नेवार समुदायले दुई माना भोज खाएर घरघरमा मनाए ‘कुछी भ्वयः’

नेवार समुदायले दुई माना भोज खाएर घरघरमा मनाए ‘कुछी भ्वयः’

भक्तपुर : विजयादशमीको आठौँ दिन साँझ नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाएका छन्। नेवारीमा कुछीको अर्थ दुई ‘माना’ र भव्यको अर्थ ‘भोज’ भएकाले यसलाई कुछी भ्वय :  भन्ने गरिएको संस्कृतविद् अष्टकुमार जोशीको भनाइ छ।    

नेवार समुदायले बिहीबार महाअष्टमी मनाउने क्रममा केराको पातमा दुई माना चिउरा र विभिन्न १२ प्रकारका खाद्यान्नहरु राखेर भोज खान्छन्।

नेवार समुदायमा सयौवर्ष अगाडिदेखि टोल छिमेक संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र त्यो मासु घरघरमा भित्र्याउने प्रचलन अहिले पनि छ।

यसरी मासु भित्र्याउँदा घरको मूल ढोकामा रगत छर्कँदै मासुलाई मन्छाउने प्रचलन रहेको संस्कृतविद् जोशीले जानकारी दिए। भक्तपुरबाहेकका ठाउँमा भने नेवार समुदायले दसैँ मनाइरहँदा मोहनी नख: मनाउने परम्परा रहेको  छ।

नेवार समुदायमा वर्षभरि मनाइने चाडपर्व मध्ये मोहनी नख: सबैभन्दा महत्त्वपूर्ण र ठुलो चाडको रूपमा मनाउने गरिन्छ। मोहनी नखःले सबै परिवार, छुटिएका दाजुभाइ समेत एकै स्थानमा बसेर भोज खाने, ठुलालाई आदर सत्कार गर्ने प्रचलन रहेको जोशीले बताए। अष्टमीका दिन स्थापना गरिएको पुस्तक, तथा सरसामानलाई पूजाआजा गर्ने प्रचलन समेत छ।

 नेवार समुदायमा मान्छे मरेर जुठो परेको छ भने पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको अर्का संस्कृतिकर्मी राजकाजी शाक्यले बताए। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको उनले बताए।

नयाँ बुहारी ल्याएको घरमा दाजुभाइलाई विवाह भोज खुवाएको छैन भने ती नयाँ बुहारीलाई भने कुछी भ्वयमा भोजमा सहभागी नगराउने प्रचलन समेत रहेको उनले बताए।
    
 कुछी भ्वयमा खानुपर्ने १२ थरीका ल्वसाघासा (परिकार)हरू छोयला १२ टुक्रा, केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार हुन्छन्।

त्यसैगरी यसमा फलफूल (खयपिचयपि) मा अम्बा र केरा समेत अनिवार्य खाने प्रचलन रहेको छ।
 दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय् रहन गएको भन्ने भनाइ रहे पनि केही संस्कृतीकर्मीहरुले भने कुलका सबै परिवार एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुछी भ्वय् हुन गएको भनाइ रहेको छ।    
    
 माटाको सानो घैँटोमा जाँड-रक्सी र त्यसमाथि सलिँमा (माटोको सानो भाँडा) एक टुक्रा राँगाको मासु राख्नुलाई ‘थापिँचा स्वनेगु’ भनिन्छ।    
    
 दशमीको दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरेर त्यही थापिँचाको जाँड र मासु पोलेर प्रसादको रूपमा खान दिइन्छ। त्यो खाएमा पेटको विकार निको हुन्छ भन्ने मान्यता आजसम्म पनि रहँदै आएको संस्कृतविद् जोशीले बताए।

असोज २३, २०८१ बिहीबार २२:२०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।