यक्ष र मोक्षको आशमा बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

यक्ष र मोक्षको आशमा बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

खजुरा (बाँके) : भक्तजनले यक्ष र मोक्ष पाउने आशामा प्रसिद्ध शक्तिपीठ नेपालगन्जको बागेश्वरी मन्दिरमा जिब्रो छेडेका छन्।    

बडादशैँको घटस्थापनादेखि निराहार व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि रहेको बागेश्वरी मन्दिरका मुलपुरोहित महन्त चन्द्रनाथ योगीले बताए।

केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो काटेर चढाउने गरिए पनि अहिले जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको उनले बताए । महन्त योगीले देवीको मन्दिरमा पशुबली चढाउने परम्परा रहेको र केही भक्तजनले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको बताए।

उनका अनुसार नवरात्रको व्रत बसेका व्रतालु पुरुषले नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशूल) छेड्ने गर्छन्। हरेक वर्ष एक सयभन्दा बढी भक्तजनले जिब्रो छेड्ने गरेका छन्।    
    
मन्दिरमा बडा दशैँ र चैतेदशैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ। निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ।

असोज २५, २०८१ शुक्रबार १८:३१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।