चाडपर्वको सिजनमा विदेश घुम्न जाने नेपालीहरूको संख्या बढ्यो

चाडपर्वको सिजनमा विदेश घुम्न जाने नेपालीहरूको संख्या बढ्यो

काठमाडौं : विदेश घुम्न जाने नेपालीहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। चाडपर्वको सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।

सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर–अक्टोबर–नोभेम्बर गरी तीन महिनामा नेपालबाट विदेश घुम्न जानेको संख्या बढेको हो। विभागका अनुसार विगत पाँच वर्षको तथ्यांक हेर्दा युनाइटेड अरब इमिरेट्स (यूएई)जाने नेपालीको संख्या सबैभन्दा बढी छ। 

सन् २०२४ को सेप्टेम्बरमा नेपालबाट ४२ हजार ९५४ जना नेपाली विदेश घुम्न गएको देखिन्छ। यो संख्या यूएई, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया र युरोपका चार देश फ्रान्स, जर्मनी, स्पेन र इटालीमा घुम्न जाने नेपालीको हो।

विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै भने यूएई जानेको संख्या छ। यूएई जानेको संख्या सन् २०२४ को सेप्टेम्बरमा मात्रै ३७ हजार ५ सय २५ छ।

सरकारले विदेश भ्रमणमा जानेलाई एक पटकमा दुई हजार पाँच सय अमेरिकी डलरसम्मको सटही सुविधा दिएपछि घुमघामका लागि सहज भएको छ।

असोज २२, २०८१ बुधबार १४:४५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।