बुटवल उपमहानगरसमक्ष स्वस्थ मासु बिक्रीको व्यवस्था मिलाइदिन आग्रह

बुटवल उपमहानगरसमक्ष स्वस्थ मासु बिक्रीको व्यवस्था मिलाइदिन आग्रह

बुटवल : उद्योग वाणिज्य संघ रूपन्देहीले दशैंको सम्मुखमा तत्कालका लागि मासु व्यवसायीलाई आफ्नै व्यवसायीक प्रतिष्ठानमा स्वस्थ खसी बोका बध गरी विक्री वितरणको व्यवस्था मिलाइदिन बुटवल उपमहानगरपालिकालाई अनुरोध गरेको छ।

संघले बुधबार एक विज्ञप्ति जारी गरी वडा दशैंको सम्मुखमा तत्कालका लागि मासु व्यवसायीहरूले आफ्नो व्यवसायीक कार्य स्थलमा स्वच्छ तथा स्वस्थ मासु बेचबिखन गर्ने व्यवस्था गर्ने र बुटवल उपमहानगरपालिका तथा सरोकारवाला निकायले आवश्यक सहजीकरण गर्नको लागि आग्रह गर्यो। 

संघका अध्यक्ष हरिप्रसाद अर्यालले कानूनको व्यवहारिक कार्यान्वयन गरी चाडपर्वको समयमा मासुको सहज आपूर्ति हुने वातावरण निर्माण गर्नसमेत अनुरोध गरेका छन्। 

बुटवल उपमहानगरपालिकाद्वारा वधशाला सञ्चालनमा ल्याएसँगै मासु व्यवसायी र वधशाला सञ्चालक बीचको बिबाद र त्यसले आम उपभोक्तामा पारेको असरप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ। 

त्यसैगरी वधशाला निर्माणको प्रारम्भिक चरणदेखि सञ्चालनको प्रक्रियासम्म आइपुग्दा सार्वजनिक निजी साझेदारीको मर्म अनुसार सबैको पेशागत सुरक्षा र उपभोक्ताको स्वच्छ तथा स्वस्थ खाद्य अधिकारलाई सुरक्षित हुने विश्वसनीय वातावरण कायम गर्न बुटवल उपमहानगरपालिका, मासु व्यवसायी र नागरिक समक्ष आग्रह गरिएको छ। 

असोज २२, २०८१ बुधबार १८:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।