‘नगर-पंक्षी’ घोषणा गरिएकै लुम्बिनीमा सुरक्षित छैनन् सारस

‘नगर-पंक्षी’ घोषणा गरिएकै लुम्बिनीमा सुरक्षित छैनन् सारस

बुटवल : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगर-पंक्षी घोषणा गरे पनि यसको संरक्षणमा खासै चासो दिएको छैन। नगरपालिकाले ०७५ मंसिर १० मंसिरमा सारसलाई नगर-पंक्षी घोषणा गरेको थियो।

तत्कालीन नगरप्रमुख मनमोहन चौधरीले बुद्ध र सारसबीच विशेष सम्बन्ध रहेको र त्यसै कारण पनि दुर्लभ सारसलाई नगर-पंक्षी घोषणा गरेको बताएका थिए।

तर, नगर-पंक्षी संरक्षित क्षेत्रमै सारस असुरक्षित छन्। लुम्बिनी नगरपालिकाभित्र प्रशस्त सिमसार क्षेत्र छ। उक्त सिमसार क्षेत्र सारसको बासस्थानका लागि उपयुक्त मानिन्छ। अहिले पनि लुम्बिनी सांस्कृतिक नगरपालिका भित्रका खेतमा सारस देख्न सकिन्छ।

लुम्बिनीलाई पंक्षी आर्कषण केन्द्रको रूपमा विकास गर्ने योजना नगरपालिकाले बनाए पनि पंक्षीको संरक्षणमा खासै कामै गरेको छैन। अहिले नगरभित्र धेरै सारसहरूले विद्युतीय तारका कारण ज्यान गुमाइरहेको छन्।

त्यस बाहेक सर्प, किराफट्याङग्रा खाने सारसलाई खेतबारीमा हुने विषादीको प्रयोगले पनि प्रतिकूल असर पारेको छ। तर, नगरपालिकाले यसको समाधानमा चासो नै दिएको छैन।

सारस संरक्षणकै क्रममा नगरपालिकाले वडा नम्बर १२ मा सारस पार्क बनाउने घोषणा गरे पनि उक्त पार्कको काम शुरू नै भएको छैन। यद्यपि नगरपालिकाका वर्तमान नगरप्रमुख सजरुद्दिन मुसलमानले सारस पार्कको विषयमा जानकारी नभएको बताए।

‘पार्क बनाउने बारे केही थाहा छैन। हामीले सारसबारे छुट्टै योजना बनाएका छैनौ। मात्र हामीले यसलाई मार्न हुँदैन भनेर जनता सामु चेतना फैलाउने काम गरेका छौँ’, उनले भने।

त्यसो त अहिले सारस र सारसको बासस्थान जोगाउन चुनौती बन्दै गएको छ। सिमसार क्षेत्र अतिक्रमण हुँदै जाने साथै धानखेतमा पनि पूर्वाधार निर्माणका काम बढी हुँदा सारस जोगाउन चुनौती बन्दै गएको हो। त्यति मात्र होइन, मानवीय कारणले पनि सारसले ओथारो बसेकै अवस्थामा समेत थलो छाड्नुपरेको पक्षी विज्ञ हेमसागर बरालले बताए।

‘सिमसार भन्दा बढी अहिले धान खेतको आलीमा गुड बनाएर सारसले फुल पार्ने तथा ओथारो बस्ने गरेको छ। यस्तो अवस्थामा कुकुर, न्याउरी मुसा, बँदेलका कारण पनि सारसले ओथारो छाडेर भाग्नुपर्ने अवस्था छ’, उनले थपे।

सारस लुम्बिनी क्षेत्र तथा नेपालको होचो इलाकामा सदियौं अघिदेखि पाइने चरा हो। ठूलो शरीर र तौलका कारण सारस ४०/५० फिटमाथिको हाराहारीमा मात्रै उड्छ। खेतको बीचमा पोल राखेर लगिएका विद्युत्का तार नजिक भएकाले कतिपय अवस्थामा करेन्ट लागेर सारसको ज्यान जाने गरेको छ।

‘नाङ्गो तार मात्र होइन, साधारण तारको जोखिम पनि सारसलाई उत्तिकै छ। अझै सित लहर चलेको बेला त्यसको जोखिम झन् बढी हुन्छ। यदि सारस संरक्षण गर्ने हो भने तार व्यवस्थापन गर्नुको विकल्प छैन’, चराविद् बरालले भने।

प्राणीशास्त्रीय दृष्टिले सिद्धार्थ गौतमको पालाभन्दा अघिदेखि हालको लुम्बिनी क्षेत्रमा सारस पाइने विज्ञहरू बताउँछन्। सारसलाई शुभको संकेत समेत मानिन्छ। जोडी सारसलाई देख्नु दीर्घ र सौहार्द दाम्पत्यको आशिक पाए सरह मान्ने विश्वास छ।

‘बुद्धको जीवनसँग जोडिएको र शुभ समेत मानिने लोपोन्मुख सारसको बासस्थान जोगाउने चुनौती बढिरहेको छ। जति प्रयास भएका छन्, त्यतिले मात्र सारस संरक्षण हुन सक्दैन’, बराल बताउँछन्।

नेपालमा सारसको मुख्य वासस्थान लुम्बिनी क्षेत्रका रुपन्देही र कपिलवस्तु हुन्। यी दुई जिल्लामा कुल सारसको ८० प्रतिशत सारस पाइन्छ। हाल नेपालमा लगभग पाँच सय सारस भएको अनुमान छ।

लुम्बिनी क्षेत्र विकास कोषले ‘इन्टरनेशनल क्रेन फाउन्डेसन’ को सहयोगमा लुम्बिनी क्षेत्रमा सारसको वासस्थान सुधारको कार्यक्रमलाई सन् १९९४ देखि अघि बढाउँदै आएको छ। कोषले सारस संरक्षणका लागि ‘लुम्बिनी क्रेन सेन्चुरी’ बनाएको छ।

चराविद् बरालले क्रेन सेन्चुरी क्षेत्र नजिकै अहिले ड्रागन फुडको खेती गर्न दिइएको भन्दै तत्काल त्यसलाई रोकी बासस्थानको क्षेत्र बढाउनुपर्ने बताए। शान्ति स्तुपाको उत्तर तर्फको भागलाई अझ बासस्थानको रूपमा विस्तार गर्नुपर्ने उनको भनाइ छ।

त्यहाँ सारसकै संरक्षणका लागि कृत्रिम ताल समेत बनाइएको छ। अहिले त्यही ताल क्षेत्रमा २/३ जोडी सारसले बच्चा कोरल्ने गरेका छन्।

‘त्यहाँ अहिले २/३ वटा सारसले बच्चा कोरल्दै छन् भन्दैमा सारस संरक्षण भन्न मिल्दैन। त्यो क्षेत्रमा कम्तीमा १५/२० जोडी सारसले बच्चा कोरल्ने गरेमा मात्र यसको संरक्षणको प्रयास सार्थक हुन्छ। त्यसका लागि सारस मैत्री वातावरण पनि बनाउनु पर्छ’, उनले भने।

संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, आइयूसीयनको जोखिम सूची र राष्ट्रिय जोखिम सूचीमा सारस संवेदनशीलको वर्गमा वर्गीकृत छ। वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार नेपालमा संरक्षित नौ चरा प्रजातिमध्ये सारस पनि पर्छ। चराविद् बराल सारसलाई लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश पंक्षी’ घोषणा गरी संरक्षण गर्नुपर्ने बताए।

सारसले डेढदेखि तीन मिटरसम्म ठाउँ ओगटेर गुड बनाउँछ। सामान्यतया यसले दुई वटा अण्डा पार्छ। बच्चा कोरल्न निश्चित तापक्रम चाहिने हुँदा भाले र पोथी दुवै मिलेर ओथारो बस्छन्।

सारसले जेठ र असारमा ओथारो बस्ने ठाउँ खोज्छ। साउन मध्यमा भाले लागेर अण्डा पार्छ। भदौ तेस्रो साता बच्चा हुर्काउँछ। बच्चा हुर्काउन ३१ देखि ३५ दिन लाग्छ।

सारस जोगाउन के गर्ने ?
आदिमकालदेखि अस्तित्वमा रहेको सारस लोपोन्मुख हुँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी रहेको चराविद् बताउँछन्।

चराविद् कृष्ण भुसालले कृषि उत्पादनमा हुने कटनासक विषादीको प्रयोग र जलक्षेत्रको अव्यवस्थित तथा अत्याधिक उपभोगका कारण सिमसार मासिदै जाँदा सारस संरक्षण चुनौती बन्दै गएको बताए।

‘पूर्वाधार निर्माण, सडक, शहरीकरणले गर्दा सारसको बासस्थान खण्डीकरण भएको छ। सारस जोगाउन मानविय सिर्जित गतिविधि कम गर्न चेतना जगाउनु पर्छ’, उनले भने।

अर्का चराविद् बरालले सबैभन्दा बढी जनमानसमा चेतना जगाउनुपर्नेमा जोड दिए।

‘सारसको बासस्थान हराउँदै जानुको मुख्य कारण हाम्रा मानवीय गतिविधि हुन्। त्यसैले सारस के हो? किन सारसलाई लखेट्नु हुँदैन भनेर चेतना जगाउनुपर्छ। तब मात्र यसको संरक्षण हुन्छ’, उनले भने।

पछिल्लो समय सारस स्थानान्तरण हुँदे गएको अध्ययनले देखाएको छ। अहिले नवलपरासी क्षेत्रमा निकै कम मात्रामा सारस देखिने गरेको चराविद् हेमसागर बरालले बताए।

‘भैरहवा-परासी क्षेत्रमा कोरिडोर बनेपछि सारसहरू रुपन्देही र कपिलबस्तुको स्थानान्तरण गरेको देखिएको छ’, उनले भने।

स्थिर छ सारसको संख्या
हिमालय प्रकृतिले पछिल्लो समय सारसको गणना गरिरहेको छ। सन् २०२० देखि २०२२ सम्मको गरेको गणना अनुसार सारसको संख्या स्थिर रहेको छ।

सिजन ज्ञवाली, सन्जीव आचार्य र धिरज चौधरीको टोलीले गरेको सन् २०२० को गणना अनुसार रुपन्देही र कपिलबस्तुमा ४०४ सारस फेला परेका थिए। त्यस्तै बाँकेमा ४, बर्दियामा २, कञ्चनपुरमा ४ र नवलपरासीमा २५ वटा फेला परेका थिए।

यसैगरी सन् २०२१ म रुपन्देही र कपिलबस्तुमा ३९४, बाँके र बर्दियामा ६/६, कञ्चनपुरमा ४ र नवलपरासीमा २२ वटा फेला परेका थिए।

सन् २०२२ मा रुपन्देही र कपिलबस्तुमा ३५४, बाँकेमा ४, बर्दियामा २, कञ्चनपुरमा १० र नवलपरासीमा २८ वटा फेला परेका थिए। अनुसन्धानकर्ता सिजन ज्ञवालीले सारसको संख्या घटबढ जस्तो देखिए पनि स्थीर जस्तै रहेको बताए।

सारस र धर्मग्रन्थ
बौद्ध धर्मग्रन्थमा गौतम बुद्ध र सारसको प्रसङ्ग पाइन्छ। राजकुमार सिद्धार्थ गौतम (बुद्ध) र उनका मामाका छोरा देवदत्तबीच सारसको विषयलाई लिएर उत्पन्न विवाद राजा शुद्धोदनले समाधान गर्नु परेको विषय बौद्ध ग्रन्थमा उल्लेख छ।

धर्मग्रन्थका अनुसार शिकार खेल्न निस्केका देवदत्तले हानेको वाणबाट घाइते सारस सिद्धार्थ गौतम छेउ बजारिएको थियो। सिद्धार्थले छटपटाइरहेको सारसको शरीरबाट वाण झिकेर उपचार गरे। त्यही बेला आफूले घाइते बनाएको सारस खोज्दै देवदत्त आइपुगे र उक्त सारस आफूलाई दिन भने।

सिद्धार्थले घाइते सारसलाई आफूले बचाएकाले त्यसमाथि आफ्नो अधिकार रहेको भन्दै दिन मानेनन् भने देवदत्तले आफूले वाण हानेर खसालेको सारसमाथि दाबी प्रस्तुत गरिरहे। विवाद बढ्दै जाँदा उनीहरूलाई राजा शुद्धोधन समक्ष पुर्याइयो। शुद्धोधनले कुनै पनि जीवमाथि प्राण लिनेको भन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गरी विवाद टुङ्ग्याए।

वाल्मीकीकृत रामायणको आरम्भ पनि प्रणयरत सारस जोडीको वर्णनबाट शुरू भएको छ। नदी तटमा प्रणयरत सारस जोडी मध्ये भालेलाई शिकारीले मारेपछि वियोगमा छटपटाएको पोथी सारसले पनि आफ्नो प्राण त्याग गरेको र यो घटना देखेका ऋषिले शिकारीलाई श्राप दिएको घटनाको रामायणमा वर्णन छ।

असोज २४, २०८१ शुक्रबार ०८:१५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।