कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन 'चाडपर्वमा पानीको समस्या आउन सक्छ, मोबाइल अफ नगर्नुहोला'

कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन 'चाडपर्वमा पानीको समस्या आउन सक्छ, मोबाइल अफ नगर्नुहोला'

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले दशैंलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

आज मन्त्रालयमा आयोजना गरिएको दशैंको शुभकामना आदानप्रदानमा मन्त्री यादवले भने, 'हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो। चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला।' 

उनले हाल विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै नागरिकका समस्या समाधान गर्न सबै राष्ट्रसेवक कर्मचारी अग्रसर हुन आग्रह गरे। 

'विपद्मा विभिन्न परिस्थितिको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ। जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ, उनले भने। 

काठमाडौं उपत्यकामा हिजो मङ्गलबारदेखि वितरित मेलम्चीको पानी पुगेको क्षेत्र र पानी अपुग भएको क्षेत्रबारे निरन्तर अनुगमन गरी पानी वितरण गर्न मन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरूलाई निर्देशन दिए।  

असोज २२, २०८१ बुधबार १९:१८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।