‘म’ पात्रलाई नै पिरोलेको दशैं
ओहो! दशैं पो आयो है,
परदेशबाट आएको पनि पाँच वर्ष भइसकेछ,
कमाएको धन त सोलीबाट बालुवा झरे झैँ,
मदानीबाट घ्युका लर्का झरे झैँ,
पेलेका तोरिका बाक्लो कण झरे झैँ,
अनि मौरीका महको लर्का नछुटिए झैँ,
सकिएको पत्तै भएन।
परदेशबाट ल्याएको आम्दानीले किनेको गल्बन्दी अझै बा को गलामा छ,
बारीका कान्ला तासेका भरले,
तल्ला खेतको कमाइले,
परिवृत्तिले कति दिन टर्ला खै,
जेठोलाई काठमाडौं पढ्न कसरी पठाउनु?
सुख सयलमा राख्छु भनेकी उनलाई एकफेर
नूतन सारी किनिदिन सकिनँ
घट्टमा पिनिएझै थिचिएको छु, थिचेर घुम्न मात्रै पाए त हुन्थ्यो,
माथि सोलीबाट हाल्ने घान पनि त चाहियो!
जब म घट्टको घानमा ढुङ्गा मात्र घुम्छु,
त्यो घ्वाई-घ्वाईको नादले पिरोल्छ,
उफ्फ!
सरसीरुह झै पोखरीको सामीप्यमा अडिन मन छ,
डिमान्ड अनुसारको पदपुर्ती नभए देशमा त मन्दी आउँछ,
बिचरा! ति परिवारको आश नै मै,
गृह मन्त्रालयमै, अर्थ मै, रक्षा मै, स्वास्थ्य मै,
सोचाई मै बिलिन हुन बाहेक के नै गर्न सक्छु र!
छोरोको माग, छोरी र श्रीमतीको गुनासो,
बाबा खसी काट्ने होइन? नयाँ नाना?
अनी बाबा मलाई काठमाडौंको बायुपङ्खी शहर
घुमाएर त्यतैबाट मावलीको गाडी चड्ने भनेको बिर्सिनु भएको त छैन?
यो पाली त एकफेर सारीको पनि आश गरेको थिए,
मधुर आवाजमा भन्छिन्,
छोरी पल्लो कोठाबाट यो पाली त घाँघर है बाबा मलाई,
चाडबाडले पिरोल्छ, कराईमा उम्लिएको तेल झैँ,
खोला सुसाएको आवाज र सिर्याइटो हावामा लिन हुँदै परिकल्पना गर्छु,
म पनि बालुवा भएको भए,
म पनि ग्रेगर भएको भए,
म पनि ढुङ्गा भएको भए,
नीरको बहाबले गति देखाउँथ्यो होला,
एक सुरको लयमा रम्ने मौका पाउथे होला,
गन्तव्य विनाको यात्री झैँ, मन रुमलिएको छ।
हिजो ससुरासँग बाचा गरेर ल्याएको पत्नीको
एउटा आवश्यक पूरा गर्न सक्ने सामर्थ्य छैन,
बाको टोपी पनि पाँच पत्र सिलाइएको थियो,
आमा पनि मेरै आशमा थिइन्,
यसपाली त ढाकाको चोलो हाल्दिए हुन्थ्यो
मनमनै कल्पिरहेकी थिइन्,
आशै आशमा पिरोलिएको जिन्दगीमा
मलम लगाउने जागिरको अभावमा बसेको ‘म’ पात्र,
र ‘म’ पात्रलाई नै पिरोलेको चाड दशैं।
असोज २४, २०८१ बिहीबार ११:००:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।