'घरमा रातोमाटोले पोतेपछि बल्ल दशैं आए जस्तो लाग्छ'

'घरमा रातोमाटोले पोतेपछि बल्ल दशैं आए जस्तो लाग्छ'

बागलुङ : दशैंमा रातोमाटोले घर पोत्न परम्परा नै छ। ढुङ्गा र माटोले पोतिएका घरलाई दशैंमा चिटिक्क बनाउन यस बेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त देखिन्छन्।

परम्परा धान्नकै लागि भए पनि बागलुङका स्थानीयले रातोमाटोले घर पोत्ने चलन छाडेका छैनन्। दशैं नजिकिएसँगै दिनहुँजसो बागलुङका रातोमाटो पाइने स्थानमा स्थानीयको भीड नै लागेको देखिन्छ। 

केहीले आफ्नै घरका लागि त केहीले व्यावसायिक रूपमा नै रातो माटो खनेर बिक्रीसमेत गर्ने गरेको पाइन्छ।

काठेखोला गाउँपालिका-१ पाला निवासी कमला भण्डारी दशैं आउँदा सेतो कमेरो, पहेँलो र रातो माटोले घर सजाउने चलन अझै गाउँ घरमा कायमै रहेको बताउँछिन्। बजारका घरमा रेडिमेट रङ्ग लगाउने चलन भए पनि परम्परागत माटोले बनेका घरमा अझै रातोमाटोले पोत्ने चलन रहेको उनको भनाइ छ।

'धेरै घर त सिमेन्टका बनिसके, त्यस्तो घर बनाएकाहरूले रेडिमेट रङ प्रयोग गर्छन् तर गाउँमा रहेका परम्परागत घरमा भने माटो नै चाहिन्छ, दशैंमा घर चोख्याउन भए पनि रातोमाटो प्रयोग हुन्छ। अहिले त रातोमाटोसमेत व्यावसायिक रूपमा बिक्री गर्न घर-घरमै लैजाने गरेको छ, उनले भनिन्।

घर लिपपोतका लागि बागलुङ नगरपालिकाको खहरे, बोक्सेलगायतका स्थानमा रातोमाटो पाइने गरेको छ। विगतको तुलनामा माटो लिन आउनेहरू सङ्ख्या पातलिँदै गए पनि प्रचलन भने कायमै रहेको स्थानीय बताउँछन्।

हुन त घरको पिँढी र बाहिरी भित्तामा अन्य रङ लगाए पनि भित्री भाग वा पूजा गर्ने ठाउँमा मात्रै किन नहोस् रातोमाटोले लिप्ने प्रचलनसमेत छ। 

'घरको कुनै न कुनै भागमा रातोमाटोले नपोतेसम्म चोखो हुँदैन, सिमेन्टकै घरमा पनि जमरा राख्ने स्थानलाई गोबर र रातोमाटोले पोतेर चोखो बनाउनुपर्छ भन्ने मान्यता अझै छ', स्थानीय गमकुमारी पुनले भनिन्, 'अघिपछि भन्दा दशैंको समयमा रातोमाटोको महत्व बढी छ, घरमा रातोमाटोले पोतेपछि बल्ल दशैं आए जस्तो लाग्छ।' 

असोज २३, २०८१ बिहीबार १५:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।