बाढीले हैरान बनाएपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालयका लागि नयाँ भवन बनाउने

बाढीले हैरान बनाएपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालयका लागि नयाँ भवन बनाउने

काठमाडौं : ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पटक-पटक डुबानमा परेपछि एमालेले नयाँ पार्टी कार्यालय निर्माण गर्ने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका-१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका नौ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो।

शुक्रबार कीर्तिपुर नगरपालिका-२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने उनले बताए।

एमालेले काठमाडौं कलंकी-तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बनाउन लागेको हो।

२०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको हो। त्यहाँ पनि बाढी र डुबानले दःख दिएपछि नयाँ विकल्प खोजिएको छ।

एमालेका आठ लाख बढी पार्टी सदस्यहरू छन्। भवन निर्माणका लागि भवन निर्माण कोष बनाएर बैंकमा अलग्गै खाता खोलिएको थियो। प्रत्येक पार्टी सदस्यबाट सय रूपैयाँका दरले रकम पनि उठाइएको थियो।

गत वैशाख ८ देखि १० गतेसम्म गोदावरीमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा समेत पार्टी कार्यालय भवन निर्माणका लागि रकम संकलन अभियान सञ्चालन गरिएको थियो।

असोज २४, २०८१ शुक्रबार ०९:४६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।