प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेपछि सञ्चालनमा आएको बीपी राजमार्गमा सुक्खा पहिरो गयो, सडक फेरि अवरूद्ध

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेपछि सञ्चालनमा आएको बीपी राजमार्गमा सुक्खा पहिरो गयो, सडक फेरि अवरूद्ध

काठमाडौं : बाढी-पहिरोले क्षतिग्रस्त भई अवरूद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने भनिए पनि सुक्खा पहिरो खसेपछि फेरि अवरूद्ध भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत बीपी राजमार्ग शुक्रबार (आज)देखि सञ्चालनमा आउने जानकारी गराएका थिए। तर, राजमार्गको रोशी गाउँपालिका-११ बुलढुङ्गामा सुक्खा पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

राजमार्ग आज बिहानबाट एकतर्फी सुचारू भएकोमा फेरि अबरूद्ध भएको छ।

यस्तै, सुक्खा पहिरोले बाटो खुलाउन प्रयोग गरिएको एउटा जेसीबीमा पनि क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ। 

त्यस्तै, खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको जनाएको छ।

काभ्रे प्रहरीले एक सूचना जारी गर्दै राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गापा–११ पिप्लेस्थित बीपी राजमार्गमा फेरि सुक्खा पहिरो झरिरहेकोले तत्काल दुईतर्फी सडक अवरोध भएकाले यात्रा नगर्न अनुरोध गरेको छ।

असोज ११ देखिको बाढी-पहिरोले काठमाडौं उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको राजमार्ग अवरूद्ध भएको थियो। बाढी-पहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो।

असोज २४, २०८१ शुक्रबार १६:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।