बाढी-पहिरोले अस्तव्यस्त काभ्रेका स्थानीय दशैँमा त्रिपाल कुर्दैछन्, मरेका पशु व्यवस्थापन नहुँदा गाउँभरि दुर्गन्ध

बाढी-पहिरोले अस्तव्यस्त काभ्रेका स्थानीय दशैँमा त्रिपाल कुर्दैछन्, मरेका पशु व्यवस्थापन नहुँदा गाउँभरि दुर्गन्ध

काभ्रे : गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलान्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो। जिल्लामा १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७७ जनाले ज्यान गुमाए।

मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा रामेछापको एक महिलाको मृत्यु भएको थियो। घटनामा हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ।

यस पटकको बाढी, पहिरोबाट काभ्रेपलान्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बने। बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।    

जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्याङ्क सार्वजनिक अझै हुन सकेको छैन।

सडक, विद्युत् र सञ्चार सम्पर्क हुन नसकेका कारण जिल्लाका प्रभावितको क्षतिको विवरण प्राप्त हुन नसकेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। उनका अनुसार भौतिक संरचना, कृषि तथा पशुपंक्षीको यकिन क्षति विवरण आउन अझै केही दिन लाग्नेछ।    

प्रारम्भिक तथ्याङ्कअनुसार समितिले पनौती एक हजार पाँच सय, रोशीमा छ सय, बेथानचोकमा एक हजार, मण्डनदेउपुरमा पाँच सय, नमोबुद्धमा तीन सय, धुलिखेलमा एक सय, बनेपा एक सय, पाँचखालमा एक सय, तेमालमा तीन सय, चौंरीदेउरालीमा एक सय, भुम्लुमा एक सय, महाभारतमा एक सय र खानीखोलामा एक सय गरी चार हजार नौ सय त्रिपाल, नौ हजार आठ सय म्याट र सोही सङ्ख्यामा ब्ल्याङ्केट उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ। बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहलेसमेत राहत रकम घोषणा गरेका छन्।

प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा छन्। सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेका स्थानीय तहमध्ये काभ्रेपलान्चोकका आठ तह हुन्। घोषित तह रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबुद्ध, मण्डनदेउपुर, चौंरीदेउराली र महाभारत गाउँपालिका रहेका छन्।

जिल्लाका प्रभावित केही स्थानमा स्थानीय बेपत्ता अवस्थामै रहेका छन्। यसकारण मृतकको सङ्ख्या बढ्ने सम्भावना देखिन्छ। जिल्लामा ७५ जनाको निधन भएकोमा प्रहरीले मुचुल्का प्राप्त गर्न नसक्दा मृतकमा सूचीकृत गर्न सकिएको छैन।

सरकारले दिने भनेको मृतक प्रतिव्यक्तिको परिवारलाई दुई लाखका दरले नगद उपलब्ध गराउने काम भइरहेको छ। पहिलो चरणमा ५५ जनालाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालयको टोली घर घर पुग्न थालेको छ।

पहिलो चरणमा पनौती, मण्डनदेउपुर, नमोबुद्ध, बेथान्चोक र रोशी गाउँपालिकाका ५५ परिवारलाई रु दुई लाखका दरले राहत उपलब्ध गराउन सुरु गरिएको ढकालले बताए।

यस्तै विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई प्रतिपरिवार पाँच जनासम्म सदस्य भएमा १५ हजार र बढी भएमा २० हजारका दरले नगद सहायता उपलब्ध गराउने भएको छ।

यसका लागि स्थानीयको सूची सङ्कलनका लागि स्थानीयले प्रक्रिया अघि बढाएको छ। हालसम्म समितिलाई प्राप्त विवरणअनुसार पनौती–१२ मा करिब सात सय परिवार घरबारविहीन, १ नं वडामा ४० परिवार घरबारविहीन भएका छन् भने एक सय घर भत्किएका छन्। वडा नं २ मा ५२ घर, वडा नं ३ मा २५ घर पूर्णरुपमा क्षति भएका छन्। यस्तै वडा नं ११ मा तीन सय ३७ घर भत्किएको जनाइएको छ।    

समितिले तत्काल बेथान्चोक, चौंरीदेउराली र रोशी गाउँपालिकालाई चार थान पाल उपलब्ध गराई स्वास्थ्य सेवा सुचारु गरेको छ। पूर्वाधार, खाद्य कृषि तथा पशुपक्षी, आश्रयस्थल, स्वास्थ्य, शिक्षा, बजार अनुगमन, खानेपानी सरसफाइ तथा स्वच्छन्दता, सामाजिक संरक्षण र वातावरण तथा पोषणका लागि सरोकारवाला कार्यालयहरूको संयोजकत्वमा जिम्मेवारी दिएको समितिले जनाएको छ।    

मरेका पशुले गाउँ नै दुर्गन्धित

जिल्लामा बाढी पहिरोबाट करिब चार हजार पशुपन्छी मरेको अनुमान गरिएको छ। सबैभन्दा धेरै पनौती नगरमा दुई हजार सय सय पशुपन्छी मरेका छन् ।जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख डा निशान्त शर्मा गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट प्रारम्भिक तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ। सञ्चार सम्पर्क नभएका कारण यकिन तथ्याङ्क आउन केही दिन लाग्ने भएकाले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरी खोज, उद्धार तथा उपचार र राहतका कार्यक्रम सुरु गरिएको गेलालले बताए।

उनका अनुसार मरेका पशुहरुको व्यवस्थापन, घाइते पशुको उपचार तथा आहारका लागि स्थानीय तहमार्फत सहयोग उपलब्ध गराइएको छ। स्थानीय सडकमार्ग सञ्चालन लगत्तै प्रभावित तहमा सहयोग उपलब्ध गराइने गेलालले बताए।

जिल्लाको रोशी, चौँरीदेउराली, महाभारत, खानीखोलालगायतका तहमा भएको क्षतिको विवरण नै प्राप्त भएको छैन। प्राप्त जानकारीअनुसार धुलिखेलमा दुई सय ९१, बनेपामा ६९, नमोबुद्धमा १२, मण्डनदेउपुरमा तीन, पनौतीमा दुई हजार एक सय, पाँचखालमा चार सय ४०, बेथानचोकमा ८०, भुम्लुमा नौ सय ८७ र तेमालमा २५ वटा पशुपन्छी मरेको कार्यालयले जनायो।

यसमध्ये ५२ वटा गाई, ४० वटा भैँसी, एक सय ६४ वटा बाख्रा, एक सय १३ वटा बङ्गुर, एक हजार एक सय २९ कुखुरा, चार सय चार वटा हाँस, पाँच वटा खरायो गरी चार हजार सात वटा पशुपन्छी मरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको हो। मरेका पशुको उचित व्यवस्थापन हुन नसक्दा गाउँभर दुर्गन्ध फैलन थालेको स्थानीय बताउँछन्।    
    
९२ विद्यालयमा क्षति

बाढी, पहिरोले काभ्रेपलान्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ। अविरल वर्षाका कारण बाढी, पहिरो आएदेखि विद्यालय पूर्णरुपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म विद्यालय नै बन्द रहने क्षतिग्रस्त विद्यालय सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन्।    
    
एकाइ प्रमुख देवकी ढकालका अनुसार बाढी, पहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा २८, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालयमा क्षति पुगेको छ।

उनका अनुसार बाढी, पहिरोबाट सबैभन्दा धेरै विद्यालयमा क्षति पुगेको स्थानीय तह रोशी, पनौती र बेथानचोक हुन्। एकाइका अनुसार बाढी, पहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेल नगरमा एक विद्यार्थीको मृत्यु भएको छ।

बाढी, पहिरोले क्षति पुर्याएको जिल्लाको दुई स्थानीय तह नमोबुद्ध नगर र महाभारत गाउँपालिकाको विद्यालयमा पुगेको क्षति विवरण आइपुगेको छैन।  

-राजकुमार पराजुली/रासस 

असोज २४, २०८१ शुक्रबार १३:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।