हिजबुल्लाहद्वारा पहिलो पटक युद्धविराम माग, दक्षिणी लेबनानमा फहरियो इजरायली झण्डा

हिजबुल्लाहद्वारा पहिलो पटक युद्धविराम माग, दक्षिणी लेबनानमा फहरियो इजरायली झण्डा

एजेन्सी : लेबनानमा इजरायली आक्रमणको बीचमा हिजबुल्लाहले युद्धविरामको माग गरेको छ।

सीएनएनको रिपोर्टका अनुसार यो संगठनले पहिलो पटक सार्वजनिक रूपमा युद्धविरामको माग गर्दै त्यसका लागि कुनै शर्त राखेको छैन।

हमासलाई समर्थन गर्दै हिजबुल्लाहले गत वर्ष अक्टोबर ८ मा इजरायलमा हवाई आक्रमण गरेको थियो।

हिजबुल्लाहका उपप्रमुख नईम कासिमले मंगलबार यस घटनाको एक वर्ष पूरा भएको अवसरमा भाषण दिएका थिए।

कासिमले लेबनानी सभामुख नबिह बेरीले युद्धविरामका लागि गरेको प्रयासलाई हिजबुल्लाहले समर्थन गरेको बताउँदै युद्धविराम भएपछि अन्य विषयमा छलफल हुने बताए।

हिजबुल्लाहले यसअघि गाजामा युद्धविराम भएपछि मात्र इजरायलमाथि आक्रमण रोक्ने बताएको थियो।

यसैबीच इजरायली सैनिकहरूले लेबनानको मारुन अल-रसमा रहेको इरान गार्डेन पार्कको भग्नावशेषमा इजरायली झण्डा फहराएको सीएनएनले जनाएको छ।

यसअघि मंगलबार इजरायली सेनाले मारुन अल-रस क्षेत्रमा रहेको हिजबुल्लाहको इलाकामा आफ्नो नियन्त्रण प्राप्त गरेको बताएको थियो।

वाल स्ट्रिट जर्नलले केही गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै हमास नेता याह्या सिनवारले इजरायलमा फेरि आत्मघाती हमला गर्न आदेश दिएको बताएको छ।

रिपोर्टका अनुसार हमास प्रमुखको यो आदेशबाट कतारमा बसेका हमासका केही अधिकारीहरु छक्क परेको उल्लेख छ।

असोज २२, २०८१ बुधबार १२:५५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।