जेनेभा उड्यो राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली

जेनेभा उड्यो राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को १४९औं महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ।

महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ।

असोज २७ देखि कातिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सांसदहरु सुनिता बराल र निशा डाँगी छन्।

प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत छन्।

अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कातिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ।

असोज २५, २०८१ शनिबार ०७:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।