आज नवरात्रको नवौं दिन : आठौं र नवौं शक्ति क्रमश: महागौरी र सिद्धिदात्रीको उपासना गरिँदै

आज नवरात्रको नवौं दिन : आठौं र नवौं शक्ति क्रमश: महागौरी र सिद्धिदात्रीको उपासना गरिँदै

नवदुर्गाका नौ शक्तिमध्ये आज आठौं र नवौं शक्ति क्रमश: महागौरी र सिद्धिदात्रीको उपासना गरिन्छ।

गौरी शब्दको अर्थ गोरी भन्ने हुन्छ। गोरो वर्णकी महाशक्तिसम्पन्न देवी हुनाले यिनलाई महागौरी भनिएको हो। महागौरी कसरी यस्ती गोरी भइन् भन्ने सन्दर्भमा यस्तो पौराणिक आख्यान पाइन्छ-हिमालयपुत्री पार्वतीले महादेव पति पाऊँ भनेर हजारौँ वर्ष तपस्या गरिन्।

कठोर तपस्याबाट प्रसन्न भएर शिवजी प्रकट हुनुभयो र पार्वतीलाई दर्शन दिनुभयो । पार्वतीले ‘हजुरलाई पतिका रूपमा पाऊँ’ भन्ने वरदान मागिन्। शिवजीले उनको प्रार्थना स्वीकार्नुभयो।

तपस्या गर्दा क्षीण भएकाले पार्वतीको शरीर मलिन र कालो वर्णको भएको थियो । भगवान् शङ्करले उनलाई गंगाजलले स्नान गराउनुभयो र मिचीमिची पखाल्नुभयो। यसले गर्दा पार्वती गोरी भइन्। त्यहीँदेखि उनको नाम गौरी भएको हो। गौरी महादेवकी शक्ति बनेर रहिन्।

गौरीको रूपरंग मात्र गोरो होइन यिनका वस्त्र र आभूषण पनि सेता नै छन्। यिनी चतुर्भुजा देवी हुन्। यिनका दायाँतर्पmका एक हातमा त्रिशूल छ भने अर्को हात अभयमुद्रामा छ। बायाँतर्फका एक हातमा डमरु छ र अर्को हात वरमुद्रामा छ। यिनी सौम्य र शान्त प्रकृतिकी देवी हुन्। यिनको वाहन सेतो वृषभ हो।

महागौरी चाँडै प्रसन्न हुने र तत्काल फल दिने देवी हुन्। यिनको उपासना गर्नाले भक्तले सबै किसिमका कल्याण प्राप्त गर्दछन्। भक्तका पूर्वसञ्चित पापसमेत नाश गरेर अक्षय पुण्य प्रदान गर्ने महागौरीले दुःख-कष्ट, पीर-बाधा सबै नाश गरिदिन्छिन्।

विद्या, बुद्धि, मानसिक शान्ति, सफल दाम्पत्य र अटल सौभाग्यका लागि महागौरीको उपासना गरिन्छ। अविवाहिता युवतीहरूले सुन्दर र मनोनुकूल पति प्राप्त गर्नका लागि महागौरीको आराधना गर्नु फलदायी हुन्छ।

पूजाविधि
नवरात्रका अघिल्ला दिनहरूमा जस्तै आठौँ दिन महागौरीको पूजा हुन्छ। महागौरीलाई अरू मन्त्रका अतिरिक्त ‘ॐ महागौर्यै नमः’ भनेर पूजा गर्न सकिन्छ।

प्रत्येक दिन पूजा गर्दा ‘प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी...’ भनेर दुर्गाका नौ रूपको नै पूजा गर्नुपर्छ। निश्चित दिनमा निश्चित रूपको पूजा गर्नु भनेको विशेष पूजा हो।

महागौरीको पूजा गर्दा उनको वाहन वृषभ/गोरु, शस्त्र त्रिशूल र वाद्य डमरुको पनि पूजा गर्नुपर्छ। सप्तमीका दिनदेखि नवपत्रिकाको पूजन पनि देवीपूजाको अंगका रूपमा थपिन आउँछ।

अष्टमीका दिन कलपूर्जा र सवारी साधनको पनि पूजा गर्ने चलन छ। कलपूर्जा र सवारीको पूजा कतै नवमीका दिन पनि गर्ने गरेको पाइन्छ।

शक्तिका साधन भएकाले शक्ति-उपासनाका क्रममा यिनको पनि पूजा गरेको देखिन्छ। कलपूर्जा, सवारी साधन आदिको पूजा गर्दा तिनलाई धोइपखाली सफा गरेर चन्दन अक्षता फूल  आदि सामग्रीले पूजा गर्नुपर्छ।

हातहतियार, यन्त्र, वास्तुकला आदिका देवता/निर्माता विश्वकर्मा हुन्। यस्ता सामानको पूजा गर्दा विश्वकर्माको पनि स्मरण र पूजन गर्नुपर्छ। सवारी साधनको पूजा गर्दा गरुडको स्मरण गर्दै गरुडजस्तै लक्ष्यसिद्धिमा सहयोगी बन भन्ने कामना गरिन्छ।

पूजा गर्दा अरू मन्त्रका अतिरिक्त देवीलाई ‘ॐ जयन्ती मंगला काली...’ विश्वकर्मालाई ‘ॐ विश्वकर्मणे नमः’, यन्त्रलाई ‘ॐ यन्त्राय नमः’ र सवारी साधनलाई ‘ॐ वाहनाय नमः’ ‘ॐ गरुडाय नमः’ भनेर पूजा गर्न सकिन्छ।

नवदुर्गाको आठौँ दिन ९ वर्षकी कन्याको पूजा हुन्छ। यिनको नाम दुर्गा हुन्छ। यिनलाई ‘ॐ जयन्ती मंगला काली...’ ‘ॐ दुर्गायै नमः’ ‘ॐ कुमार्यै नमः’ भनेर पूजा गर्न सकिन्छ। यसपछिका मन्त्र जप, दुर्गासप्तशती, देवीभागवत पाठ, सायं कालीन पूजा आदि अरू दिनजस्तै गरिन्छ।

कालरात्रि-पूजा
वर्षमा चारओटा रातलाई विशेष महत्त्वका मानिएको छ। ती हुन्- मोहरात्रि, कालरात्रि, सुखरात्रि र महारात्रि। भाद्र कृष्णपक्षको अष्टमी कृष्णजन्माष्टमी हो। यस रातलाई मोहरात्रि भनिन्छ। आश्विन शुक्ल अष्टमीको रात्रिलाई कालरात्रि भनिन्छ।

कार्तिक कृष्णपक्षको औंशीको रात लक्ष्मीपूजा गर्ने रात हो। यसलाई सुखरात्रि भनिन्छ। फागुन कृष्णपक्षको त्रयोदशीको रात शिवरात्रि हो। यसलाई महारात्रि भनिन्छ। यी चार रात्रिमा क्रमशः कृष्ण/विष्णु, दुर्गा, लक्ष्मी र शिवको पूजा हुने भएकाले महमहत्वपूर्ण रात्रि हुन्।

नवरात्रको अष्टमीका रातमा दुर्गा देवीको विशेष पूजा हुन्छ। रातमा गरिने यो पूजालाई कालरात्रि-पूजा भनिन्छ। कालरात्रिको पूजाका लागि अष्टमीका साँझ नित्यपूजा सकेपछि देवीपूजाका लागि र होमका लागि चाहिने सामग्री तयार गरेर पूजास्थलमा गइन्छ।


त्यहाँ दीप, कलश, गणेश, क्षेत्रपाल, नवग्रह आदि स्थापित देवताहरूको संक्षिप्त पूजा गरेर घटस्थापनाको कलशमा दुर्गा देवीको षोडशोपचारले पूजा गरिन्छ। त्यसपछि नवपत्रिकाको पूजा गरिन्छ।

अब देवीको विशेष पूजाका लागि देवीको स्थापनाको दाहिनेबाट सुरु गरी ‘ॐ जयन्ती मंगला काली...’ मन्त्रले वरिपरि मन्त्रमा उल्लेख भएका देवीको पूजा गरिन्छ।

यसै गरी बायाँबाट पनि वरिपरि, देवीको अघिल्तिर, छेउछाउमा पूजा गरिन्छ। देवीको छेउमा भैरवको पनि पूजा हुन्छ अनि देवीलाई अर्घ, बेलपत्र, माला, वस्त्राभूषण आदि समर्पण गरी देवीका अघिल्तिर सिंहको र चारैतिर दिक्पालको पूजा गरिन्छ।

देवीपूजाका क्रममा शस्त्रअस्त्रको पनि पूजा हुन्छ। पूजाका लागि हातहतियार धोएर, माझेर, धार लगाएर राखिन्छ। तिनमा ‘ॐ शस्त्रेभ्यो नमः’ भनेर पूजा गर्न सकिन्छ। अनि ‘ॐ सिंहासनाय नमः’ भनेर सिंहासनको पनि पूजा गर्नुपर्छ।

यसपछि एउटा छुट्टै थालीमा अष्टदल बनाएर अथवा केराका पातमा नौवटा चामलका थुप्रा बनाएर नवदुर्गाको स्थापना गरी पूजा गर्ने विधान छ । यसमा पहिले नौ देवीको अनि क्रमशः आठवटा आवरण (वरिपरि गोलो घेरा) कल्पना गरी ६४ योगिनीको पूजा हुन्छ।

यसपछि देवीका अगाडि बलि (कुभिन्डो वा जीवबलि) ल्याएर त्यसलाई जलसेचन गरी खड्गको पनि पूजा गरिन्छ अनि बलि सङ्कल्प गरेर घण्टा, डमरु आदि जेजे बाजागाजा छन्, बजाउँदै देवीलाई बलि दिइन्छ। यसपछि बाँकी बलि पनि दिइन्छ।

बलि भनेको उपहार हो। तान्त्रिक पूजा पद्धतिमा जीवबलि दिने विधान छ। यसै अनुसार नेपालका धेरै शक्तिपीठहरूमा यस रात ठुलो संख्यामा जीवबलि दिइन्छ।

वैदिक पूजा-पद्धतिमा स्मार्तबलि अर्थात् कुभिन्डो, नरिवल, बेल, उखु, काँक्रो आदि बलि दिइन्छ। उपासक सात्विक प्रवृत्तिको शाकाहारी हो भने जीव बलि दिनुहुँदैन, स्मार्तबलि दिनुपर्छ। अन्यथा आफ्नो कुलधर्म जे हो त्यसै गर्न सकिन्छ। देवी-देवता श्रद्धा, भक्ति र समर्पणले प्रसन्न हुने भएकाले जीवबलि दिनु अनिवार्य भने होइन।

देवीपूजाको कर्म सकिएपछि कालरात्रिको होम हुन्छ। यसमा अग्निस्थापना विधिले विशेषकर्म अघिको होम गरेपछि पायसद्वारा नवार्ण मन्त्रले सात सय पटक ‘ॐ देव्यै स्वाहा’ भनेर होम हुन्छ। अनि बाँकी होम सकेर टीका, प्रसाद आदि ग्रहण गरिन्छ, कालरात्रिको पूजनकर्म समाप्त हुन्छ।

अब लागौं नवमीतर्फ
नवदुर्गाका नौ शक्तिमध्ये नवौं अर्थात् अन्तिम शक्ति सिद्धिदात्रीको उपासना गरिन्छ। सिद्धिदात्रीको अर्थ सिद्धि दिने भन्ने हो। मार्कण्डेय पुराणमा बताइएअनुसार सिद्धि आठ प्रकारका छन्। ती हुन्- अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व। इच्छाअनुसार सानो रूप बनाउन सक्नु अणिमा हो।

त्यस्तै ठूलो रूप बनाउन सक्नु महिमा हो। हलुका रूप बनाउन सक्नु लघिमा हो भने भारी/गह्रौँ रूप बनाउन सक्नु गरिमा हो। इच्छाअनुसारको प्राप्ति गर्नुलाई प्राप्ति भनिन्छ भने इच्छाअनुसार जस्तोसुकै रूप लिन सक्नुलाई प्राकाम्य भनिन्छ। ईशित्व भनेको शासन गर्ने क्षमता हो भने वशित्व भनेको अरूलाई वशमा पार्न सक्नु हो।

ब्रह्मवैवर्त पुराणमा यीबाहेक सर्वकामावसायिता (सबै कामना पूरा गर्न सक्नु), सर्वज्ञत्व (सबै कुराको ज्ञान), दूरश्रवण (टाढाको पनि सुन्नु), परकायप्रवेशन (अरूको शरीरमा प्रवेश गर्नु), वाक्सिद्धि (बोलेअनुसारको हुनु), कल्पवृक्षत्व (सोचेअनुसारको उत्पन्न गर्न सक्नु), सृष्टि (निर्माण क्षमता), संहार (विनाशको क्षमता), अमरत्व (कहिल्यै नमर्नु), सर्वन्यायकत्व (सबैलाई न्याय गर्ने क्षमता) र भावना (अनुभव, कर्म र तुलनाबाट उत्पन्न हुने विशिष्ट प्रकारको ज्ञान) गरी अठार प्रकारका सिद्धि बताइएको छ। यी सबै सिद्धि दिने देवी भएकाले यिनको नाम सिद्धिदात्री रहन गएको हो।

देवीपुराणमा उल्लेख भएअनुसार भगवान् शिवले सिद्धिदात्रीको कृपाबाट यी सबै सिद्धि प्राप्त गरेका थिए। त्यसैले उनले अद्धनारीश्वर (आधा नारी र आधा पुरुषको) रूप बनाएका हुन्।

सिद्धिदात्री चतुर्भुजा देवी हुन्। यिनका दायाँतर्फका हातमा चक्र र गदा छन् भने बायाँतर्पmका हातमा शंख र कमलपुष्प छन्। सुन्दर वस्त्र र अलंकारले सुसज्जित यिनी दिव्य तेजले युक्त छिन्। यिनी कमलको आसनमा बस्छिन्। यिनको वाहन सिंह हो। यिनलाई वरिपरिबाट सिद्ध, गन्धर्व, यक्ष, देवता, असुर आदिले पूजा गरिरहेका हुन्छन्।

सिद्धिदात्रीको कृपा प्राप्त गर्ने उपासकले सबै सिद्धि प्राप्त गर्दछन्। उनीहरूका लागि कुनै कामना बाँकी नै रहन्न। सिद्धि प्राप्त गरेका भक्त संसारका सबै इच्छा र आवश्यकताभन्दा माथि उठेर मानसिक रूपले जगज्जननी भगवतीको दिव्य लोकमा विचरण गर्दछन् भन्ने शास्त्रीय कथन छ।

पूजाविधि
नवदुर्गाका अरू रूपको जस्तै महानवमीका दिन माता सिद्धिदात्रीको पूजा हुन्छ। यिनलाई पवित्र मनले अरू मन्त्रका अतिरिक्त ‘ॐ सिद्धिदाœयै नमः’ भनेर पूजा गर्न सकिन्छ। सिद्धिदात्रीको पूजा गर्दा उनको आसन कमल, वाहन सिंह, आयुध गदा र चक्र एवं वाद्य शंखको पनि पूजा गर्नुपर्छ। अरू पूजासामग्रीका अतिरिक्त घटस्थापनाका दिन राखिएका जमरा आजकै दिन देवीलाई चढाएर पूजा गरिन्छ।

सिद्धिदात्रीको पूजा गर्दा सप्तमीमा भित्रप्रवेश गराइएका नवपत्रिकाको पूजन, अष्टमीमा स्थापना गरिएका दुर्गाको पूजन, स्थापित र आवाहित अरू देवीदेवताको पूजन र शस्त्रअस्त्रको पूजन पनि गर्नुपर्छ। महानवमी दुर्गापूजाको अन्तिम दिन भएकाले नित्यपूजापछि घटस्थापनादेखि नित्य गर्दै आएको मन्त्रजप, सप्तशती, देवीभागवत आदिको बाँकी पाठ पूरा गर्नुपर्छ।

महानवमीका विशेष कर्म
महानवमीको दिन दुर्गापूजाको अन्तिम दिन र बडादसैँको अघिल्लो दिन भएकाले ठुलो हर्षबढाइँका साथ देवीको विशेष पूजा-अर्चना गरिन्छ। मार्कण्डेय पुराणअनुसार देवी चामुण्डाले रक्तबीजको वध गरेको दिन आजैको दिन हो। त्यसैले पूजामा चामुण्डा देवीको पनि स्मरण-पूजन गर्नुपर्छ।

नवरात्रका सबै दिन महाकाली, महालक्ष्मी र महासरस्वती शक्तिसहित दुर्गा भवानीको पूजा-अर्चना हुन्छ तापनि सप्तमीका दिन महासरस्वती, अष्टमीका दिन महाकाली र नवमीका दिन महालक्ष्मीको विशेष पूजा हुन्छ। अष्टमीका दिन हातहतियार, कलपूर्जा र सवारी साधनको पूजा नगरेकाहरूले यी सबैको र विश्वकर्माको पूजा पनि नवमीकै दिन बिहान गर्दछन् र बलि चढाउँछन्।

महानवमीका दिन नेपालका सबै शक्तिपीठहरूमा धूमधामसँग देवीको पूजा-अर्चना हुन्छ। काठमाडौंको हनुमान्ढोकास्थित तलेजु भवानीको मन्दिर नवमीका दिन मात्र सर्वसाधारणलाई दर्शनका लागि खुला गर्ने परम्परा छ।

यस दिन नेपाली सेना लगायत सुरक्षा निकायमा कोतमा हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा रहेको छ । नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बलि दिने परम्परा रहेको देखिन्छ।

महानवमीको पूजाविधि
महानवमीका दिन बिहान पहिले अघिल्ला दिनहरूमा जस्तै देवीको नित्यपूजा गरी बाँकी पाठहरू पूरा गरिन्छ। त्यसपछि दुर्गा देवीको पूजाका लागि संकल्प गरी अष्टमीका राति विशेष पूजाका लागि थालीमा वा केराका पातमा स्थापना गरिएका नौदुर्गाको पूजा गरिन्छ।

अनि त्यहीँ वरिपरि ब्रह्माणी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री र शिवदूतीको पूजा गरिन्छ। पूजाको अन्त्यमा देवीलाई आफ्नो प्रवृत्ति र परम्पराअनुसारको बलि दिइन्छ भने देवीका अनुचरहरूका लागि पनि फल, हलुवा, पायस वा मासचामलको बलि दिइन्छ।

देवीको पूजा गरिसकेपछि हवनको काम सुरु हुन्छ। यसका लागि त्रिकोण आकारको अग्निकुण्ड वा अग्निवेदी बनाई पायस र घिउले अग्निस्थापनाको विधिपूर्वक होम हुन्छ।

होमको विशेष कर्मका रूपमा नवार्ण मन्त्रले सात सयपटक ‘ॐ देव्यै स्वाहा’ भनेर होम, त्यसको दशांश तर्पण र त्यसको दशांश मार्जन गरिन्छ। देवीभागवत पारायण गरिएको हो भने १८ हजार हवन वा सप्तशतीका प्रत्येक श्लोकले हवन र त्यसै अनुसारको तर्पण-मार्जन गरिन्छ अनि अग्निस्थापनाको बाँकी काम पूरा गरिन्छ।

घटस्थापनादेखि प्रत्येक दिन कन्यापूजा गर्न सम्भव नभए महानवमीमा एकै दिन नौवटी कन्याको पूजा गर्ने विधान छ। सबै दिन कन्या पूजा गर्नेले पनि नवमीका दिन एकैचोटि नौवटी कन्याको पनि पूजा गर्न सकिन्छ। नवमीका दिन १० वर्षकी कुमारीको पूजा हुन्छ। यिनलाई सुभद्रा भनिएको छ।

सुभद्रालाई ‘ॐ सुभद्रायै नमः’ भनेर पूजा गर्न सकिन्छ। नौ कन्याको सँगै पूजा गर्ने हो भने कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा नामले सबैको एकै किसिमले पूजा गर्नुपर्छ।

कन्याको पूजा गर्दा पहिले सबैका हात-पाउ धोएर उनीहरूको प्रार्थना गरी टीका लगाइदिने, भोजन गराउने, दक्षिणा, वस्त्र, गहना आदि दिने गरिन्छ।

देवीको विसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ।

असोज २४, २०८१ शुक्रबार ०७:२२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।