश्वविद्यालय अन्तर्गत मोरङको विराटनगरस्थित ‘नोवेल मेडिकल कलेज’मा सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि सन् २०१० मा भर्ना भइन्। सन् २०१६ मा निर्मलाले एमबीबीएस अध्ययन पूरा गरिन्।

त्यसपछि सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेबापत उनले दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले डा. निर्मलाले नुवाकोटको त्रिशुली अस्पतालमा दुई वर्ष छात्रवृत्ति करारमा काम गरिन्।

डा. निर्मलालाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले छात्रवृत्ति करारमा दुई वर्ष काम गरेपछि उनले सन् २०१८ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको बाल रोग (पेडियाट्रिक) विषयमा एमडी अधययन शुरू गरिन्। सन् २०२१ मा उनको तीन वर्षे एमडी अध्ययन पूरा भयो। उनले एमडी पनि सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गरिन्।

त्यसको पनि दुई वर्ष करारमा काम गर्नुपर्ने भएकाले उनी मोरङको विराटनगरस्थित कोशी अस्पताल पुगेर करिब १६ महिना काम गरिन्। त्यसपछि उनले बाँकी आठ महिना कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिन्।

दुई वर्षे छात्रवृत्ति करारको काम सकिएपछि डा. निर्मला पोखराकै ‘मातृशिशु मितेरी अस्पताल’मा करार जागिरेका रूपमा काम गर्न थालिन्। उनी ६ महिनायता यही प्रादेशिक अस्पतालमा बाल रोग विशेषज्ञका रूपमा कार्यरत छिन्। एमडी अध्ययनपछि डा. निर्मलाले चिकित्सक नै रहेका डा.सन्दिप गुरागाईँसँग लगनगाँठो कसिन्। उनीहरूको अहिले २० महिनाको छोरा छन्।

०००

वयस्क व्यक्तिले जस्तो साना बालबालिकाले आफ्नो समस्या बताउन सक्दैनन्। त्यसैले बालबालिकामा भएको स्वास्थ्य समस्या बुझ्नका लागि धैर्यता आवश्यक हुन्छ नै। वयस्कको तुलनामा साना बालबालिकाको स्वास्थ्य समस्या पत्ता लगाउन चुनौती पनि हुने डा. निर्मलाको अनुभव छ।

अबोध बालबालिकाको स्वास्थ्य समस्या धैर्यता नगुमाई चिकित्सकले आफैँ पत्ता लगाउनुपर्ने हुन्छ। बालबालिकासँग घुलमिल हुन मन पराउने डा. निर्मलाले पनि ‘आफूमा धैर्यता छ र बालबालिकाको समस्या बुझ्न सक्छु होला’ भन्ने सोचेर नै एमडी अध्ययनमा उनले बालरोग विषय रोजेकी रहिछन्।

आफूले गरेको उपचार सफल नहुँदा उनलाई दुःख नलाग्ने कुरै भएन। कतिपय बच्चा जन्मिने बित्तिकै रुँदैनन्। जन्मिने बित्तिकै नरुहेका बच्चालाई एक मिनेट पनि उपचार गर्न ढिला भएको खण्डमा भविष्यमा त्यस्ता बच्चामा विभिन्न स्वास्थ्य समस्या निम्तिने जोखिम हुने उनले सुनाइन्। यस्तो अवस्थामा बालरोग विशेषज्ञ निक्कै चनाखो हुनुपर्ने डा. निर्मला बताउँछिन्।

असोज २६, २०८१ शनिबार १३:५२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।