सन्दीपलाई अमेरिकाले किन भिसा दिँदैन ?

सन्दीपलाई अमेरिकाले किन भिसा दिँदैन ?

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्यहरू आइसिसी क्रिकेट वर्ड कप लिग-२ का श्रृंखंलाका खेल खेल्न अमेरिका जाँदा टोलीका सदस्य सन्दीप लामिछाने भने नेपाल फर्किए।

लामिछानेले पनि अमेरिका जाने प्रयास गरेका थिए। तर उनले अमेरिका जान नेपालस्थित अमेरिकी दूतावासमा भिसाका लागि दिएको आवेदन स्वीकार भएन । भिसा नलागेपछि उनी क्यानडाबाट नेपाल फर्किएका हुन्।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई अमेरिकाले यस अगाडि पनि भिसा दिएको थिएन। मुद्दा जारी रहेको अवस्थामा उनको आवेदन अस्वीकृत भएको थियो।

जिल्ला अदालतबाट दोषी ठहरिएका लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार अभियोगबाट सफाइ दियो। उच्च अदालतबाट आएको सफाइको फैसला त्रुटिपूर्ण देखिए पनि महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा फैसलाको पुनरावलोकन नगर्ने निर्णय गरिसकेको छ।

महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध पीडित आफैँ पुनरावेदनमा जान सक्ने भए पनि यस अगाडि नै पीडितले उच्च सरकारी वकिलको कार्यालयमा आफ्नो मुद्दामा पुनरावेदन नगर्न निवेदन दिएकी थिइन्। तै पनि लामिछानेलाई अमेरिकाले भिसा दिएन।

किन सन्दीपले भिसा पाइरहेका छैनन् ?

भिसा अस्वीकार किन गरेको भन्नेबारे दूतावासले खुलाउने गरेको छैन। तर नाबालिग बलात्कारको अभियोग लाग्नु अगाडि सहजै उनले भिसा पाउने गरेको र यही आरोपपछि पटक पटक भिसाको आवेदन अस्वीकृत भएकाले कारण नाबालिग बलात्कारको आरोपसँगै सन्दीपको व्यवहार देखिन्छ।

सन्दीपमाथि नाबालिग बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता हुँदा उनी नेपालमा थिएनन्। विदेशमा रहेका उनले जाहेरी दर्ता भएकाले नेपाल फर्किने बताएका थिए।

उनी आबद्ध क्लबले समेत उनीसँगको अनुबन्ध खारेज गरेपछि उनी नेपाल फर्किने भन्दै हिँडे तर नेपाल फर्किएनन्। उनी एकाएक सम्पर्कहीन भएपछि खोजीकाक्रममा अमेरिकामा गएर बसेको खुल्यो। अनि नेपाल प्रहरीले इन्टरपोल मार्फत उनको नाममा डिफ्युजन नोटिस जारी गरेपछि मात्र दबाबमा लामिछाने नेपाल फर्किएका थिए।

उनले एक पटक अमेरिकाको भिसाको दुरुपयोग गरेर गम्भीर अपराधको अनुसन्धानबाट जोगिन अमेरिकी भूमिको प्रयोग गरेकाले समेत उनको भिसा आवेदन पटक-पटक अस्वीकृत भएको हुनसक्ने देखिन्छ।

असोज २४, २०८१ शुक्रबार १९:४०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।