बुटवल-नारायणगढ सडकको बेहाल अवस्था, एक सय १४ किलोमिटर यात्रा गर्न १५ घण्टा

बुटवल-नारायणगढ सडकको बेहाल अवस्था, एक सय १४ किलोमिटर यात्रा गर्न १५ घण्टा

बुटवल : बुटवल-नारायणगढ ११४ किलोमिटरको यात्रा गर्न कति समय लाग्छ? २ घण्टा, ३ घण्टा वा त्यो भन्दा धेरै?

सामान्य अवस्थामा ११४ किलोमिटरको दुरी बढीमा साढे २ घण्टामा तय हुन्छ। तर विडम्बना! बुटवल-नारायणगढ सडकको यो दुरी पार गर्न १२ घण्टाभन्दा बढी लाग्छ।

दशैंमा आफ्ना मान्यजनसँग बसेर दशैं मनाउन घर फर्केकाहरू अहिले बुटवल-नारायणगढ सडकमा १२ देखि १४ घण्टा बिताउन बाध्य छन्।

उनीहरू समयमै घर पुग्न पाएका छैनन्। सडक कतिबेला अवरुद्ध हुन्छ र खुल्छ भन्नेबारे उनीहरु अनविज्ञ छन्। घण्टौ जाम लाग्ने गरी दाउन्नेमा सडक कतिबेला एकतर्फी भईदिन्छ पत्तो छैन।

मालिका गाउँपालिका-६ गुल्मीका कृष्ण गौतम बुटवल-नारायणगढ सडकको यात्रा गर्न १४ घण्टा लाग्यो। दाउन्नेमा त रातै बित्यो। पाँच मिनेट अघि बढेर आधा घण्टा रोकिनुपर्ने नियतिले उनलाइ लाग्यो, ‘किन घर जान लागेछु नि!’

गौतम भन्छन्, ‘काठमाडौंबाट बुटवल आइपुग्न ठ्याक्कै २४ घण्टा घण्टा लाग्यो। त्यो मध्ये ११४ किलोमिटर सडकको यात्रामा मात्र १५ घण्टा लाग्यो। यो पट्यारलाग्दो यात्राले दशैंको उमङ्गलाई निकै खल्लो बनायो।’

बागलुङको खर्वाङ हिँडेकी मनकुमारी पोखरेल गैँडाकोटबाट बुटवल आउन १४ घण्टा लागेको बताउँछिन्। छोरीको घर गैँडाकोटबाट खर्वाङ जान हिँडेकी उनी पाँच घण्टा त दाउन्नेको जाममै बस्नुपर्यो।

‘बाटो हिडिसाध्य छैन। तीन पाइला अघि बढ्छ अनि घ्याच्च रोकिन्छ। किन हिँडेछु भन्ने भयो’, बुटवलको चौराहमा भेटिएको उनी सुस्केरा हाल्दै सुनाउँछिन्।

अहिले बुटवल-नारायणगढ सडक खण्ड निर्माणधीन छ। जसका कारण यात्रुले घण्टौ जाममा परेर सास्ती व्यहोर्नु परेको छ। यात्रु मात्र होइन, सवारी धनी र चालक समेत बाटोको हालतले दिक्दारी छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बुटवल-नारायणगढ सडकको अवस्थाले यात्रु सँगै चालक र सवारी धनीलाई चैन नभएको बताउँछन्।

‘एक करोड खर्च गरेर काठमाडौं पठाएको बस फर्कदा कुन हालतमा फर्कन्छ सवारी धनीलाई थाहै छैन,’ उनले भने, ‘सडकको अवस्थाका कारण सवारी साधन हिँडेपछि गन्तव्यमा नपुगुन्जेल सवारी धनीको छटपट्टी कति हुन्छ भनेर साध्य छैन।’

चाडपर्वको समयमा यात्रुहरूलाई सहज यात्रा गराउन प्रालिले यसअघि भन्दा सवारी साधन थप गरेर सेवा दिए पनि सडकको अवस्थाले व्यवसायीहरू पेशाबाटै पलायन हुनुपर्ने अवस्था आएको उनको भनाइ छ।

निजी क्षेत्रले अर्बौं लगानी सवारी साधनमा गरेर यात्रुलाई सहज सेवा दिए पनि राज्यले भने व्यवसायीका मर्का कहिल्यै नबुझेको गुनासो गर्छन् उनी।

‘एउटा व्यवसायी बैंकबाट लोन लिएर करोडको सवारी सडकमा पठाएको छ। सडकको अवस्थाकै कारण एकातिर सवारी साधनको आयु घटेको छ भने अर्कातिर गाडीले नाफा दिन सकेको छैन’, उनी भन्छन्।

यात्रु, सवारी धनी, चालक मात्र नभएर सडक किनाराका स्थानीयले धुलो, धुवा र हिलोले सास्ती व्यहोर्न थालेको ६ वर्ष भयो। तराईबाट काठमाडौं र पूर्व-पश्चिम छिचाल्ने एक प्रमुख राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डमा यात्रा पर्ने यात्रीहरूले अझै कति वर्ष यसरी नै सास्ती व्यहोर्नुपर्ने हो टुंगो छैन।

बुटवल-नारायणगढको दाउन्ने पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्र, सडकमा धुलो र हिलो कम गर्ने गरी निर्माण कम्पनीले मर्मत गरिरहेको दाबी गर्छन्।

‘चाडपर्वमा घर फर्कनेहरूलाई दुःख नहोस् भनेर अहिले मर्मतको काम भइरहेको छ। हामीले ठेकेदारलाई त्यही अनुसार निर्देशन पनि दिएका छौँ’, उनी भन्छन्।

गैँडाकोट-दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको ७ अर्ब ८६ करोड ३४ लाखको लागतमा सडक स्तरोन्नत्तिको काम चाईना कन्स्ट्रक्सनले गरिरहेको छ।

२०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्दा सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र अर्थात २०७८ साउन २२ सम्म काम सम्पन्न गर्ने भनिएको थियो। तर, तोकिएको समयभन्दा तीन वर्ष बितिसक्दा समेत आयोजनाको दुवैतर्फ ५५ प्रतिशतभन्दा बढी काम सकिएको छैन।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बन्ने सडकको लागतमध्ये एडीबी ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी १५ प्रतिशत रकम नेपाल सरकारकै लगानी रहेको छ।

जंगल क्षेत्रमा चार लेनको हुने सडक डिभाइडरमा ३०० मिटरको ‘ग्रीनरी मेडियन’ हुनेछ। मेडियनबाट दुवैतर्फ ७/७ मिटरको सडक बन्नेछ। जसमा साढे तीन/साढे तीन मिटरका २/२ गरी चार ‘लेन’ हुनेछन्। सडकतिर आधा/आधा मिटरको खाली ठाउँसमेत रहनेछ।

त्यस्तै दुवै लेनबाट बाहिर अढाइ/अढाइ मिटरको सोल्डर समेत रहने जनाइएको छ। गुडिरहेको गाडी बिग्रिएमा सोल्डर साइड लगाउन मिल्नेछ। कारणवश राजमार्गमा गाडी बिग्रिए पनि जाम नहोस् भनेर यस्तो व्यवस्था गरिने छ।

सडकको लेन बाहिर बस्ती भएका ठाउँहरूमा दुवै तर्फ ६/६ मिटरको सर्भिस लेनसमेत हुनेछ। दाउन्नेमा भने प्राकृतिक अवस्थाका कारण तीन लेनको मात्र सडक बनाइनेछ। त्यहाँ उक्लिने दुई लेन र झर्ने एक लेनको सडक हुनेछ।

दाउन्नेमा सास्ती बढी
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्डमा सडक भासिदा चाडपर्व मनाउन घर फर्कनेहरूले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ। बर्दघाट नगरपालिका-४ मा पर्ने सडक भासिएर बाइपास बनाइएको छ।

इलाका प्रहरी कार्यालय, बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले दाउन्ने क्षेत्रमा कतिबेला सडक भासिने हो पत्तै नहुने बताए।

‘ठूलो पानी परेमा अझ बढी जोखिम हुन्छ। सडक एकतर्फी हुँदा घण्टौ सवारी लाइनमा हुन्छन्। सास्ती यात्रुले पाएका छन्’, उनले भने।

अघिल्लो साता पनि दाउन्नेमै अविरल वर्षाका कारण सडकको रिर्टेनिङ वाल भत्किनुका साथै चार सय मिटर जति सडक पनि भासिएको थियो। सडक भासिँदा विद्युतको हाइटेन्सन टावरसमेत ढलेको छ।

असोज २२, २०८१ बुधबार ११:२०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।