हिजोआजको पुस्ताको त हाडै कच्चा, सानै ठाउँबाट लड्यो कि पिटिक्कै भाँच्चिने

हिजोआजको पुस्ताको त हाडै कच्चा, सानै ठाउँबाट लड्यो कि पिटिक्कै भाँच्चिने

काठमाडौँ :  ‘हिजोआजको पुस्ताको त हाडै कच्चा। सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने। हात खुट्टा झनै कमजोर। सामान्य रूपमै भर्याङ ओर्लँदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन्। न खानपिन गतिलो, न खेतीपातीका काम र न त शारीरिक अभ्यास नै। कसरी बलियो होस् त हड्डी ?’   

पाकाबाट यस्तै सुनिन्छ अहिले। उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, काम विशेष तथा बानी ब्यहोराको तुलना सामान्य हो।

उनीहरूको भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिलेजस्तो छैन। ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून। हिँडाइ त झन् छँदै छैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन्। त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन।    

घाँसका भारीसित लड्दा होस् या रुखबाट भुईँमा खस्दा समेत हातखुट्टा नभाँचिने अनुभव सुनाउँछन् पाका पुस्ता। के यो ठिक हो त? अहिलेको पुस्तको हड्डी कमजोरै हो त ?

नेपालका हाड जोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाका पुस्ताका यी अनुभवप्रति सहमत छन्। डा भण्डारी अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेको र एउटै हात या खुट्टा पटक पटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिने गरेको बताउँछन्।

‘हिस्ट्री टेकिङ’ गर्दा उहाँहरू सामान्य रूपमा लडेको मात्र बताउनुहुन्छ तर हड्डीमा क्षति धेरै पुगेको हुन्छ’ उनले भने।
 हड्डीको यस प्रकारको रुग्णतामा डा भण्डारीले दिने कारण पनि उस्तै छ, खानपान, आहार विहार र अहिलेको खानाको शुद्धतामा ह्रास।

‘खानपान त उही हो, धेरैको जङ्क फुड (बजारमा पाइने तयारी खाना) नै हुन्छ र शारीरिक अभ्यास छैन। खाना बनाउन, शारीरिक अभ्यास गर्न या हिँड्नै पनि मानिस चाहँदैन, सौखिन बन्दै गएको छ। उसको ‘टेबल वर्क’ बढी छ अनि शारीरिक सक्रियता कम’ उनले भने।

उही खानेकुरामा पनि पहिले र अहिले पाउने प्रोटिन या अन्य खनिजहरूको प्रचुरता फरक पर्दै गएको छ। शुद्धतामा ह्रास आइरहेको छ।

विषादीको प्रयोग, माटोमा प्रयोग गरिने आधुनिक अर्थात् रासायनिक मलको प्रयोग लगायतले खानामा पाइने प्रोटिनको शुद्धतामा फरक पर्दै गएको उनको तर्क छ।

त्यसैगरी ‘आउटडोर एक्टिभिटीज’ कम हुँदै जाँदा आवश्यक शारीरिक अभ्यास नपाएर तथा हड्डी खुम्चिएर रहने या जाम हुने अवस्था समेत देखिएको डा भण्डारीले बताए।

अहिलेका बालबालिकालाई घरमै होस् या विद्यालयमा खेल्ने खेलमैदान उपलब्ध छैन। विद्यालय पनि प्रायः बाटोका नजिक या साँघुरा जमिनमा बनेका छन्। चार आना भएपछि घर बनाउने घडेरी पुगिहाल्यो। केटाकेटीलाई खेल्ने मैदानका बारेका कसले सोचिदिने।

यसरी सहरका बालबालिका साँघुरोमै खुम्चिएर बस्नुपर्दा तिनका हाडले शारीरिक तन्दुरुस्ती बन्न नपाएको उनको तर्क छ।उनका अनुसार अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यक पर्ने भिटामिन ‘डी’ को उपलब्धताको कमी र सूर्यको किरणको पहुँचबाट टाढा रहेको मानिसको दैनिकी पनि हाड कमजोर बन्दै गएका छन्।

हाम्रो शरीरमा भिटामिन डिको मात्रा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मात्राभन्दा कम रहेको उनले बताए।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा भण्डारी विशेषगरी अहिलेको बालबालिकाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्छन्।

‘बालबालिकाको स्वास्थ्य अवस्था देखेर चिन्ता लाग्छ। उनीहरूका हातखुट्टा त खुर्सानीको बोटजस्तै बन्दै गएका छन्, अलिकति बल गर्यो कि पिटिक्क भाँचिने। कारण त तिनै हुन् खानपान र आहार विहार। कारण धेरै होलान् दिनप्रतिदिन कमजोर बन्दै गएको देख्छु उनीहरूको हड्डी’ उनले भने।

उनको अनुभवमा अहिलेको पुस्ता एक तला पनि भर्याङ चढ्न अल्छी मान्छ, लिफ्ट छ भने त्यसैबाट जान्छ। पसिना निकालेर काम गर्न चाहँदैन। बजारको खानाको उपभोगमा वृद्धि, रक्सी तथा अन्य मादक पदार्थहरूको सेवनले पनि हाडको क्षयीकरणमा योगदान थप्दै गएको देखिएको उनले बताए।

बिस्तारै न्युट्रेसनमा भएको कमीले हाडको कमजोरीलाई थप बलियो बनाउँदै लगेको र शरीरमा लाग्ने चोटपटक र त्यसको समयमै उपचारको कमी, बाथरोगलगायत विभिन्न रोग तथा जेनेटिक समस्याका रैथाने कारण समेत रहेको उनले बताए।

यो अवस्थाको निराकरणका उपायहरू सुझाउँदा डा भण्डारी सबैभन्दा आवश्यक क्याल्सियम, खनिज र प्रोटिनको उपलब्धतालाई देख्छन्। नियमित शारीरिक अभ्यास, स्वस्थ खाना र योगा हड्डी बलियो बनाउने अरू उपाय हुन्।

यी आनीबानीले हाड मात्र बलियो बनाउने नभएर अन्य शारीरिक स्वास्थ्यमा पनि लाभ पुराउँछ। सुगर होस् या अरू रोग बढ्न नदिन पनि यो व्यायामले सघाउ पुराउनेछ।

मानिसका हाड बलियो बनाउन नियमित शारीरिक व्यायाम, स्वास्थ्यकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रूपमा लैजानुपर्ने र शरीरमा हाड जोर्नीको महत्त्व र यससम्बन्धी रोगका बारेमा विद्यालयस्तरदेखि नै पाठ्यक्रममा राख्नुपर्ने उनको सुझाव छ।

हाडसम्बन्धी रोगले शरीरका अरू अङ्गलाई पनि क्षति गर्ने तथा शारीरिक अपाङ्गतासमेत हुनसक्ने भएकाले यसको संवेदनशीलताको प्रचार अझ बढी आवश्यक रहेको उनले बताए।

‘हाड जोर्नीको उपचार जटिल नहुँदै र तुरुन्तै गर्न पायो भने पक्षाघात हुनबाट जोगाउन सकिन्छ। मेरुदण्डको चोटपटक झनै संवेदनशील विषय हो। उपचार ढिला हुँदा कतिपय त जीवनभर नै उपचार गराइरहनुपर्ने, अपाङ्गता हुने आदि हुन्छ। परिवार पाल्नुपर्ने सदस्य नै यस्तो भइदियो भने त झन् त्यो व्यक्तिमात्र नभएर परिवारले नै दुःख पाउने भयो नि। यस विषयमा नागरिक पनि सजग हुनु जरुरी छ’ डा भण्डारीले भने।

-रासस

असोज २३, २०८१ बिहीबार २३:०३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।