बाढीले अलपत्र परेको एमालेलाई मीनबहादुरले गरे उद्धार, पार्टी भवन बनाउन साढे १० रोपनी जग्गा दान

बाढीले अलपत्र परेको एमालेलाई मीनबहादुरले गरे उद्धार, पार्टी भवन बनाउन साढे १० रोपनी जग्गा दान

काठमाडौँ : भूकम्पमा बल्खुको भवन भग्नावशेष भएर कार्यालयहीन भएको एमाले ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा भाडामा सर्यो। च्यासलको भवनमा बाढीले हरेक वर्ष दुख दिँदा अलपत्र पर्दै आएको एमालेको उद्धार गरेका छन् भाटभटेनीका व्यवसायी मीनबहादुर गुरुङले।

हालै आएको बाढीबाट कार्यालयमा पसेको बाढीले पार्टीका अधिकांश दस्ताबेज अनि सामानहरू नष्ट भएपछि नयाँ कार्यालय बनाउने कस्सिएको एमालेलाई गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान दिए।

त्यहीँ शुक्रवार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै उभिएर गुरुङले एमाले कार्यालयको भवनको शिलान्यास गरे। पार्टी महासचिव शङ्कर पोखरेलका अनुसार अत्याधुनिक पार्टी भवन बनाउन लाग्ने खर्चबारे एकिन भइसकेको छैन।  भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा छ। 

एमालेलाई जग्गा दान दिएकोबारे पत्रकारको प्रश्नमा व्यवसायी गुरुङले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तर आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु अवसर भएको बताएका थिए।

गुरुङले सो जग्गामा एक वर्षभित्र भवन बनाएर आगामी घटस्थापनाकै दिन हस्तान्तरण गर्ने बताए।

सामाजिक कामहरूका दान दिइराख्ने गुरुङले औपचारिक रूपमा कुनै पार्टीलाई यति ठुलो रकमको दान दिएको यो पहिलो पटक हो। मीनबहादुरले यस अगाडि टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षका लागि भवन बनाएका थिए।

असोज २४, २०८१ शुक्रबार १४:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।