हलमा आजदेखि तीन नेपाली फिल्म, सबैभन्दा बढी शो ‘छक्का पञ्जा ५’लाई

हलमा आजदेखि तीन नेपाली फिल्म, सबैभन्दा बढी शो ‘छक्का पञ्जा ५’लाई

काठमाडौं : आजदेखि तीन नेपाली फिल्म प्रदर्शनमा आएको छ।

कमेडी जनराका दुई फिल्म ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’सँगै एक्सन जनराको ‘१२ गाउँ’ फिल्म पनि आज हलमा लागेको छ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा ५’मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायतको अभिनय छ। फिल्ममा इमान्दारी निजामती कर्मचारीको कथालाई समेटिएको निर्माण पक्षले जनाएको छ।

यस्तै, ‘ज्वाइँ साब’मा सम्पत्तिको लोभमा विवाह गर्दा आउने संकटको कथालाई निर्माण टिमले प्रस्तुत गरेको छ। फिल्ममा जितु नेपाल, नीति शाह, हिमेश पन्त, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ।

त्यसैगरी बिराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’लाई एक्सनप्रधान फिल्म भनिएको छ। यसका दक्षिण भारतीय एक्सन फिल्मको फ्लेवर पाउन सकिने निर्माण पक्षको दाबी छ। फिल्ममा बिराजका छोरा समिर मुख्य भूमिकामा देखिँदैछिन्।

फिल्ममा विराज र समीरबाहेक पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियोकी अभिनेत्री सनिशा भट्टराईसहित कनिज कोइराला, मुरलीधर, दीया मास्के, सोन चन्द्रपाल, नरेन खड्का लगायतको अभिनय छ।

एक साथ तीन फिल्म लाग्दा हलमा भने ‘छक्का पञ्जा ५’को बोलवाला देखिन्छ। हलहरूले सबैभन्दा बढी शो ‘छक्का पञ्जा ५’लाई दिँदा सबैभन्दा कम ‘ज्वाइँ साब’लाई दिएका छन्।

‘ज्वाइँ साब’ले एक सय शो पाउँदा त्योभन्दा दोब्बरभन्दा बढी शो ‘छक्का पञ्जा ५’ले पाएको छ। ‘१२ गाउँ’ फिल्मले पनि १३० शो पाएको छ।

आज रिलिज भएका नेपाली फिल्मसँगै हलमा ‘बेहुली फ्रम मेघौली’, ‘जिग्रा’, ‘जोकर’ र ‘देवरा’ पनि सँगसँगै प्रदर्शनमा छन्। तर यीमध्ये सबैभन्दा बढी शो नेपाली फिल्म ‘छक्का पञ्जा ५’ले नै पाएको छ।

असोज २३, २०८१ बिहीबार ०८:१७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।