बुद्ध एयरको जहाजमा यात्रुले पटकपटक आपतकालीन ढोका खोलिदिएपछि...

बुद्ध एयरको जहाजमा यात्रुले पटकपटक आपतकालीन ढोका खोलिदिएपछि...

काठमाडौं : दशैंमा यात्रुहरूको चाप बढिरहेका बेला विगत केही दिनदेखि यात्रुले हवाइजहाजका इमर्जेन्सी डोअर (आपतकालीन ढोका) खोलेका घटना सार्वजनिक भएका छन्।

बुद्ध एयरमा यात्रा गरिरहेका केही यात्रुले आपतकालीन ढोका खोलेपछि एयरलाइन्सले आपत्ति जनाएको छ। 

बुद्ध एयरका अनुसार अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौं आउँदै गर्दा एक यात्रुले आपतकालीन ढोका खोलेका थिए।

त्यस्तै, अक्टुबर ७ का दिन नेपालगञ्जबाट काठमाडौं र बिहीबार फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको इमर्जेन्सी ढोका यात्रुले खोलेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए।

उडान प्रक्रियालाई नै अवरूद्ध पर्नेगरी ढोका खोलेपछि उडान तालिकालाई थप प्रभावित बनाएको उनको भनाइ छ। मैदानमै रहेको जहाजको ढोला यसरी खोलेको दश दिनको दौरानमा तेस्रो घटना भएको उनले जानकारी दिए।

बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो। 

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्।

तर, आपतकालीन अवस्थाबाहेक ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्याउने संभावना रहेको  प्रवक्ता कर्णको भनाइ छ।

बिहीबार बिहान भने विराटनगर विमानस्थलमा यात्रुले आपतकालीन ढोला खोलेको उनले बताए। त्यो जहाज हाल टेक्निकल टीमले चेकजाँच गरिरहेको छ। 

यात्रुहरूले भने बुद्ध एयरको जहाजमा समस्या आउने गरेको बताए। 

यता, बुद्ध एयरले भने यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको बताइयो। 

हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान रहेको प्रवक्ता कर्णले जानकारी दिए।

उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्। हाल घटेका तीनवटा घटनामा संलग्न यात्रुहरू सामान्य अवस्थाका रहेको बुद्ध एयरले जनाएको छ। 

असोज २३, २०८१ बिहीबार १५:४२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।