दशैँ अर्थतन्त्र : खानपिन-किनमेल र दक्षिणामा खर्च हुन्छ १२ अर्ब
काठमाडौँ : दशैँको लागि आवश्यक पर्ने चिउरा, मसिना चामल, लत्ताकपडा र मरमसला जोरजाम महिनौँ दिन अघिबाटै सुरु हुन्थ्यो। समय बदलियो। नेपालीको खानपान र लवाई-खुवाइमा धेरै परिवर्तन आइसक्यो।
अहिले मुख्य चाडमा पनि खानपानको तयारी र लत्ता,कपडाको जोहोको शैली बदलिइसकेको छ। तर खर्चको मात्रा भने घटेको छैन।
गरगहना, सवारीसाधन, टिभी, फ्रिज र वासिङ्ग मेसिन, विद्युतीय उपकरण भाँडाकुँडा, फलफूल, माछामासुको व्यवसाय उकासिने दशैँमै थियो। दशैँ आर्थिक चलायमानको प्रमुख उत्सव बन्दै आएको छ दशैँ।
बर्सभरि स्थिर रूपमा चले पनि व्यापारिक केन्द्र, सपिङ्ग महलदेखि चोक चोकमा सञ्चालित लत्ताकपडा, जुत्ता, मरमसला, खसी बजार लगायतका क्षेत्रमा ग्राहकको भिड लाग्ने मुख्य पर्व दशैँ नै हो।
भूकम्प, कोभिड १९ हुँदै ओरालो लागेको अर्थतन्त्रसँगै यस पटक त दशैँको मुखैमा बाढी पहिरोको कहरै आयो। यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने नै भयो। त्यसको असर पनि देखियो। तै पनि दशैँमा १२ खर्ब बराबरको कारोबार हुने अर्थशास्त्रीहरुको आँकलन देखिन्छ।
नेपाल राष्ट्र बैँकका पूर्व निर्देशक नरबहादुर थापा विभिन्न रोजगारीमा रहेकाहरूले दसैँमा २ महिना बराबरको पारिश्रमिक पाउने र उनीहरूले त्यो रकम बजारमा खर्च गर्ने भएकाले बजार चलायमान हुने उनले बताए।
उनी भन्छन्, ‘सामान्यतया, दशैँमा बोनस आउने र नियमित खर्चभन्दा २ महिनाको खर्च जति एकै महिनामा गर्ने देखिन्छ। हाम्रोमा सामान्यमा चाडपर्वमा कति खर्च हुन्छ भन्ने रिसर्च अहिलेसम्म आएको छैन। तर मेरो विश्लेषणमा बोनस र तलब बराबर नै दिने भएकोले दशैँमा २ महिनाको तलब एकै पटक खर्च गर्ने गरेको देखिन्छ।’
परदेशीयका नेपाली घर फर्किने मात्रै हैन, अवसरको खोजीमा शहरतिर रहेकाहरू पनि दशैँमा आफ्नै थलो फर्कन्छन्। यसरी फर्कँदा दशैँसँगै घरका लागि चाहिने खिच्रिङमिच्रिङ पनि किन्दा बजार चलायमान हुन्छ नै।
अर्थशास्त्री चन्द्रमणि अधिकारी नेपाली अर्थतन्त्र अरू महिनाको तुलनामा भदौ, असोज र कात्तिकमा बढ्ने गरेको बताउँछन्। उनको अनुमानमा अन्य महिनाको तुलनामा यी महिनामा बजारमा ४० प्रतिशतसम्म बढी आर्थिक कारोबार हुन्छ।
‘बर्खाको महिनामा अर्थतन्त्र अलि कम चलायमान हुन्छ। बर्खापछि आर्थिक कारोबार बढ्ने बेला हो। भदौ, असोज र कात्तिकमा ४० प्रतिशतले आर्थिक कारोबार बढ्न जान्छ। व्यक्तिगत रूपमा पनि ३०,४० प्रतिशतले बढ्न जान्छ’ उनले भने।
रेमिटेन्सले धानेको दशैँ
अहिले नेपाल रेमिटेन्स भित्र्याउने मुलुकहरूको सूचीमा पहिलो स्थानमा छ। विश्व बैँकले गत बुधवार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट अन्तर्राष्ट्रिय आप्रवासन र यसको प्रभाव’ विषयक प्रतिवेदनमा नेपाल रेमिटेन्स भित्र्याउने मुलुकको सूचीमा पहिलो नम्बर थियो।
प्रतिवेदनमा लेखिएको छ ‘नेपालको व्यक्तिगत रेमिटेन्स (जिडिपी) अनुपात विश्वकै उच्च छ। नेपालमा रेमिटेन्स आप्रवाह कुल ग्राहस्त उत्पादनको एक चौथाइ भन्दा बढी छ। यो दक्षिण एसियाको दोस्रो नम्बरमा रहेको पाकिस्तानको तुलनामा ३ गुणाले बढी हो। जहाँ जिडिपीको तुलनामा ७.८ प्रतिशत छ। नेपालमा रेमिटेन्स बढेको कारण विदेशी विनिमय संञ्चितीको बलियो आधार बनेको छ।’
नेपाल राष्ट्र बैले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-०८० को असोज महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशत अर्थात् ३ खर्ब ७८ अर्ब ४ करोड रेमिटेन्स भित्र्याएको देखिन्छ।
त्यस्तै सोही आर्थिक वर्षको असोज महिनामा अन्य महिनाको तुलनामा नेपाली रुपैयाँ १६.८ प्रतिशत र अमेरिकी डलरमा ७.९ प्रतिशतले गत महिना(भदौ)को तुलनामा बढेर रेमिटेन्स भित्रिएको थियो। सो वर्ष कात्तिक महिनामा दशैँ परेको थियो।
त्यस्तै, गत आर्थिक वर्षको २०८०-०८१ मा रेमिटेन्स भदौ महिनाको तुलनामा नेपाली रुपैयाँ ३० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले अघिल्लो (भदौ) महिनाको तुलनामा बढेको थियो।
गत वर्षको दशैँमा कुल विप्रेषण आप्रवाह ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स आएको थियो। यसरी रेमिटेन्सको अवस्था हेर्दा नेपालीको चाडबाड मनाउने पैसा विदेशबाट आउने गरेको देखिन्छ।
२०५० को दशकपछि वैदेशिक रोजगारीका लागि नेपाली बिदेसिने संस्कार बढ्यो। जस कारणले रेमिटेन्स बढ्न थाल्यो। आर्थिक वर्ष २०७९-०८० मा बिदेसिनेको सङ्ख्या ७ लाख ७१ हजार ३२७ जना बिदेसिएका थिए। गत आर्थिक सर्वेक्षण २०८०-०८१ मा २ लाख ८५ हजार गएका थिए।
नेपाल जीवनस्तर सर्वेक्षण २०६६-६७ ले देशका दुईमध्ये एक परिवारको कोही न कोही सदस्य वैदेशिक रोजगारको लागि बिदेसिएको देखाएको थियो।
उक्त सर्वेक्षण अनुसार हरेक दिन ४ अर्ब बढी रेमिटेन्स भित्रिएको देखिन्छ। विदेशबाट खाद्यान्न सहित वस्तुको आयात पनि २०६० को दशकदेखि व्यापक रूपमा बढ्न थालेको थियो। जसले गर्दा चाडबाडमा खर्च गर्ने प्रवृत्ति पनि बढ्न पुग्यो।
सरकारी तथ्याङ्क अनुसार नै नेपालीहरूको खर्च बढेको देखिन्छ। नेपाल जीवनस्तर सर्वेक्षणको चौथो प्रतिवेदन आर्थिक वर्ष २०७९-०८० सम्म आइपुग्दा प्रतिव्यक्ति औसत वार्षिक उपभोग खर्च १२ वर्षको अन्तरालमा ६६ प्रतिशत पुगेको देखिन्छ।
जसमा आर्थिक वर्ष अनुसार २०६६-०६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९ सय २ रुपैयाँमा २०७९-०८० सम्म आइपुग्दा प्रतिव्यक्ति खर्च बढेर १ लाख २६ हजार १ सय ७२ रुपैयाँ पुगेको तथ्याङ्क विभागले जनाएको छ।
दशैँका बेला माछामासु, मरमसला, लुगाफाटा र दक्षिणामा कम्तीमा १२ खर्ब रुपैयाँ खर्च हुने गरेको छ। बजार अर्थशास्त्रीहरूका अनुसार यद्यपि यस्तो खर्चमा बजार महँगी, आपूर्ति शृङ्खला, उपभोग प्रवृत्ति लगायतले फरक पार्छ।
दक्षिणामै झन्डै २० अर्ब रुपैयाँ बराबरको नयाँ या सुकिला नोट नेपाल राष्ट्र बैंकले वितरण गर्ने गरेको थियो। दक्षिणामा त्यसको दुई गुणा बढी रकम पुराना नोटबाटै काम चलाउने गरिन्छ। यो वर्ष भने राष्ट्र बैँकले नयाँ नोटको साटो सुकिलो नोट नै चलाउने निर्णय गर्यो।
असोज २२, २०८१ बुधबार १७:४३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।