रतन टाटा : सानैमा आमाबुवाको डिभोर्स भएपछि हजुरआमाले हुर्काइन्, अमेरिकी प्रेमिकासँग बिहे नभएपछि जीवनभर अविवाहित रहे

रतन टाटा : सानैमा आमाबुवाको डिभोर्स भएपछि हजुरआमाले हुर्काइन्, अमेरिकी प्रेमिकासँग बिहे नभएपछि जीवनभर अविवाहित रहे

एजेन्सी : भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। २८ डिसेम्बर १९४७ मा जन्मिएका रतन टाटाले ९ अक्टोबरको राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए। भारतीय उद्योगको प्रमुख स्तम्भ मानिने टाटा समूहका अध्यक्ष रतनको जीवनशैली भने सामान्य थियो।

सन् १९९२ मा इन्डियन एयरलाइन्सका कर्मचारीहरूमाझ एउटा अचम्मको सर्वेक्षण गरिएको थियो। उनीहरूलाई सोधियो, ‘दिल्लीबाट मुम्बईको उडानमा तपाईंलाई सबैभन्दा बढी प्रभावित गर्ने यात्रु को हुन्?’ त्यो सर्वेक्षणमा रतन टाटाले सबैभन्दा बढी भोट पाए।

यसको कारण पत्ता लगाउने प्रयास गर्दा उनी एक्लै हिँड्ने भीआईपी भएको पाइएको थियो। झोला र फाइल बोक्न उनीसँगै कोही सहायक थिएनन्। विमान उड्ने बित्तिकै चुपचाप आफ्नो काम शुरू गर्थे भने थोरै चिनी भएको कालो कफी माग्थे।

गिरीश कुबेर टाटा समूहको आफ्नो प्रसिद्ध पुस्तक ‘द टाटास हाउ अ फ्यामिली बिल्ट ए बिजनेस एण्ड नेशन’ मा लेख्छन्- ‘जब उहाँ टाटा सन्सको प्रमुख हुनुभयो, उहाँ जेआरडीको कोठामा बस्नुभएन। उनले आफूलाई बस्नको लागि एउटा सानो कोठा बनाए। जुनियर अफिसरसँग कुरा गर्दा कोही सिनियर अफिसर आइपुग्दा उनलाई पर्खन भन्थे।’

पुस्तकमा लेखिएको छ- ‘उनीसँग दुईवटा जर्मन शेफर्ड कुकुर ‘टिटो’ र ‘ट्याङ्गो’ थिए जसलाई उनले असाध्यै माया गर्थे। कुकुरहरूप्रति उनको प्रेम यति हदसम्म थियो कि जब उनी बम्बे हाउसमा आफ्नो कार्यालयमा पुग्थे, सडकका कुकुरहरूले उनलाई घेरेर लिफ्टमा लिएर जान्थे। यी कुकुरहरू प्रायः बम्बे हाउसको लबीमा हिँडिरहेको देखिन्थे, जबकि त्यहाँ केबल टाटा कम्पनीका कर्मचारी र भेट्न पूर्व अनुमति भएका व्यक्तिलाई मात्र प्रवेश गर्न दिइन्थ्यो।’

रतनका पूर्व सहायक आर वेंकटरामननलाई आफ्नो मालिकसँगको उनको निकटताको बारेमा सोधिएको थियो। उनले जवाफमा भनेका थिए, ‘धेरै कम मानिसहरूले टाटालाई नजिकबाट चिन्छन्। हो, त्यहाँ दुई व्यक्तिहरू छन् जो उहाँसँग धेरै नजिक छन्। ती हुन्- ‘टिटो’ र ‘ट्यांगो’। जर्मन शेफर्ड कुकुर बाहेक कोही पनि उसको नजिक आउन सक्दैन।’

प्रख्यात व्यापारी तथा लेखक सुहेल सेठले पनि एउटा किस्सा सुनाउँछन्, ‘फेब्रुअरी ६, २०१८ मा बेलायतका राजकुमार चार्ल्सले बकिङ्घम प्यालेसमा रतन टाटालाई परोपकारी कार्यको लागि ‘रकफेलर फाउन्डेसन लाइफटाइम अचिभमेन्ट’ अवार्ड दिने थिए। तर, समारोहको केही घण्टाअघि रतन टाटाले टाटाले आफ्नो कुकुर टिटो अचानक बिरामी परेकाले आफू आउन नसकेको कुरा आयोजकलाई जानकारी गराएपछि चार्ल्सलाई यो कथा भनिएको थियो।’

विमान उड्ने बित्तिकै उनी चुपचाप आफ्नो काम सुरू गर्थे। विमानमा थोरै चिनी भएको कालो कफी पिउने उनको बानी थियो। आफूले भने अनुसारको कफी नपाएको भन्दै उनले परिचारिकालाई कहिल्यै गाली गरेनन्। रतन टाटाको सादगीका धेरै किस्सा प्रसिद्ध छन् :

प्रेमिकासँग विवाह नभएपछि जीवनभर अविवाहित
कुमी कपूरसँगको अन्तर्वार्तामा रतन टाटाले भनेअनुसार उनी अमेरिका पढ्दा भारत सरकारले निकै कम डलर सटहीको सुविधा दिएको थियो। 

'त्यतिबेला रिजर्भ बैंकले विदेशमा पढ्नको लागि धेरै कम विदेशी मुद्रा प्रयोग गर्न अनुमति दिएको थियो। मेरा बुबा कानुन तोड्ने मुडमा थिएनन्। त्यसकारण प्रायजसो महिनाको अन्त्य हुनुअघि मैले साथीहरूबाट पैसा उधारो माग्नुपर्थ्यो। र, केही अतिरिक्त पैसा कमाउन भाँडाकुँडा पनि धुनुपर्यो,' उनले  भनेका थिए। 

रतन १० वर्षको हुँदा उनका आमाबुवाको सम्बन्ध विच्छेद भयो। रतन १८ वर्षको हुँदा उनका बुबाले स्वीस महिला सिमोन डुनोयरसँग विवाह गरे। अर्कोतर्फ उनकी आमाले सम्बन्धविच्छेदपछि सर जमशेदजी जीजीभोयसँग विवाह गरिन्। रतनलाई उनकी हजुरआमा लेडी नवाजबाई टाटाले हुर्काएकी थिइन्।

रतन सात वर्ष अमेरिका बसे। त्यहाँ उनले कर्नेल विश्वविद्यालयबाट आर्किटेक्चर र इन्जिनियरिङ अध्ययन गरे। लस एन्जलसमा उनको राम्रो जागिर र राम्रो घर थियो। तर, हजुरआमा र जेआरडीको आग्रहमा उनी भारत फर्किए। 

उनकी अमेरिकी प्रेमीका पनि उनीसँगै भारत आएकी थिइन्। तर, उनको र टाटाको विवाह हुन सकेन। यही कारण रतन टाटा जीवनभर अविवाहित रहे।

एउटा अन्तर्वार्तामा उनले श्रीमती र परिवार नहुँदा आफूले एक्लोपन महसुस गर्ने गरेको सुनाएका थिए। 'श्रीमती वा परिवार नभएकोमा धेरै पटक म एक्लो महसुस गर्छु,' उनले भनेका थिए।

उनका अनुसार जीवनमा चारपटक बिहे गर्ने उनले सोचेका थिए। तर, हरेकपटक परिस्थिति यस्तो बन्यो कि बिहे गर्नै सकेनन्। रतन टाटाको बाल्यकाल कठिन परिस्थितिमा बित्यो किनकि उनका आमाबाबुको सम्बन्ध विच्छेद भएको थियो। यही ट्रमाका कारण पनि उनले विवाह गर्न सकेनन्।

तल्लो पोष्टबाट जागिर सुरू गरेर समूहको अध्यक्ष
गिरिश कुबेर लेख्छन्, 'रतन जमशेदपुरमा ६ वर्ष बसे। त्यहाँ उनले सुरूमा नीलो ओभरल लगाएर पसलमा काम गर्ने कामदारको रूपमा आफ्नो करिअर सुरू गरे। त्यसपछि उनलाई प्रोजेक्ट म्यानेजर बनाइयो। त्यसपछि उनी प्रबन्ध निर्देशक एसके नानावतीको विशेष सहायक भए। उनको कडा परिश्रम देखेपछि जेआरडी टाटाले उनलाई बम्बई बोलाए।

रतनको नेतृत्वमा, तीन वर्षमा नेल्को (राष्ट्रिय रेडियो र इलेक्ट्रोनिक्स) कम्पनीले नाफा कमाउन थाल्यो। सन् १९८१ मा जेआरडीले रतनलाई टाटा इन्डस्ट्रिजको प्रमुख बनाए। 

यद्यपि, यस कम्पनीको कारोबार ६० लाख मात्रै थियो। तर, यो जिम्मेवारी महत्वपूर्ण थियो किनभने यसअघि टाटा आफैंले यस कम्पनीको कामको प्रत्यक्ष रेखदेख गरेका थिएनन्।

टाटाका जीवनीकार केएम लालाले लेखेका छन्, 'जेआरडी, नानी पालखीवाला, रुसी मोदी, शाहरुख सबवाला र एचएन सेठनामध्ये कसैलाई आफ्नो उत्तराधिकारी बनाउने सोचमा थिए। रतन टाटाले यो पदका लागि दुई मुख्य दावेदार पालखीवाला र रुसी मोदी हुने विश्वास गरेका थिए।'

जेआरडी रतनको पक्षमा सबैभन्दा महत्वपूर्ण कुरा उनको नाममा जोडिएको ‘टाटा’लाई ठान्थे। टाटाका साथी नुस्ली वाडिया र उनका सहायक शाहरुख सबवालाले पनि रतन नै अध्यक्ष हुनुपर्ने जिकिर गरे 

सन् १९६२ मा टाटा समूहमा प्रवेश गरेका रतन टाटा २५ मार्च १९९१ मा टाटा समूहको अध्यक्ष भए। अध्यक्ष हुँदा उनको अगाडि पहिलो चुनौती थियो दरबारी सेठ, रूसी मोदी र अजित केरकरलाई कमजोर बनाउने। अहिलेसम्म यी व्यक्तिहरूले टाटा कम्पनीहरूमा मुख्य कार्यालयको कुनै हस्तक्षेप बिना काम गर्दै आएका थिए।

सुरूमा मानिसहरूले रतन टाटाको व्यावसायिक बुद्धिमत्तामा धेरै प्रश्नहरू उठाए। तर, सन् २००० मा उनले आफ्नो आकारभन्दा दोब्बर बेलायती ‘टेटली’ समूह खरिद गरेर मानिसहरूलाई चकित पारे। आज टाटाको ग्लोबल बेभरेज विश्वको दोस्रो ठूलो चिया कम्पनी हो। यसपछि उनले युरोपको दोस्रो ठूलो स्टिल निर्माण कम्पनी ‘कोरस’ किने। आलोचकहरूले यो सम्झौताको आलोचना गरेका थिए।

सन् २००९ को दिल्ली अटो एक्सपोमा उनले जनताको कार भन्दै ‘नानो’ अनावरण गरेका थिए  जसको मूल्य १ लाख भारतीय रुपैयाँ थियो। नानोभन्दा पहिले १९९८ मा टाटा मोटर्सले बजारमा ‘इंडिका’ कार ल्याएको थियो जुन भारतमा डिजाइन गरिएको पहिलो कार थियो।

यो कार सुरूमा असफल भयो र रतनले यसलाई फोर्ड मोटर कम्पनीलाई बेच्ने निर्णय गरे। जब रतन फोर्डका अध्यक्षलाई भेट्न डेट्रोइट गए, बिल फोर्डले उनलाई यो व्यवसायको बारेमा पर्याप्त जानकारी बिना किन यो क्षेत्रमा प्रवेश गरेको भनेर सोधे। फोर्डले ‘इन्डिका’ किनेको खण्डमा भारतीय कम्पनीलाई ठूलो फाइदा हुने दाबी गरे। फोर्डको यो व्यवहारबाट रतन टाटाको टोली आक्रोशित भयो र कुराकानी नगरी फर्कियो।

एक दशक पछि स्थिति परिवर्तन भयो। २००९ मा फोर्ड कम्पनी ठूलो आर्थिक संकटमा पर्यो। उसले ब्रिटिश लक्जरी ब्रान्ड जगुआर र ल्यान्ड रोभर बेच्ने निर्णय गर्यो। 

कुमी कपूर लेख्छन्, 'त्यसपछि बिल फोर्डले भारतीय कम्पनीले फोर्डको लक्जरी कार कम्पनी किनेर आफूमाथि ठूलो उपकार गर्नेछन् भन्ने सोचे। नभन्दै रतन टाटाले यी दुवै प्रसिद्ध ब्रान्ड २.३ बिलियन अमेरिकी डलरमा खरिद गरे।'

तर, केही व्यापार विश्लेषकहरूले रतन टाटाले जगुआर ल्याण्ड रोभर खरिद गरेकोमा प्रश्न गरे। चर्चित पत्रकार सुचेता दलालले भन्छिन्, 'रतनले एकपछि अर्को गल्ती गरे। ‘जागुआर’ किनेर उनको समूह आर्थिक बोझले दबिएको थियो। तर ‘टाटा कन्सल्टेन्सी सर्भिस’ले टाटा समूहलाई सधैँ अग्रस्थानमा राख्यो।' 

यस कम्पनीले सन् २०१५ मा टाटा समूहको खुद नाफामा ६० प्रतिशतभन्दा बढी योगदान गरेको थियो।

निरा राडिया, तनिष्क र साइरस मिस्त्रीसँगको विवाद
सन् २०१० मा रतन टाटा एउटा ठूलो विवादमा फसे। निरा राडियासँगको उनको टेलिफोन कुराकानी लिक भयो। अक्टोबर २०२० मा टाटा समूहले आफ्नै आभूषण ब्रान्ड ‘तनिष्क’ को विज्ञापन हतारमा फिर्ता लिएकोमा रतन टाटाको पनि आलोचना भएको थियो। 

यो विज्ञापनले सबै धर्मलाई समान मान्ने एकीकृत भारतको मार्मिक चित्रण गरेको थियो। तर, सामाजिक दबाबका कारण ‘तनिष्क’ले त्यो विज्ञापन फिर्ता लिनु परेको थियो। २४ अक्टोबर २०१६ मा टाटा समूहका अध्यक्ष साइरस मिस्त्रीलाई एक घण्टाभन्दा कम समयको सूचनामा बर्खास्त गर्दा रतन पनि विवादमा परे।

टाटालाई भरपर्दो ब्रान्ड बनाए
तर, यी सबैका बाबजुद रतन टाटालाई सधैँ भारतका सबैभन्दा भरपर्दो उद्योगपतिहरूमा गनिन्थ्यो। भारतमा कोभिड महामारी फैलिएपछि रतन टाटाले तत्कालै टाटा ट्रस्टबाट ५०० करोड रूपैयाँ र टाटा कम्पनीहरूमार्फत एक हजार करोड रूपैयाँ महामारी र नाकाबन्दीको आर्थिक संकट सामना गर्न भनेर दिए। रतन टाटाले महामारीको समयमा आफैंलाई गम्भीर जोखिममा राख्ने डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई बस्न भनेर आफ्ना होटलहरू उपलब्ध गराए।

आज पनि भारतीय ट्रक चालकहरूले ट्रक टाटाको हो र त्यसैले भरपर्दो छ भनी देखाउन आफ्नो गाडीको पछाडि ओके टाटा लेख्छन्। टाटाको पनि ठूलो ग्लोबल फुटप्रिन्ट छ। यसले ‘जागुआर’ र ‘ल्यान्ड्रोभर’ कारहरू उत्पादन गर्छ। र, ‘टाटा कन्सल्टेन्सी सर्भिसेस’ विश्वको प्रसिद्ध सफ्टवेयर कम्पनीहरूमध्ये एक हो।

रतनले दुई दशकभन्दा बढी समयसम्म टाटा समूहको नेतृत्व गरे। टाटा समूह नुनदेखि सफ्टवेयरसम्मका १०० भन्दा बढी कम्पनीहरूको समूहको रूपमा चिनिन्छ। यसले करिब ६ लाख ६० हजार मानिसलाई रोजगारी दिएको छ। 

असोज २३, २०८१ बिहीबार १४:४२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।