काभा पुरूष भलिबल : तुर्कमिनेस्तानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

काभा पुरूष भलिबल : तुर्कमिनेस्तानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

काठमाडौं : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरूष यू-२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३-० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। आजको खेलमा नेपालले पहिलो सेट २५-१४, दोस्रो सेट २५-२१ र अन्तिम सेट २५-२० अङ्कले जितेको हो।

जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ। यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३-० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटमा हार बेहोरेको थियो।

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ। उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३-० तथा श्रीलङ्कालाई ३-१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो। 

शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ।  

असोज २४, २०८१ शुक्रबार २२:३६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।